विश्वकपमा पुमा कम्पनीका जर्सी मात्रै धमाधम च्यातिएपछि कम्पनीको आलोचना
काठमाडौं । जारी फिफा विश्वकप २०२६ मा खेलका क्रममा एउटै खेलकुद ब्रान्ड पुमाले बनाएका जर्सीहरू पटक-पटक च्यातिएपछि अहिले खेलकुद जगतमा यसको प्रविधि र गुणस्तरलाई लिएर ठूलो बहस र आलोचना सुरु भएको छ।
विश्वकपका सुरुवाती खेलहरूमा इजिप्ट, मोरक्को, पाराग्वे र चेक रिपब्लिक जस्ता देशका खेलाडीहरूको जर्सी विपक्षीले सामान्य तान्दा पनि कागजजस्तै बीचबाटै च्यातिएपछि यो विषय सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भाइरल बनेको छ।
यसको मुख्य कारण पुमाले यस विश्वकपका लागि आफ्ना जर्सीहरूमा प्रयोग गरेको नयाँ ‘अल्ट्रावेभ’ प्रविधि हो। कम्पनीले यसलाई इतिहासकै सबैभन्दा हलुका जर्सी दाबी गरेको छ, जसको वजन मात्र ७२ ग्राम छ। खेलाडीहरू मैदानमा छिटो कुद्न सकून् र पसिना सजिलै सुकोस् भनेर यसलाई कागजजस्तै पातलो र लचकदार बनाइएको हो।
तर जर्सीलाई हलुका र हावा छिर्ने बनाउने चक्करमा यसको कपडाको मजबुती निकै कमजोर हुन पुग्यो। मैदानमा खेलाडीहरूबीच बल खोसाखोस हुँदा वा जर्सी तानिँदा यसले अलिकति पनि दबाब धान्न सकेन र कपडा बीचैबाट सररर च्यातियो।
जारी विश्वकपमा पुमाको जर्सी लगाएका चार प्रमुख खेलाडीहरू मैदानमै “वार्डरोब माल्फङ्सन”को सिकार भइसकेका छन्। दक्षिण कोरियाविरुद्धको खेलमा चेक रिपब्लिकका पाभेल सुल्कको जर्सीमा ठूला-ठूला प्वाल परेका थिए।
अमेरिकाविरुद्धको खेलमा पाराग्वेका कप्तान गुस्ताभो गोमेजको जर्सी च्यातिएपछि उनले केही समय च्यातिएको भाग कट्टुभित्र घुसारेर खेले र पछि जर्सी फेरे। त्यस्तै इजिप्टका मुस्ताफा जिको र मोरक्कोका नेल एल आयनाउईको जर्सी पनि विपक्षी खेलाडीले तान्दा खेलकै क्रममा च्यातिएको थियो।
जर्सी काण्ड चर्किएपछि पुमा कम्पनीले आधिकारिक विज्ञप्ति जारी गर्दै आफ्नो प्रतिरक्षा गरेको छ। कम्पनीले फुटबल एक अत्यधिक शारीरिक सम्पर्क हुने खेल भएको हुनाले जर्सीमा अत्यधिक बल वा दबाब पर्दा यस्तो हुन सक्ने स्पष्ट पारेको छ। खेलाडीहरू आफैंले हलुका जर्सी मन पराउने भएकाले आराम र गतिलाई प्राथमिकता दिँदा स्थायित्वमा केही सम्झौता भएको पुमाको संकेत छ।
पुमाका लागि जर्सी च्यातिएको यो पहिलो घटना भने होइन, यसअघि युरो २०१६ मा फ्रान्स र स्विट्जरल्याण्डबीचको खेलमा स्विट्जरल्याण्डका ५ जना खेलाडीको जर्सी खेलको ९० मिनेटभित्रै च्यातिएपछि स्विस स्टार जर्डन शाकिरीले “म आशा गर्छु कि पुमाले कहिल्यै कन्डम बनाउने छैन” भन्दै व्यंग्य गरेका थिए।






डिसी नेपाल





Facebook Comment