कविता : अनौठो रातको कहानी
चन्द्रमा र ताराहरू डुब्ने यो रात कस्तो आयो,
प्रेमी-प्रेमिकामा जाँदा बेवास्ता किन भयो? (१)
आँधीबेरी, हुरीबतासले आकाश डगमगाइरहेछ,
पागल बनी बादल उर्ली, बिजुली गर्जिरहेछ। (२)
धर्ती सारा काँपी, प्रेममा आज चिरा परिरहेछ,
तुफानको ओइरोमा ढुङ्गा पल्टिन लागिरहेछ। (३)
सुनसान छ रात, जताततै छ सन्नाटा वरिपरि,
मृत्युले फणा फिँजाउँदै दौडेको छ घरिघरि। (४)
अनौठो रातको यो कथा म कसरी सुनाऊँ,
कथा र व्यथाको कहानी म कसरी बुझाऊँ? (५)
रात काँपिरहेछ, जुनतारा धर्तीमा झरिरहेछ,
के भयो यो अनौठो रातमा, प्रेम रोइरहेछ? (६)
औँसीको रात हो कि के हो, चन्द्रमा लुकिरहेछ,
निष्पट्ट यो रातमा मानौँ भूत नाचिरहेछ। (७)
जङ्गल-जङ्गल घुम्दै हिँड्छु, सबै चुप देख्दछु,
घोर अँध्यारो, मुस्किल बाटो, दौडी म हिँड्दछु। (८)
लामो सफरमा लागेको छु, प्रेमको दियो जलाई,
दियो निभ्ला कि भन्ने एकै डर छ मलाई। (९)
म छु अब प्रतीक्षामा, बिहानीपखको दिन,
भो चाहिन्न अनौठो रात, कुर्छु उज्यालो दिन! (१०)
अनुत्तरित प्रश्न
कसैले भन्न सक्दैनन्, जन्म कहिले हुन्छ यहाँ,
न कसैले भन्न सक्छन्, मृत्यु कहिले हुन्छ कहाँ? (१)
हिजो के भयो कुन्नि, कहाँ के-के कति भयो,
गरेका सबै कुरा कुन्नि, कुन ठाउँमा विलीन भयो? (२)
आज के हुन्छ कहाँ, त्यो कसैले भन्न सक्दैन,
भोलिको के कुरा हेर, भविष्य अन्धकार छ यहाँ। (३)
खगोल विद्याले शास्त्र अनुसार अलि मिलाउँछ,
ती बोलेका कुराले पनि कहिलेकाहीँ गिज्याउँछ। (४)
सत्य कुरा कहाँ के छ, त्यो सधैँ-सधैँ अदृश्य छ,
सोचे-बुझेका सबैजसो कुरा यहाँ भ्रमपूर्ण छ। (५)
ब्रह्माण्ड कत्रो छ, पाताल कत्रो छ, छैन नाप्ने यहाँ,
यो बारे जान्न-बुझ्न खोज्दा हराइन्छ कहाँ-कहाँ! (६)
प्रश्न करोडौँ उठ्छन् यहाँ, उत्तर दिने खोइ ज्ञानी?
हरेक प्रश्नको उत्तर दिने गर्छन् अलि जानी-नजानी। (७)
बोलेका सबै कुरा यहाँ कहाँ सत्य साबित हुन्छ र?
लेखेका कुरा पनि सबै कहाँ साँचो साबित बन्छ र? (८)
प्रश्न गर्ने यहाँ धेरै छन्, उत्तर छन् सबै अनुत्तरित,
अर्जुन प्रश्नकर्ता, उत्तर कृष्णको जस्तो कहाँ छ र हित? (९)
सबैको उत्तर कहाँ मिल्छ, प्रश्नकर्ता पनि कति,
क्षणिक प्रश्न, क्षणिक उत्तर दिने गर्ने छन् जति। (१०)
कसले यो सब सृष्टि गर्यो, देखिँदैन जहीँतहीँ,
कहाँ कसरी बसेका छन्, उत्तर छैन कहीँ पनि। (११)
बनाए मानिसहरूले कति-कति संरचनाहरू यहाँ,
कति भत्के र भूकम्पले ढले, उत्तर छैन यहाँ। (१२)
भूकम्प कहिले आउँछ, यो उत्तर छ अनुत्तरित,
यो कहिले जानेछ, यो पनि छ सदा अनुत्तरित। (१३)
एउटाले एउटा भन्छन्, अर्काले भन्छन् अर्कैथरी,
छैन कसैको सत्य उत्तर, टालटुले छन् सबैथरी। (१४)
को ज्ञानी पण्डित, जसले देखेको छ सत्यता?
मानिस अपूर्ण छ भने, सबै छन् यहाँ अपूर्णता! (१५)












Facebook Comment