कविता : समयले दिएको भगवान्, जब राक्षस बन्छ !

ठाकुर बेलबासे
१८ असार २०८३ १३:२२

मानिसहरूले समयसँग एउटा असल मान्छे मागेका थिए
आफ्नो देश जोगाउन
र आफूलाई बचाउन !

मानिसहरूको व्याकुलता देखेर होला
सायद समयले उनीहरूलाई
भगवान् दियो
भगवान्लाई मानिसहरूले आफ्ना सम्पूर्ण चिजहरू दिए
जस्तै कि-
आँखा दिए
रोगी थिए आँखा,
पावरदार चस्मा दिए

खुट्टा दिए
कमजोर थिए खुट्टा,
शुभचिन्तकले दिएको वैशाखी थियो
त्यो पनि दिए
हात दिए
हातसँगै शक्ति र संघर्ष पनि दिए
मन दिए
मनसँगै हिम्मत पनि दिए

दिँदै गए जस्तै कि-
शिरको टोपी
शरीरको दौरा
अनि कछाड पनि दिए
बिनाचिन्ता
मानिसहरू नाङ्गो भए
उनीहरूले आफ्नो मस्तिष्क पनि दिन खोजे
उसले मानिसहरूको मस्तिष्क लिन चासो देखाएन

एक दिन केही घण्टाका लागि उसले मानिसहरूको मस्तिष्क माग्यो
उनीहरू हर्षविह्वल भएर
आफ्नो मस्तिष्क पनि दिए

केही घण्टामै मस्तिष्क फिर्ता गर्‍यो
“प्रभुमा समर्पण गरेको
हाम्रो मगज फिर्ता लिन्नौँ” भन्दै
भक्तिभाव गर्न थाले मानिसहरू !
तर ऊ-
“पुराना, जीर्ण र रोगी मस्तिष्क मलाई चाहिँदैन” भन्दै झर्कियो


उनीहरूको अन्तिम भगवान् थियो
बिनासर्त विश्वास थियो
अनि मानिसहरूले आँखा चिम्लिएर
समयले दिएको भगवान्को आराधना गर्न थाले !

आँखा खोल्दा त
ऊ राक्षस बनेको थियो
उसका हातहरू डोजर बनेका थिए
आँखा ज्वालामुखी,
खुट्टा खुँडा-तरबार बनेर दौडिरहेका थिए

देशको छातीमाथि विदेशी काँडेदार बुट बजार्दै
ऊ चिच्याइरहेको थियो-
“तिमीहरू बाँच्नु पर्दैन
आफैँ मर्छौ कि
म गरौँ तिमीहरूलाई !”

यतिबेला मानिसहरू मात्रै होइन
समयलाई समेत
उसले नाङ्गो बनाइसकेको थियो !

अहिले उनीहरू समयसँग
गुनासो गरिरहेका छैनन्
विवेक गुमेको आफ्नै विगतसँग
गुहार माग्दैछन् !

हरेक परिस्थितिले सडकका मानिसलाई
समय जोगाउने जिम्मा
दिन्छ !
फेरि पनि त्यस्तै स्थिति उनीहरूका अगाडि आएको छ !

भगवान्ले भन्दा ठूलो शक्ति राख्ने
सडकका मानिसहरू नै जन्माउँछन् भगवान्हरू

सडककै मानिसले नै त वध गर्छन्
राक्षसहरू !




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *