क्रिप्टो व्यवसायबाट राष्ट्रपति ट्रम्पको सम्पत्तिमा भारी वृद्धि: एक वर्षमै कमाए अर्बौं डलर
वासिङ्टन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको परिवारसँग सम्बन्धित क्रिप्टोकरेन्सी कारोबारबाट सन् २०२५ मा मात्रै करिब एक अर्ब अमेरिकी डलर बराबरको विशाल आम्दानी भएको विवरण सार्वजनिक भएको छ।
अमेरिकी सरकारी नैतिकता कार्यालयले मंगलबार सार्वजनिक गरेको ९२७ पृष्ठ लामो विस्तृत आर्थिक खुलासा प्रतिवेदनअनुसार ट्रम्पले विशेष गरी ‘वल्र्ड लिबर्टी फाइनान्सियल’ र ‘ट्रम्प क्रिप्टोकरेन्सी’ सँग सम्बन्धित व्यावसायिक गतिविधिबाट यो ठूलो आर्जन गरेका हुन्।
क्रिप्टो व्यवसायमा भएको यही अभूतपूर्व आम्दानीका कारण सन् २०२४ देखि २०२६ को बीचमा उनको कुल व्यक्तिगत सम्पत्ति दुई अर्ब ३० करोड डलरबाट ह्वात्तै बढेर छ अर्ब ५० करोड डलर पुगेको प्रतिष्ठित व्यावसायिक म्यागजिन फोर्ब्सले उल्लेख गरेको छ।
सार्वजनिक वित्तीय प्रतिवेदनअनुसार ट्रम्पले स्टार्टअप कम्पनी वल्र्ड लिबर्टी फाइनान्सियलसँगको व्यावसायिक साझेदारीबाट करिब पाँच करोड ५० लाख डलर प्राप्त गरेका थिए।
त्यसैगरी, जनवरी २०२५ मा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको पदभार ग्रहण गर्नुअघि सम्झौता गरिएको ‘ट्रम्प क्रिप्टोकरेन्सी’ सँग सम्बन्धित इजाजतपत्र (लाइसेन्सिङ) बापत उनले थप ६३ करोड ५० लाख डलर रोयल्टी स्वरूप प्राप्त गरेकाे विवरणमा खुलाइएको छ।
यसरी ट्रम्प परिवारलाई खर्बौंको मालिक बनाउन सहयोग पुर्याउने वल्र्ड लिबर्टी फाइनान्सियल नामक कम्पनी सेप्टेम्बर २०२४ मा ट्रम्पका छोराहरू डोनाल्ड ट्रम्प जुनियर, एरिक ट्रम्प र मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफका छोराले संयुक्त रूपमा स्थापना गरेका थिए।
यो कम्पनी स्थापना हुँदा ट्रम्पले चुनावको मुखमा क्रिप्टो समुदायलाई आकर्षित गर्न डिजिटल सम्पत्तिको वकालत समेत गरेका थिए।
उक्त वल्र्ड लिबर्टी फाइनान्सियलले आफ्नै ‘डब्लुएलएफआई’ नामक गभर्नेन्स टोकन बिक्री खुला गरी सुरुवाती चरणमै ५५ करोड डलर पुँजी संकलन गरेको थियो।
सेप्टेम्बर २०२५ देखि खुल्ला बजारमा कारोबारयोग्य बनेको यो टोकनको बजार मूल्य सुरुमा ४६ सेन्ट रहे तापनि हाल आएर तीव्र गिरावट व्यहोर्दै करिब ६ सेन्टमा झरेको छ। मूल्यमा गिरावट आए पनि ट्रम्प र उनका तीन छोराले ‘डीटी मार्क्स डेफी’ मार्फत थप २२ अर्ब ५० करोड डब्लुएलएफआई टोकन प्राप्त गरेका छन्, जसको हालको अनुमानित बजार मूल्य झन्डै एक अर्ब ३० करोड डलर बराबर रहेको छ।
यसबाहेक यो डिजिटल वित्तीय संस्थाले वित्तीय बजारमा आफ्नो पकड बलियो बनाउन अप्रिल २०२५ मा अमेरिकी डलरसँग मूल्य आबद्ध गरिएको स्थिर डिजिटल मुद्रा अर्थात् स्टेबलकोइन समेत सार्वजनिक गरेको थियो।
यसरी राष्ट्रपति पदमै बहाल रहेको समयमा क्रिप्टोकरेन्सीका गतिविधिबाट रैथाने रूपमा लाभान्वित भएपछि ट्रम्पमाथि गम्भीर नैतिक प्रश्न र स्वार्थको द्वन्द्वको आरोप लाग्न थालेको छ।
आलोचकहरूले ट्रम्पले राष्ट्रपति पदको शक्ति प्रयोग गरेर आफूले लगानी गरेको क्रिप्टो क्षेत्रलाई नियमनमुक्त बनाउन र कानुन खुकुलो पार्न प्रयास गरिरहेको आरोप लगाएका छन्।
तर ह्वाइट हाउसले यी सबै आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै राष्ट्रपति वा उनको परिवार कुनै पनि प्रकारको स्वार्थको द्वन्द्वमा संलग्न नरहेको स्पष्ट पारेको छ।
ह्वाइट हाउसकी प्रमुख उपप्रेस सचिव अन्ना केलीले राष्ट्रपति ट्रम्पका नीतिहरूले अमेरिकालाई विश्वकै ‘क्रिप्टो राजधानी’ बनाएको दाबी गर्दै प्रशासनले चालेका हरेक कदम र निर्णयहरू अमेरिकी जनताकै बृहत्तर हितमा केन्द्रित रहेको स्पष्टीकरण दिएका छन्।
अमेरिकामा सन् १९७८ मा पारित भएको सरकारी नैतिकता सम्बन्धी कानुन अनुसार बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिले हरेक वर्ष आफ्नो सम्पत्ति तथा आम्दानीको स्रोत पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने कानुनी बाध्यता छ।
सोही नियमअनुसार सार्वजनिक गरिएको यसपटकको खुलासामा प्रथम महिला मेलानिया ट्रम्पको पनि आकर्षक आम्दानी देखिएको छ, जसमा उनले अमेजनका लागि निर्माण गरिएको एक वृत्तचित्रबाट एक करोड डलरभन्दा बढी र आफ्नै संस्मरण पुस्तक ‘मेलानिया’ बाट पाँच लाख डलरभन्दा बढी रोयल्टी कमाएको उल्लेख छ।
यसबाहेक राष्ट्रपति ट्रम्प आफैँले पनि कोइनबेस जस्ता ठूला क्रिप्टोकरेन्सी एक्सचेन्ज कम्पनीहरूको सेयर, ट्रम्प ब्रान्डका विभिन्न व्यापारिक सामग्री तथा चर्चित अमेरिकी गायक ली ग्रीनवुडसँगको सहकार्यमा बजारमा ल्याइएको विशेष संस्करणको बाइबल बिक्रीबाट समेत उल्लेखनीय आम्दानी गरेको विवरणमा देखाइएको छ।
स्वार्थको द्वन्द्वबाट बच्नका लागि राष्ट्रपति ट्रम्पको यो विशाल व्यावसायिक सम्पत्ति हाल उनका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरद्वारा सञ्चालित एक विशेष ट्रस्टमा राखिएको छ। यद्यपि कानुनी व्यवस्था अनुसार यो ट्रस्टलाई राष्ट्रपतिको इच्छाबमोजिम जुनसुकै बेला पनि विघटन गर्न सकिने प्रावधान छ।
यसले गर्दा सन् २०२९ मा आफ्नो दोस्रो राष्ट्रपतीय कार्यकाल समाप्त भएलगत्तै ट्रम्पले यो सम्पूर्ण सम्पत्तिमाथि आफ्नो प्रत्यक्ष नियन्त्रण र स्वामित्व पुनः कानुनी रूपमै फिर्ता लिन सक्ने अवस्था रहेको कानुनी विश्लेषकहरूले बताएका छन्।
यही आर्थिक प्रतिवेदनको सिलसिलामा अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पनि आर्थिक विवरण बाहिरिएको छ, जसमा उनले सन् २०१६ मा प्रकाशन भई अत्यधिक सफल भएको आफ्नो चर्चित संस्मरण पुस्तक ‘हिलबिली एलेगी’ बापत यस वर्ष १० लाखदेखि ५० लाख अमेरिकी डलरसम्म रोयल्टी प्राप्त गरेका छन्।






डिसी नेपाल





Facebook Comment