इरानका सर्वोच्च नेता खामेनीको अन्त्येष्टिको तयारी: लामो समयपछि जनरल वाहिदी सार्वजनिक रूपमा देखा परे

डिसी नेपाल
१९ असार २०८३ १०:५९
356
Shares

तेहरान। इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको शुक्रबारदेखि सुरु हुने दिनभरको अन्त्येष्टि कार्यक्रमको तयारी भइरहेका बेला लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका इरानको अर्धसैनिक क्रान्तिकारी गार्डका प्रमुख जनरल अहमद वाहिदी अचानक सार्वजनिक रूपमा देखिएका छन्।

इरानी राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिर र भिडियोमा उनी अन्त्येष्टिसम्बन्धी बैठकमा सहभागी भएको तथा तेहरानस्थित खामेनीको पूर्व निवास नजिक आयोजना गरिएको श्रद्धाञ्जलि कार्यक्रममा उनको कास्केट (कफिन) छेउमा बसेको देखिएको छ।

युद्ध सुरु हुनुभन्दा केही साताअघि अर्थात् गत फेब्रुअरी ८ देखि नै वाहिदी सार्वजनिक रूपमा नदेखिएकाले अहिलेको चुनौतीपूर्ण घडीमा उहाँको उपस्थितिलाई विशेष महत्त्वका साथ हेरिएको छ।

राज्य सञ्चारमाध्यमका अनुसार ८६ वर्षीय खामेनीको सम्मानमा बिहीबार राति तेहरानको केन्द्र भागमा एक सानो शोकसभा आयोजना गरिएको थियो।

उक्त समारोहमा कालो पोशाकमा उपस्थित शोकाकुल परिवारजनले कफिनतर्फ स्कार्फ र अन्य सामग्री फ्याँकेका थिए, जसलाई इरानमा श्रद्धा व्यक्त गर्ने परम्परागत अभ्यास मानिन्छ।

तेहरानस्थित हुसिनियाह परिसरमा राखिएको खामेनीको कफिन रातो ट्युलिपले सजाइएको थियो भने कफिनमाथि शिया समुदायमा विशेष महत्त्व राख्ने ‘या हुसेन’ लेखिएको सेतो सुलेखनसहितको रातो झण्डा ओढाइएको थियो।

उक्त झण्डालाई अन्यायपूर्ण रूपमा मारिएका व्यक्तिको रगत तथा प्रतिशोधको प्रतीकका रूपमा समेत लिइने गरिन्छ, जसलाई इराकको कर्बलास्थित इमाम हुसेनको पवित्र मजारमाथि पनि फहराइने गरिन्छ।

विश्लेषकहरूका अनुसार अमेरिकासँगको युद्धको सम्भावित स्थायी अन्त्यका लागि हुन सक्ने वार्तामा इरानको कडा अडान तय गर्न जनरल वाहिदी प्रभावशाली भूमिकामा रहेका छन्।

उनलाई नयाँ सर्वोच्च नेता अयातुल्ला मोजताबा खामेनीसँग प्रत्यक्ष सम्पर्कमा रहेको सीमित समूहका सदस्यमध्ये एक भएको विश्वास गरिएको छ। मोजताबा खामेनी फेब्रुअरी २८ मा इजरायली आक्रमणमा घाइते भएका थिए भने सोही आक्रमणमा उनका पिता अली खामेनीको मृत्यु भएको बताइएको छ।

इरानले शनिबारदेखि खामेनीको दिनभर चल्ने औपचारिक अन्त्येष्टि कार्यक्रम सुरु गर्ने तयारी गरेको छ। उनको पार्थिव शरीरलाई इरान र छिमेकी इराकका विभिन्न सहरहरूमा लगिने कार्यक्रम तय गरिएको छ।

यो अन्त्येष्टि यात्रा तेहरानको ग्रान्ड मोसल्लाबाट सुरु हुनेछ, जहाँ बृहत् शोक समारोहका कारण सडक तथा दैनिक जनजीवन प्रभावित हुने अपेक्षा गरिएको छ। दशकमै पश्चिमसँग टकरावपूर्ण नीति अपनाउँदै इरानको नेतृत्व गरेका खामेनीप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न ठूलो संख्यामा शोकाकुल नागरिकहरू सहभागी हुने सरकारी अधिकारीहरूले जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *