कुवेत, कतार र बहराइनमा किन चल्दैनन् रेल ?
काठमाडौं । आर्थिक रूपमा अत्यधिक समृद्ध, अत्याधुनिक पूर्वाधार र उन्नत प्रविधिले सुसज्जित भए तापनि खाडी मुलुकहरू कुवेत, कतार र बहराइनमा कुनै आन्तरिक लामो दूरीको राष्ट्रिय रेल नेटवर्क वा यात्रुवाहक रेलगाडीहरू सञ्चालनमा छैनन्।
यी देशहरूमा फ्लाइङ ट्याक्सी जस्ता भविष्योन्मुख यातायात सेवाहरू भित्रिन लागेको अवस्थामा समेत परम्परागत रेल सेवा नहुनुको मुख्य कारण यी देशहरूको सानो भौगोलिक आकार, सीमित जनसङ्ख्या र पेट्रोलियम पदार्थ (तेल) माथिको अत्यधिक निर्भरता हो।
सानो क्षेत्रफल भएका कारण यहाँका नागरिकहरूले थोरै दूरीको यात्राका लागि रेलको सट्टा आफ्नै निजी विलासी गाडी वा हवाई यातायातलाई प्राथमिकता दिने गरेका छन्। यद्यपि, यो अवस्था अब लामो समय रहने छैन; खाडी सहयोग परिषद् का ६ वटा सदस्य राष्ट्रहरूलाई एउटै रेल सञ्जालमा जोड्नका लागि २५० बिलियन डलरको विशाल ‘जिसीसी रेलवे परियोजना’ अन्तर्गत तीव्र गतिमा काम भइरहेको छ।
गल्फ रेलवे अथोरिटीको हालैको आधिकारिक प्रतिवेदन अनुसार यस महत्वाकांक्षी क्रस-बर्डर (सीमापार) रेल नेटवर्कको ५० प्रतिशतभन्दा बढी कार्य सम्पन्न भइसकेको छ र यो परियोजना डिसेम्बर २०३० सम्ममा पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
सन् २००९ मा परिकल्पना गरिएको यस २,१७७ किलोमिटर लामो रेल नेटवर्कले कुवेत, साउदी अरब, बहराइन, कतार, संयुक्त अरब इमिरेट्स र ओमानलाई सीधा जोड्नेछ। यो परियोजना पूर्ण रूपमा तयार भएपछि कतारका नागरिकहरूले सिधै बहराइन, कुवेत, ओमान हुँदै साउदी अरब र युएईसम्म रेलमा यात्रा गर्न सक्नेछन्।
यस अन्तर्राष्ट्रिय रेल सञ्जालमा यात्रुवाहक रेलहरू प्रतिघण्टा २०० किलोमिटर र मालवाहक रेलहरू ८० देखि १२० किलोमिटरको तीव्र रफ्तारमा कुद्ने गरी डिजाइन गरिएको छ, जसका कारण साउदीको दम्मामबाट कतारसम्मको यात्रा मात्र १ घण्टामा सीमित हुनेछ।
यो विशाल परियोजनालाई इन्जिनियरिङको उत्कृष्ट नमुना मानिएको छ, जसमा समुद्रमाथि विशेष मार्ग र पुलहरू निर्माण गरी देशहरूलाई जोडिनेछ। साउदी अरबको तटीय सहर दम्माम यस क्षेत्रीय रेलवेको मुख्य केन्द्र हुनेछ, जहाँ उत्तरमा कुवेतबाट रेलहरू आइपुग्नेछन्।
दम्मामबाट बहराइन र कतारका लागि समुद्रमाथि दुईवटा ठूला मारिटाइम ब्रिजहरू निर्माण गरिनेछ। बहराइनलाई साउदीसँग जोड्न २५ किलोमिटर लामो ‘किंग हमद कजवे’ बनाइनेछ, जसमा दुईवटा रेल ट्र्याक रहनेछन् र यो बहराइनको आन्तरिक मेट्रो नेटवर्कसँग जोडिनेछ।
कुवेत यस रेल नेटवर्कको सबैभन्दा उत्तरी भाग हुनेछ, जसको मुख्य सेन्ट्रल स्टेशन कुवेत सिटीबाट २५ किमी टाढा शदादियामा निर्माण भइरहेको छ। यो रेल लाइन साउदी हुँदै युएई र त्यहाँबाट ओमानको राजधानी मस्कटसम्म पुगेर टुङ्गिनेछ।
यो महात्वाकांक्षी रेल परियोजनाले खाडी क्षेत्रमा व्यापार, पर्यटन र आर्थिक एकीकरणमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास गरिएको छ। यसले क्षेत्रीय आपूर्ति शृङ्खलालाई बलियो बनाउनुका साथै कार्बन उत्सर्जन कम गरी वातावरण संरक्षणमा समेत ठूलो योगदान पुर्याउने पर्यावरणविद्हरूको भनाइ छ।






डिसी नेपाल





Facebook Comment