एम्पायर स्टेट बिल्डिङको टुप्पोमा पुगेर विवाहको प्रस्ताव, प्रेमी-प्रेमिका पक्राउ
काठमाडौं । न्युयोर्कको प्रतिष्ठित एम्पायर स्टेट बिल्डिङको सबैभन्दा उच्च भाग (एन्टेना टावर) मा अनाधिकृत रूपमा चढेर विवाहको प्रस्ताव राख्ने एक जोडीलाई अमेरिकी प्रहरीले पक्राउ गरेको छ।
बुधबार दिउँसो भएको यस घटनामा संलग्न रुसी मूलका ‘रुफटपर’ (बिना सुरक्षा सामग्री अग्ला भवन चढ्ने साहसी जोडी) एन्जेला निकोलाउ (३३) र इभान कुज्नेत्सोभ (३२) लाई प्रहरीले हिरासतमा लिएको हो।
कालो पोशाक र मास्क लगाएका उनीहरू जमिनबाट करिब १,४५४ फिट (४४३ मिटर) उचाइमा रहेको भवनको सञ्चार टावरको साँघुरो भागमा बिना कुनै सुरक्षा डोरी झुन्डिएका थिए। त्यहाँ पुगेर उनीहरूले विश्व शान्तिको सन्देशसहितको एउटा ठूलो ब्यानर फहराएका थिए, जसमा लेखिएको थियो— “जब प्रेमको शक्तिले शक्तिको प्रेमलाई जित्छ, तब संसारले शान्ति पाउँछ।”
ब्यानर फहराइसकेपछि उनीहरू केही तल ओर्लिएर एउटा सानो प्लेटफर्ममा रोकिएका थिए। सोही क्रममा भिडियो फुटेजमा प्रेमी इभानले घुँडा टेकेर एन्जेलासमक्ष विवाहको प्रस्ताव राखेको र एन्जेलाले प्रस्ताव स्वीकार गरेपछि दुवैले अङ्गालो हालेर चुम्बन गरेको देखिन्छ।
उनीहरूले सोही उचाइबाट आफ्नो औँठी र न्युयोर्क सहरको दृश्य सामाजिक सञ्जालमा समेत पोस्ट गरेका थिए। यो जोडी यसअघि सन् २०२४ मा नेटफ्लिक्समा सार्वजनिक भएको चर्चित वृत्तचित्र ‘स्काईवाकर्स: ए लभ स्टोरी’ मा समेत फिचर भइसकेका चर्चित स्टन्टबाज हुन्।
उक्त हर्कत सुरु भएलगत्तै न्युयोर्क प्रहरीको आपतकालीन सेवा टोली र हेलिकप्टर घटनास्थलमा परिचालन गरिएको थियो। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आसपासका सडकहरू केही समयका लागि बन्द गरिएको थियो। टावरबाट तल ओर्लिने क्रममा प्रहरी अधिकारीहरूले उनीहरूलाई नियन्त्रणमा लिएका थिए।
एम्पायर स्टेट बिल्डिङको अति संवेदनशील र प्रतिबन्धित क्षेत्रमा अनुमति बिना प्रवेश गरेको भन्दै प्रहरीले उनीहरूविरुद्ध चोरी, सर्वसाधारणको ज्यान जोखिममा पारेको, र आपराधिक घुसपैठ लगायतका विभिन्न गम्भीर मुद्दाहरू दर्ता गरी कानुनी प्रक्रिया अघि बढाएको छ।






डिसी नेपाल





Facebook Comment