अष्ट्रेलियाको भिषा शुल्कमा २५ प्रतिशतसम्मको भारी वृद्धि: नेपाली विद्यार्थीलाई थप आर्थिक र मानसिक बोझ

डिसी नेपाल
१८ असार २०८३ ७:२२

काठमाडाैं। अध्ययन र भ्रमणका लागि अष्ट्रेलिया जाने तयारी गरिरहेका नेपालीहरूका लागि अबको यात्रा थप खर्चिलो र चुनौतीपूर्ण बन्ने भएको छ।

अष्ट्रेलियाको डिपार्टमेन्ट अफ होम अफेयर्सले भिषा आवेदन शुल्कमा व्यापक पुनर्संरचना गर्दै विद्यार्थी, भ्रमण, पार्टनर, र अभिभावक सहित अधिकांश शीर्षकका भिषा शुल्कमा भारी वृद्धि गरेको छ।

एबीसी न्यूजका अनुसार, यो शुल्क वृद्धि सन् २०२६-२०२७ को बजेट योजना अन्तर्गत अध्यागमन नियमहरू संशोधन गर्दै कार्यान्वयनमा ल्याइएको हो। बढेको नयाँ शुल्क जुलाई १ बुधबारदेखि नै लागू भइसकेको छ।

यस नयाँ व्यवस्थाका कारण अब नेपाली विद्यार्थीहरूको प्रथम रोजाइमा अष्ट्रेलिया पर्ने वा नपर्ने भन्ने विषयमा वैदेशिक शैक्षिक परामर्शदाताहरूले समेत चासो व्यक्त गर्न थालेका छन्।

अष्ट्रेलिया सरकारले भिषा आवेदन शुल्कमा २५ प्रतिशतसम्मको वृद्धि गरेपछि अब अध्ययन भिषा शुल्क २ हजार अष्ट्रेलियन डलरबाट बढेर २ हजार ५ सय पुगेको छ भने अस्थायी स्नातक भिषा आवेदन शुल्क ४ हजार ६ सय डलरबाट बढाएर ५ हजार ७ सय ५० डलर पुर्‍याइएको छ।

अष्ट्रेलियाले केवल भिषा शुल्क मात्र बढाएको होइन, बरु पछिल्लो समय आफ्नो अध्यागमन प्रणालीलाई नै निकै कडा बनाएको छ। नयाँ नीति अनुसार अष्ट्रेलिया सरकारले भिजिटर भिषा वा अस्थायी स्नातक भिषामा अष्ट्रेलिया पुगेर त्यहाँ देशभित्रैबाट पुनः विद्यार्थी भिषामा परिवर्तन गर्ने अभ्यास (भिषा हपिङ) लाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ।

अब पर्यटकका रूपमा जानेहरूले त्यहाँ पुगेर सिधै कलेज भर्ना हुन पाउने छैनन्। त्यस्तै विद्यार्थी भिषाका लागि आवश्यक पर्ने आईईएलटीएस वा पीटीईको न्यूनतम स्कोरलाई ५.५ बाट बढाएर ६.० र स्नातक भिषाका लागि ६.० बाट ६.५ पुर्‍याइएको छ। पुरानो जीटीई प्रणालीलाई हटाएर सरकारले ‘जेन्युइन स्टुडेन्ट’ नियम लागू गरेको छ, जसअन्तर्गत विद्यार्थीको वास्तविक उद्देश्य पढ्ने नै हो वा काम गर्ने हो भन्ने कुराको सुक्ष्म जाँच गरिन्छ।

यो बहुआयामिक परिवर्तनले नेपाली विद्यार्थीहरूलाई विभिन्न पाँच मुख्य क्षेत्रमा गम्भीर असर पार्ने देखिन्छ। पहिलो असरका रूपमा विद्यार्थीहरूमाथि ठूलो आर्थिक बोझ थपिएको छ। अष्ट्रेलियाको शिक्षा र बसोबास पहिले नै महँगो मानिएको अवस्थामा, यो वृद्धिले अष्ट्रेलिया जान चाहने, अध्ययन गरिरहेका र छोराछोरी भेट्न जान चाहने अभिभावक सबै

लाई आर्थिक धक्का दिएको छ। दोस्रो असरका रूपमा करिब पौने ४ लाख रुपैयाँ सिधै जोखिममा परेको छ। अष्ट्रेलियाको भिषा आवेदन दिने बित्तिकै भिषा आउँछ भन्ने ग्यारेन्टी हुँदैन। भाषा परीक्षा र तयारीमै ठूलो रकम खर्च भइसकेको अवस्थामा, अब केवल विद्यार्थी भिषा आवेदनका लागि मात्रै २,५०० अष्ट्रेलियन डलर अर्थात् नेपाल राष्ट्र बैंकको हालैको विनिमय दर अनुसार करिब ३ लाख ८२ हजार रुपैयाँ बुझाउनुपर्नेछ।

डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर रहेकाले यो रकम थप बढ्न पनि सक्छ र भिषा अस्वीकृत भएमा यो रकम फिर्ता नहुने भएकाले नेपाली विद्यार्थीको ठूलो पूँजी डुब्ने जोखिम बढेको छ।

तेस्रो असरका रूपमा अष्ट्रेलियामा पढाइ सकेर कार्यअनुभव बटुल्न वा इन्टर्नसीप गर्नका लागि दिइने अस्थायी स्नातक भिषा (सबक्लास–४८५) को शुल्क पनि २५ प्रतिशत बढेर ५,७५० अष्ट्रेलियन डलर पुगेकाले इन्टर्नसीप निकै महँगो बन्न पुगेको छ।

यो शीर्षकमा विगत चार महिनाभित्रै दोस्रो पटक शुल्क वृद्धि गरिएको हो। चौथो असर अंग्रेजी भाषा कोर्स (एलिप्स) पढ्न जानेहरूलाई पर्नेछ। नेपालबाट धेरै विद्यार्थीहरू सुरुमा अंग्रेजी भाषा पढ्ने र पछि अन्य व्यवसायिक कोर्समा सर्ने उद्देश्यले जाने गरेका थिए।

अब यसका लागि छुट्टै २,०५० अष्ट्रेलियन डलर भिषा शुल्क तोकिएकाले र त्यहाँ अपार्टमेन्टको भाउ बढेर पाउन कठीन भएकाले यो बाटो निकै महँगो बनेको छ। पाँचौ र सबैभन्दा संवेदनशील असर भनेको विद्यार्थीहरूमा मानसिक तनावको जोखिम बढ्नु हो।

अष्ट्रेलिया पुगेपछि नयाँ परिवेश, काम र पढाइको सन्तुलन मिलाउन नसक्दा धेरै नेपाली विद्यार्थीहरू पहिले नै मानसिक रोगबाट पीडित भइरहेका थिए। अब भने यति ठूलो रकमको जोखिम र कडा नियमका कारण नेपालमै भिषा आवेदन गर्ने समयदेखि नै विद्यार्थी र उनीहरूका परिवारमा गम्भीर मानसिक दबाब र चिन्ता सुरु हुने देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *