चीनमा ६ जना शीर्ष जनरलसहित शक्तिशाली राजनीतिक नेताहरू संसद्बाट बर्खास्त
काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनपिङले जनमुक्ति सेना र राजनीतिक संयन्त्रभित्र सुरु गरेको भ्रष्टाचार विरुद्धको कडा अभियान अन्तर्गत एकै पटक ६ जना शीर्ष सैन्य जनरलसहित देशका शक्तिशाली राजनीतिक तथा वित्तीय क्षेत्रका नेताहरूलाई संसद्बाट निष्कासन गरिएको छ।
चीनको सर्वोच्च विधायिकी निकाय ‘नेसनल पिपुल्स कंग्रेस’ को स्थायी समितिले जारी गरेको विशेष सूचना अनुसार, ती उच्च पदस्थ अधिकारीहरूको संसद सदस्यता (सांसद पद) खारेज गरिएको हो। सरकारी सञ्चारमाध्यम सिन्ह्वाले यस बर्खास्तगीको घोषणा गरे तापनि यसको स्पष्ट कानुनी वा औपचारिक कारण भने खुलाएको छैन।
यद्यपि, यो कदमलाई राष्ट्रपति सीको चिनियाँ कम्युनिस्ट पार्टी र सेनाभित्रको शुद्धीकरण अभियानको सबैभन्दा ठूलो र आक्रामक रणनीतिका रूपमा हेरिएको छ। बर्खास्त गरिएका सैन्य सांसदहरूमा चीनको रक्षा प्रविधि र हतियार खरिदको जिम्मेवारी सम्हाल्ने ‘सेन्ट्रल मिलिटरी कमिसन’ को इक्विपमेन्ट डेभलपमेन्ट विभागका प्रमुख जनरल सु सुइचियाङ रहेका छन्।
उनी सन् २०२२ देखि चीनको मानवसहितको अन्तरिक्ष कार्यक्रम को कमान्डर-इन-चीफ समेत थिए। उनका साथै वेस्टर्न थिएटर कमान्डका पोलिटिकल कमिसार जनरल लि फेङ्बियाओ, वायुसेनाका पोलिटिकल कमिसार जनरल गुओ पुक्सियाओ, इस्टर्न थिएटर कमान्डका लेफ्टिनेन्ट जनरल वाङ काङ्पिङ, साइबरस्पेस फोर्सका लेफ्टिनेन्ट जनरल झाङ मिङ्हुआ र स्थलसेनाका लेफ्टिनेन्ट जनरल यिन होङ्सिङको सांसद पद खोसिएको छ।
राष्ट्रपति सीको यो पछिल्लो ‘क्र्याकडाउन’ केवल सेनामा मात्र सीमित नरही नागरिक राजनीतिक र वित्तीय संरचनासम्म फैलिएको छ। संसद्बाट निष्कासन हुनेमा चीनको वित्तीय क्षेत्रको नियामक निकाय ‘नेसनल फाइनान्सियल रेगुलेटरी एडमिनिस्ट्रेशन’ का पूर्व प्रमुख लि युन्जे र चिनियाँ कम्युनिस्ट पार्टीको शक्तिशाली पोलिटब्युरोका पूर्व सदस्य तथा सिन्जियाङ प्रान्तका पूर्व पार्टी प्रमुख मा सिङ्रुई समेत रहेका छन्।
मा सिङ्रुईमाथि गत अप्रिल महिनादेखि नै चीनको शीर्ष भ्रष्टाचार विरोधी निकायले गम्भीर अनुसन्धान गरिरहेको थियो भने लि युन्जेलाई पनि वित्तीय क्षेत्रको अनुशासन उल्लङ्घन गरेको आरोपमा यसअघि नै पदमुक्त गरिएको थियो। यसका अतिरिक्त, मा सिङ्रुईका निकट सहयोगी तथा ग्वान्झाउका पूर्व पार्टी सचिव गुओ योङ्हाङ पनि यस कारबाहीको दायरामा परेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार, विगत केही वर्षयता चीनको रक्षा र रणनीतिक क्षेत्रमा भएको यो सम्भवतः सबैभन्दा ठूलो नेतृत्व परिवर्तन र सैन्य फेरबदल हो। सन् २०२२ को पार्टी कंग्रेसले चयन गरेको ७ सदस्यीय सर्वोच्च सैन्य कमान्डमध्ये अहिले राष्ट्रपति सी र सेनाका भ्रष्टाचार विरोधी प्रमुख झाङ सेङ्मिन मात्र आफ्नो पदमा बाँकी रहेका छन्, जसले कारबाहीको गम्भीरतालाई स्पष्ट पार्छ।
यसअघि आयोजित संसदको वार्षिक बैठकमा राष्ट्रपति सी चिनफिङले सेनाको भ्रष्टाचार विरोधी अभियानलाई सम्बोधन गर्दै भनेका थिए, “सशस्त्र बलले देशको बन्दुक समात्छ। त्यसैले पार्टीप्रति निष्ठा नभएका र दोधारे चरित्र भएका व्यक्तिहरूका लागि सेनामा कुनै स्थान हुने छैन र भ्रष्टहरूका लागि कुनै पनि सुरक्षित आश्रयस्थल रहने छैन।”
आलोचकहरूले यस अभियानलाई सीले आफ्ना सम्भावित राजनीतिक प्रतिद्वन्द्वीहरूलाई पाखा लगाउन र सत्तामा आफ्नो पकड पूर्ण रूपमा बलियो बनाउन प्रयोग गरिरहेको आरोप लगाएका छन्। तर, सरकारले भने राष्ट्रिय सुरक्षा, सैन्य खरिद प्रक्रिया र रणनीतिक स्रोतहरूको व्यवस्थापनमा पारदर्शिता ल्याउन यो कदम अनिवार्य रहेको दाबी गरेको छ।






डिसी नेपाल





Facebook Comment