भूकम्पपछि भेनेजुएलामा मानवीय संकट चुलिँदै : अमेरिकी प्रतिबन्धका कारण राहत वितरणमा संरचनागत अवरोध
काठमाडौं। हालै आएको विनाशकारी भूकम्पका कारण गम्भीर मानवीय संकटको सामना गरिरहेको दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा राहत र आर्थिक सहयोग वितरण कार्य प्रभावित भएको छ।
अमेरिकी प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय सहायता सामग्री र पुनर्निर्माणका प्रयासहरूमा अवरोध पुगेको गम्भीर आरोप लागेको हो।
गत साताको शक्तिशाली भूकम्पपछि संयुक्त राज्य अमेरिकाले केही प्रतिबन्धहरूलाई अस्थायी रूपमा खुकुलो पारेको भए तापनि लामो समयदेखि कायम दीर्घकालीन प्रतिबन्धका संरचनाहरूका कारण राहत प्रयासहरूले पर्याप्त गति लिन सकेका छैनन्।
विज्ञहरूका अनुसार वर्षौँदेखि लागू अमेरिकी प्रतिबन्धले गर्दा आवश्यक कोष संकलन, उद्धार उपकरण खरिद र मानवीय सहायता सामग्रीको ढुवानीमा ठुलो कानुनी तथा प्रशासनिक अड्चन सिर्जना भएको छ।
यसले गर्दा भूकम्प प्रभावित क्षेत्रमा उद्धार, खोजी र पुनर्निर्माणका कार्यहरू निकै चुनौतीपूर्ण बनेका छन्। राजनीतिक विश्लेषक डिएगो सेकेराले अमेरिकी प्रशासनका कानुनी प्रावधान र प्रशासनिक प्रक्रियाहरू नै राहत प्रवाहमा प्रत्यक्ष बाधक बनेको दाबी गरेका छन्।
भूकम्पबाट आहत भएका स्थानीय नागरिक अल्बर्टो पेरेजले पनि देशमा तत्काल थप अन्तर्राष्ट्रिय सहयोगको खाँचो रहेको र संकटको यस घडीमा भेनेजुएली जनता आफैँ पनि दैनिक रूपमा एकअर्कालाई सहयोग गर्न जुटिरहेको बताएका छन्।
संयुक्त राष्ट्रसङ्घको प्रारम्भिक अनुमानअनुसार यस प्राकृतिक विपत्तिबाट भेनेजुएलाका करिब ७० लाख मानिस प्रत्यक्ष प्रभावित भएका छन्। भूकम्पका कारण करिब ६.७ अर्ब अमेरिकी डलर बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ, जुन भेनेजुएलाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ६ प्रतिशत हुन आउँछ। गत जुन २४ मा उत्तरी भेनेजुएलामा लगातार ७.० भन्दा बढी म्याग्निच्युडका दुई वटा शक्तिशाली भूकम्प गएका थिए।
भेनेजुएला राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजका अनुसार उक्त भूकम्पमा परी मृत्यु हुनेहरूको सङ्ख्या १,९४३ पुगिसकेको छ भने १०,००० भन्दा बढी मानिस घाइते भएका छन्।
हाल भेनेजुएला सरकारले संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय मानवीय संस्थाहरूसँग समन्वय गर्दै प्रभावित समुदायहरूमा राहत र पुनस्र्थापनाका कार्यहरू अघि बढाउने प्रयास गरिरहेको जनाएको छ।






डिसी नेपाल





Facebook Comment