नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त
काठमाडौं। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट बर्खास्त गरिएको छ।
नार्कका अध्यक्ष एवं कृषि मन्त्री गीता चौधरीको सचिवालयका अनुसार कार्यालयमा उपस्थित नभई दरबन्दी मात्र ओगटेर पदीय जिम्मेवारी पूरा नगर्ने कर्मचारीहरूलाई कारबाहीको दायरामा ल्याइएको हो।
सेवाबाट हटाइएका कर्मचारीहरूमा कृषि अनुसन्धान निर्देशनालय, तरहरा (सुनसरी) मा कार्यरत प्राविधिक अधिकृत (छैटौँ) पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र, खुमलटार (ललितपुर) मा कार्यरत वैज्ञानिक (एस-१) नमिता भट्टराई रहेका छन्।
सरकारले अघि सारेको सुशासन र जनमुखी सेवा प्रवाहको नीतिलाई कडाइका साथ कार्यान्वयन गर्ने क्रममा यो निर्णय लिइएको मन्त्री चौधरीले जानकारी दिइन्। मन्त्री चौधरीका अनुसार सम्बन्धित कर्मचारीहरूलाई सम्पर्कमा आउन पटक-पटक मौका दिइएको थियो।
परिषद्ले उनीहरूको घरको ठेगानामा पत्राचार गर्नुका साथै राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरी सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको थियो।
तर, तोकिएको अवधिभित्र पनि कुनै प्रतिक्रिया नआएपछि परिषद्को कार्यकारी समितिको निर्णय अनुसार कर्मचारी प्रशासन विनियमावली, २०६२ को प्रावधान बमोजिम अनुपस्थित रहेको मितिदेखि नै लागू हुने गरी उनीहरूलाई सेवाबाट बर्खास्त गरिएको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment