बर्डफ्लु प्रभावित किसानका लागि ५० करोड निकासा, ११ जिल्लाका पीडितले ७५ प्रतिशतसम्म क्षतिपूर्ति पाउने

डिसी नेपाल
१९ असार २०८३ ९:५५

काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लु रोगका कारण ठूलो आर्थिक नोक्सानी बेहोरेका किसानहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरी रु ५० करोड निकासा गरेको छ। मन्त्रालयले उक्त रकम पशुसेवा विभागको खातामा पठाएको हो।

देशका ११ जिल्लामा बर्डफ्लु पुष्टि भएपछि सङ्क्रमण नियन्त्रणका लागि नष्ट गरिएका पन्छी, अण्डा र दानाको क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग बजेट माग गरेको थियो।

क्षतिको ७५ प्रतिशतसम्म राहत पाइने

पशुसेवा विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार, निकासा भएको रकमबाट पीडित किसानहरूलाई प्रमाणित क्षतिको बढीमा ७५ प्रतिशतसम्म क्षतिपूर्ति रकम उपलब्ध गराइनेछ।

‘बर्डफ्लु रोग नियन्त्रण (चौथो संशोधन) कार्यविधि २०७४’ को व्यवस्था अनुसार, नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामग्रीको मूल्याङ्कन गरी सम्बन्धित धनीलाई बढीमा ७५ प्रतिशतसम्म राहत दिने कानुनी प्रावधान रहेको छ।

११ जिल्लामा ७० करोडको क्षति

गत चैत महिनामा देशको पूर्वी क्षेत्रबाट फैलिन सुरु भएको बर्डफ्लु सङ्क्रमण हालसम्म ११ जिल्लामा विस्तार भइसकेको छ। विभागको तथ्याङ्क अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा यो रोग देखिएको थियो।

भाइरसको स्वरूप (म्युटेसन) परिवर्तन भई थप जोखिम निम्तिन सक्ने भएकाले सम्भावित खतराबट बच्न ती क्षेत्रमा करिब ७ लाख पन्छी, ११ लाख गोटा अण्डा र ३ लाख किलोग्राम दाना नष्ट गरिएको प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो। यसरी दाना र पन्छी नष्ट गर्दा किसानहरूको करिब रु ७० करोड बराबरको क्षति भएको अनुमान गरिएको छ।

नियन्त्रणका लागि त्रि-स्तरीय समन्वय

बर्डफ्लु रोगको प्रभावकारी नियन्त्रण तथा अनुगमनका लागि विभागका उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लु रोग नियन्त्रण कक्ष’ (कन्ट्रोल रुम) स्थापना गरिएको छ। रोग देखिएका सम्भावित र प्रभावित क्षेत्रहरूमा सङ्घ, प्रदेश तथा स्थानीय गरी तीनै तहका सरकारहरूसँग आवश्यक समन्वय गरी नियन्त्रणको कार्यलाई तीव्रता दिइरहेको विभागले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *