गोली लागेर बाँचेको ‘ध्रुवे’ हात्तीको आतंक : चितवनमा आमा-छोराको मृत्यु, हालसम्म २५ जनाले ज्यान गुमाए
काठमाडौं। चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा जङ्गली हात्तीको आक्रमणबाट एकै परिवारका दुई जनाको दुःखद मृत्यु भएको छ।
शनिबार राति करिब ११ बजे घरभित्र सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा २१ वर्षीया आमा अशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान गएको हो। हात्तीको गम्भीर प्रहारबाट दुवै जनाको घटनास्थलमै मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रभूषण यादवले जानकारी दिए।
घटनाका क्रममा आशिकाका श्रीमान् पूर्ण बोटेले हात्ती भगाउने प्रयासमा आगो बाल्दा उनीहरूको आफ्नै कच्ची घरमा समेत आगलागी भएको थियो। घटनाको जानकारी पाउनासाथ नेपाली सेना र इलाका प्रहरी कार्यालय गीतानगरबाट खटिएको सुरक्षाकर्मीको टोलीले स्थानीयको सहयोगमा घरमा लागेको आगो नियन्त्रणमा लिएको थियो।
जंगली हात्ती गाउँबस्तीमा प्रवेश गरेर मानवीय तथा भौतिक क्षति पुर्याउन थालेपछि चितवन र आसपासका स्थानीय बासिन्दा वर्षौंदेखि त्रासमा बाँचिरहेका छन्। विशेषगरी ‘ध्रुवे’ नामले परिचित रैथाने जंगली हात्तीले यस क्षेत्रमा वर्षेनी आतंक मच्चाउँदै आएको छ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार ध्रुवे हात्तीको आक्रमणबाट वि.सं. २०६६ सालदेखि हालसम्म २५ जनाको मृत्यु भइसकेको छ। हिंस्रक बन्दै गएको ध्रुवेले आक्रमण गरेका अधिकांश घटनामा मानिसहरू बाँच्न सफल भएका छैनन्।
ध्रुवेले २०६६ सालदेखि मानवमाथि आक्रमण सुरु गरे पनि वि.सं. २०६९ सालमा यसले धेरै मानवीय क्षति पुर्याएपछि नियन्त्रण गर्न वा मार्नेसम्मको आदेश जारी गरिएको थियो।
त्यस क्रममा सुरक्षाकर्मीले हात्तीमाथि गोली प्रहार गरे पनि ध्रुवे बाँच्न सफल भएको निकुञ्जका सूचना अधिकारी थापा मगरले जानकारी दिए। गोली लागेर बाँचेपछि केही वर्षसम्म शान्त रहेको ध्रुवेले पछि पुनः बस्ती पसेर आक्रमणका घटनाहरू दोहोर्याउन थालेको हो।
यसै हात्तीको आक्रमणबाट वि.सं. २०७४ सालमा नेपाली सेनाका एक मेजरको समेत ज्यान गएको थियो। मानवीय क्षतिका साथै यसले स्थानीयको घर, अन्नबाली तथा अन्य भौतिक सम्पत्तिमा ठूलो क्षति पुर्याउँदै आएको छ।
जंगली हात्तीबाट हुने यस्ता क्षति र आतंकबारे पटक-पटक संसद्मा कुरा उठाइए पनि समस्याको दीर्घकालीन समाधानतर्फ सरकारको प्रभावकारी ध्यान जान सकेको छैन।
वर्षौंदेखि ध्रुवेको आतंक कायम रहे पनि यसको ठोस नियन्त्रण हुन नसक्दा चितवनवासीहरू सधैँ भयभीत वातावरणमा बस्न बाध्य छन्।
हात्तीको आवतजावतलाई नियन्त्रण गर्न वैज्ञानिक व्यवस्थापन गर्ने तथा जोखिमयुक्त क्षेत्रका स्थानीयका लागि सुरक्षित बासस्थानको व्यवस्था मिलाउनु आवश्यक देखिए पनि सम्बन्धित निकायले पर्याप्त पहल नगर्दा नागरिकले प्रत्यक्ष मार खेपिरहनुपरेको छ।






डिसी नेपाल





Facebook Comment