११ जिल्लामा बर्डफ्लू संक्रमण: आत्तिनुपर्ने अवस्था छैन, जैविक सुरक्षा अपनाउन विभागको आग्रह
काठमाडौं। नेपालका विभिन्न ११ जिल्लामा बर्डफ्लू (वर्ड फ्लु) को संक्रमण पुष्टि भएपछि पशु सेवा विभागले नियन्त्रण तथा रोकथामका लागि उच्च सतर्कता अपनाएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको पशु सेवा विभागका महानिर्देशक उमेश दाहालले सङ्क्रमण देखिए पनि सुरक्षित उपायहरू अपनाउँदा आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन्। विभागले उपभोक्ताहरूलाई भयभीत नहुन र सरोकारवालाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाल न्युज बैंकसँगको टेलिफोन संवादमा महानिर्देशक दाहालले यो रोग विशेषगरी जंगली पन्छी, अन्य चराचुरुङ्गी तथा कागबाट सर्ने जानकारी दिए।
उनले व्यावसायिक रूपमा पालिएका कुखुरालाई सुरक्षित राख्न, बाहिरी रैथाने वा बसाइँ सरेर आउने चराहरूलाई आफ्नो फार्मको नजिक आउन वा प्रवेश गर्न नदिन सम्पूर्ण कुखुरा पालक व्यवसायीहरूलाई अनुरोध गरेका छन्। फार्मको ‘जैविक सुरक्षा’ (बायो-सेक्युरिटी) नै यस रोगबाट बच्ने र व्यवसाय जोगाउने सबैभन्दा उत्तम उपाय भएको विभागको ठहर छ।
हालसम्म देशका ११ जिल्लाहरू झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा बर्डफ्लूको संक्रमण फेला परेको छ।
विभागको तीव्र सक्रियताका कारण झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा यो रोग सुरुमै पुष्टि भई नियन्त्रणको दायरामा ल्याइएको थियो।
रोग नियन्त्रण कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन विभागका उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लू रोग नियन्त्रण कक्ष’ (कन्ट्रोल रूम) समेत स्थापना गरिएको छ।
संक्रमण देखिएका स्थानहरूमा संघ, प्रदेश र स्थानीय तहको आपसी समन्वयमा द्रुत गतिमा ‘बर्डफ्लू रोग नियन्त्रण अभियान’ सञ्चालन भइरहेको छ। जसका कारण बाँकी रहेका क्षेत्रमा पनि रोग चाँडै नियन्त्रणमा आउने विश्वास महानिर्देशक दाहालले व्यक्त गरेका छन्।
यसैगरी, पशु क्वारेन्टाइन कार्यालयहरूले पनि सीमा नाका तथा सम्भावित क्षेत्रहरूमा उच्च सतर्कता अपनाएका छन्। रोग भित्रिन नदिन सुरक्षा निकायको सहयोगमा अवैध रूपमा पैठारी गरिएका तथा शंकास्पद पन्छीहरूलाई नियन्त्रण गर्ने र त्यस्ता पन्छीलाई आफ्नो फार्ममा प्रवेश नगराउन विभागले सचेत गराएको छ।
पन्छीबाट मानिसमा संक्रमण फैलिन नदिन र आम नागरिकलाई सचेत बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पनि विशेष कदम चालेको छ। मन्त्रालयले सर्वसाधारणको मोबाइल रिङटोनमार्फत बर्डफ्लू सम्बन्धी जनचेतनामूलक सन्देश प्रवाह गर्न सुरु गरेको छ।
मोबाइल फोन गर्दा बज्ने यो उपयोगी सन्देशले आम नागरिक र किसानलाई रोगका लक्षण र यसबाट बच्ने उपायबारे सजग गराउन ठूलो मद्दत पुर्याएको दाहालले बताए।
पछिल्लो समय प्रविधिको प्रयोग गरेर जनचेतना फैलाइएकाले किसानहरू आफ्ना कुखुरा व्यवसायलाई बचाई राख्न थप जिम्मेवार र सजग बन्नुपर्ने उनको धारणा छ।
विभागले फार्ममा नियमित निसंक्रमण (डिसइन्फेक्ट) गर्ने, अपरिचित व्यक्ति वा गाडीलाई फार्म भित्र प्रवेश नदिने र कुखुरामा कुनै असामान्य लक्षण देखिएमा तुरुन्त नजिकैको पशु सेवा केन्द्रमा सम्पर्क गर्न सुझाव दिएको छ।
सरकारले नियन्त्रणका सम्पूर्ण उपायहरू तदारुकताका साथ अगाडि बढाएकाले सही सूचनाको पालना गर्दै उपभोक्तासमक्ष स्वस्थ उत्पादन मात्र बजारमा पुर्याउन विभागले अपिल गरेको छ।






डिसी नेपाल





Facebook Comment