चेतनाको रूपान्तरण र परम्पराप्रतिको निष्ठा: वेदिका केसीलाई खुल्ला पत्र
आदरणीय माता वेदिका केसीज्यू,
राधे-राधे र सादर दण्डवत् प्रणाम!
हाम्रो समाजका साधारण मानिसहरूको चेतनामा जबसम्म गुणात्मक सुधार आउँदैन, तबसम्म धर्म र आस्थाको आवरणमा मौलाएका बनावटी शैलीका ठगहरूले आफ्नो जरो फैलाइरहन्छन्। यो त मलिलो माटो पाएपछि झारपात र वृक्षहरू स्वतः मौलाए जस्तै हो, जसलाई कसैले रोक्न सक्दैन।
विश्व परिवेशलाई एकछिन थाती राखेर नेपाली समाजको यथार्थलाई मात्र नियाल्ने हो भने, आजका दिनसम्म पनि दूरदराजका विपन्न क्षेत्रमा ‘दोस्रो मेडिकल कलेज’ का रूपमा सेवा दिइरहेका साना-ठूला तान्त्रिक, आध्यात्मिक तथा ईश्वरीय कृपायुक्त गुरु र माताहरू प्रति म दस औँला जोडेर दण्डवत् प्रणाम गर्दछु। साथै, मानव समाजलाई अनुशासित बनाउन योगदान दिने सम्पूर्ण परम्पराका ऋषि, भिक्षु, इमाम र पादरीहरूमा पनि मेरो कोटि-कोटि नमस्कार छ।
एक्काइसौँ शताब्दीको यो आधुनिक एवं वैज्ञानिक सभ्यतामा उभिएर पनि धर्म, संस्कृति र परम्पराप्रति यति धेरै चासो राख्दै सामाजिक अभियान चलाउनुहुने हजुरको इच्छा, लगाव र समयलाई म नजिकबाट नियालिरहेको छु।
यो उमेरमा तपाईंले गर्नुभएको खोज र तत्परता प्रति मेरो हृदयदेखि नै सम्मान छ। यद्यपि, वर्तमान देश, काल र परिस्थितिलाई बुझ्दै जाँदा मेरो मनमा केही गम्भीर प्रश्नहरू उब्जिएका छन्, जसलाई म आदरपूर्वक यस पत्रमार्फत कोर्दै छु।
हाम्रो समाजमा परापूर्वकालदेखि चल्दै आएका रैथाने विश्वास र पद्धतिहरू धेरै छन्। आफ्नै कुल चढेका धामी, आध्यात्मिक तान्त्रिक विधिबाट झारफुक गर्ने झाँक्री, पश्चिम नेपालतिर देउताका रूपमा पुजिने बिजुवा, थारू समुदायका गुरुवा, लिम्बू समुदायका फेदाङ्गा, राई भित्रका नाम्छो, गुरुङ समुदायका पाछ्यु वा घ्याब्रे, तामाङ समुदायका बोम्बो र हिमाली भेगका बौद्ध सम्प्रदायका लामाहरू सबैप्रति मेरो उच्च सम्मान छ।
विभिन्न धर्मका पवित्र संस्कारहरू जस्तै- हिन्दु परम्पराको गुरुदीक्षा, बौद्धको उपसम्पदा, इस्लामको शाहदा र इसाईको बप्तिस्माले दिने वास्तविक मर्म र अर्थ के होला? म आफूलाई यति गहिरो विषय बुझ्न सक्ने ठूलो बौद्धिक ठान्दिनँ।
थोरै बुझेको कुरालाई पनि अहिल्यै बजारमा छ्यापछ्याप्ती पार्न चाहन्नँ, किनकि अधुरो ज्ञान जहिले पनि घातक हुन्छ। वास्तवमा कोही पनि मानिस आफ्नो रहर वा चाहनाले मात्र धामी-झाँक्री वा तान्त्रिक बन्न सक्दैन।
धर्मान्तरणको खेल उत्कर्षमा पुगेको वर्तमान नेपाली समाजमा तपाईंको यो शैलीले कसलाई फाइदा पुर्याउँदै छ र कसको बाटो सजिलो बनाउँदै छ भन्ने कुराको हिसाब-किताब देशका विद्वान् वर्गले अवश्य गर्ने नै छन्।
यसको सूक्ष्म रहस्य बुझ्न वरिष्ठ ज्योतिष शास्त्रका ज्ञाताहरूसँग परामर्श लिनु उपयुक्त हुन्छ। ज्योतिष विज्ञानका अनुसार हरेक मानिसको मानसिक एवं आध्यात्मिक शैली, ब्रह्माण्डीय ऊर्जा ग्रहण गर्ने क्षमता र त्यसलाई बाहिर प्रकटीकरण गर्ने शक्ति नितान्त फरक हुन्छन्।
आजको हाम्रो सिंगो समाज एउटा आपसी विश्वासको धरातलमा टिकेको छ। समयको बहावसँगै समाजमा परिवर्तन अवश्य आउँछ, तर कसैले इच्छा गर्दैमा वा सामाजिक सञ्जालमा करकाप गर्दैमा स्थापित परम्परा र मूल्य मान्यताहरू रातारात बदलिँदैनन्।
सामाजिक धारणामा परिवर्तन आउन र पुस्तान्तरण हुन लामो समय लाग्छ। तपाईंसँग सोध्नका लागि मसँग सयौँ प्रश्नहरू छन्। हाम्रा गाउँघरका ती आँखा नदेख्ने धामीबा, जसले दशकौँदेखि ओखतीमुलो गरिरहेका छन्, तिनलाई कुन शिक्षाको दर्जामा राख्ने? मेरो आफ्नै घरको भैँसीले कैयौँ पटक दूध दिन छाड्दा चामल र खरानी फुकेर कुचोको सहायताले झारफुक गरेपछि पुनः दूध दिएका जीवन्त उदाहरणहरू मसँग छन्। सुदूरपश्चिमका विकट बस्तीमा आस्थाका केन्द्र बनेका लाटेझाँक्रीलाई तपाईं कुन नजरले हेर्नुहुन्छ?
हिमाली भेगका वेद र ग्रन्थ नबुझेका तर प्राकृतिक जडीबुटी र मन्त्रका ज्ञाता काइँलो झाँक्री तपाईंको वर्गीकरणको कुन दर्जामा पर्छन्? मध्यपश्चिमका ब्राह्मण समुदायका रुद्राक्ष गनेर देउता उतार्ने र दुःखीको मन बुझाउने ठूलाघरे बालाई कुन स्थान दिने? यी सबै पात्रहरू सम्मानयोग्य छन्, किनकि राज्यको स्वास्थ्य सेवा नपुगेका ठाउँमा उहाँहरू नै आजका दिनसम्मका दोस्रो मेडिकल कलेज हुनुहुन्छ।
आधुनिक समयमा जन्मिएका युवा-युवतीका प्रश्न र जिज्ञासाहरू आधुनिक हुनु स्वाभाविकै हो। मेरो मनमा उब्जिएका यी कुराहरू अहिलेसम्म आफूभित्रै सीमित थिए, तर आज खुलेर बोल्न मन लाग्यो।
कुनै पनि गम्भीर सामाजिक प्रश्न तीन करोड जनताको माझमा उठाउँदै गर्दा, त्यसको तार्किक उत्तर र विकल्पसहित उठाउनुपर्छ। तपाईं जस्तो शिक्षित र सचेत व्यक्तिको अपरिपक्व प्रश्नले समाज रनभुल्लमा पर्नु हुँदैन।
जीवनको वास्तविक अर्थ र विज्ञान नबुझेर केवल परापूर्वकालदेखिको विश्वासको भरमा चलेको सोझो समाजलाई आरोप-प्रत्यारोपको भाषामा बुझाउन कदापि सकिँदैन। तपाईं जस्ता अभियन्ताहरूको चेतना र दृष्टिकोण कुरा नबुझ्ने मानिसहरूलाई बुझाउनेतर्फ लक्षित हुनुपर्छ, तब मात्र अभियानले सार्थकता पाउँछ।
आफ्नै जीवनको मर्म र अधिकार नबुझेका गाउँका सोझा जनतालाई “तिमीहरूमाथि ठगी भयो” भन्दै प्रश्नको सुइरो त्यतातिर तेर्स्याउनु कतिको न्यायोचित होला? आफैँलाई चिन्न नसकेका मानिसहरूले आफूमाथि ठगी भएको कसरी बुझ्न सक्छन् र, वेदिकाजी?
धर्म र आस्थाको गलत खोल ओढेर सर्वसाधारणलाई आर्थिक वा शारीरिक रूपमा ठगी गर्नेहरू प्रति तपाईंले उठाएका प्रश्नहरू पूर्ण रूपमा जायज छन्। तर, यस्ता प्रश्न र न्यायको खोजी फेसबुक वा टिकटक जस्ता सामाजिक सञ्जालमा होइन, देशको कानुन, अदालत र न्यायालयमा हुनुपर्छ।
तपाईंको यस्तो उत्तेजक प्रश्नमा मेरी ग्रामीण आमाको उत्तर के आउला, कहिल्यै सोच्नुभएको छ? तपाईंले सुगम र विकसित ठाउँमा आफ्नो सुनौलो बालापन बिताउनुभयो होला, तर आजका दिनमा पनि एक माना नुन किन्नका लागि घन्टौँ लाइन बस्नुपर्ने विकट समाजका मानिसहरूलाई यो कुरा कसरी बुझाउने?
के सहरी क्षेत्रका सुगम र बुझझकी मानिसहरू मात्र हुन् त धामीझाँक्रीलाई विश्वास गर्ने? अझै पनि प्रस्टसँग नेपाली भाषा समेत बोल्न नजान्ने ती दूरदराजका जनतालाई तपाईं कुन भाषामा सम्बोधन गर्नुहुन्छ?
यदि धर्म र संस्कृतिकै कुरा गर्ने हो भने, सुधार र आवाज उठाउने नाममा समाजका आन्तरिक कुरीतिहरूलाई अतिरञ्जित गरेर सडकमा छरपस्ट बनाउनु पनि एक प्रकारको पाप हो।
हरेक जातजाति र सम्प्रदाय मिलेर एउटा सुन्दर रङ्गीन माला जस्तै उनिएर बसेको हाम्रो शान्त समाजका लागि तपाईंको तिखो आवाज कतै विष त बनिरहेको छैन?
धर्मान्तरणको खेल उत्कर्षमा पुगेको वर्तमान नेपाली समाजमा तपाईंको यो शैलीले कसलाई फाइदा पुर्याउँदै छ र कसको बाटो सजिलो बनाउँदै छ भन्ने कुराको हिसाब-किताब देशका विद्वान् वर्गले अवश्य गर्ने नै छन्।
हरेक धर्म, जाति र सम्प्रदायभित्र रहेका सकारात्मक परम्पराको पालना गरी समाजलाई एउटा बलियो अनुशासनको घेरामा राख्नुहुने हाम्रा आदरणीय अग्रजहरू प्रति मेरो नमन छ। यो नेपाली समाज आजका दिनसम्म सुरक्षित र मर्यादित रहनुको मुख्य श्रेय तपाईंहरूकै अनुशासनलाई जान्छ।
अझै कति पुस्तासम्म हामीले यसैगरी उहाँहरूकै भरोसामा चल्नुपर्ने हो, त्यो भविष्यकै गर्भमा छ। हामीले बुझ्नुपर्ने मुख्य कुरा के हो भने, दुर्गम गाउँहरूमा हामीले सोचे जस्तो राज्यको नियम, कानुन वा प्रहरी प्रशासन चौबीसै घण्टा उपलब्ध हुँदैन; त्यहाँ त सदियौँदेखिको सामाजिक र साम्प्रदायिक अनुशासनले नै सिङ्गो गाउँ टिकेको हुन्छ।
अन्त्यमा वेदिकाजी, विकृति र विसङ्गतिका विरुद्धमा तपाईंले उठाउनुभएको मूल आवाज सैद्धान्तिक रूपमा ठीक छ। आस्थाको नाममा ठगी गर्ने तत्त्वहरूलाई कानुनी कारबाही हुनैपर्छ र गल्ती गर्नेले सजाय पाउनैपर्छ।
धर्मको नाममा सोझासाझा जनतामाथि भ्रम छर्ने र झारफुकको बहानामा समाजमा अफवाह फैलाउने छुट कसैलाई छैन। कसैको पनि आस्था वा सम्प्रदायमाथि आँच आउने गरी गलत धारणा राख्न मिल्दैन। तर, हामीले के बिर्सनु हुँदैन भने सामाजिक सञ्जाल कुनै न्यायालय होइन, यो केवल आवाज उठाउने माध्यम मात्र हो, यसलाई कसैको भाग्यको निर्णय गर्ने वा सजाय तोक्ने कानुनी अधिकार छैन।
कोही कसैले गल्ती गरेको खण्डमा सोही क्षेत्रका नियमनकारी निकाय र सुरक्षा संयन्त्रले न्यायको उचित कदम चाल्नुपर्छ। त्यसैले न्यायको माग सञ्जालमा होइन, सम्बन्धित कानुनी निकायमा गरिनुपर्छ।
एक्काइसौँ शताब्दीको यो उन्नत सभ्यता र नेपाली युवायुवतीहरूको अधुरो ज्ञानका बीचमा देखिएको नमिलेको तालमेललाई तपाईंको आवाजले आगो सल्काउने झिल्को नबनाओस्। बाँकी हजुर आफैँ सचेत र विद्वान् हुनुहुन्छ।
धन्यवाद!
हजुरकै शुभचिन्तक
युग पुरुष












Facebook Comment