प्रेममूर्ति श्रीभगवान् शिवको साउन प्रेम
“गाव:प्रतिष्ठा भूतानां गाव: स्वस्त्ययनं महत् ॥५॥” — श्रीमहाभारत, अनुशासन पर्व, अध्याय ७८
“गाई समस्त प्राणीहरूका प्रतिष्ठा (आधार) हुन् अनि गाईहरू नै सबै प्राणीका महान् मङ्गलका निधि हुन् ।”
गाईको रक्षा गरौँ । गोरक्षालाई महाभियानका रूपमा गम्भीर मनस्थितिले हरएक आदरणीय जन उत्कट भएर लागौँ; किनभने सिङ्गो अस्तित्वलाई ढाडमा थेगेर हिँडेकी गाईको रक्षाले सबैको रक्षा हुन्छ, जसबाट प्रेम, शान्ति र समृद्धिको स्वतः अतिवृष्टि हुन्छ । श्रीराधे !
“देवि प्रपन्नार्तिहरे प्रसीद, प्रसीद मातर्जगतोऽखिलस्य । प्रसीद विश्वेश्वरि पाहि विश्वं, त्वमीश्वरी देवि चराचरस्य ॥”
“नमः शिवाभ्यामतिसुन्दराभ्यां, अत्यन्तमासक्तहृदम्बुजाभ्याम् । अशेषलोकैकहितङ्कराभ्यां, नमोनमःशङ्करपार्वतीभ्याम् ॥”
“म भगवतीदेवी पार्वतीजी र श्रीभगवान् शिवलाई नमन गर्दछु, जो अत्यन्त सुन्दर हुनुहुन्छ र जसको हृदय आकर्षण एवं प्रेमले भरिएको छ । जो समस्त लोकहरूको हितका लागि एकै हृदयले कार्य गर्नुहुन्छ, म उहाँ भगवती पार्वतीजी र श्रीभगवान् शिवलाई पुनः पुनः, बारम्बार, अनेक बार साष्टाङ्ग दण्डवत् नमन गर्दछु ।”
“काल हर, कष्ट हर, दुःख हर, दरिद्र हर, सर्व रोग हर, सर्व पाप हर, ॐ नमः पार्वती पतये, हरहर महादेव ।” जय शम्भो ! श्रीराधे !
भगवान् शिव प्रकृतिरूपमा नृत्यमग्न हुनु श्रावण हो । शिवतत्त्व तरलतामा बग्नु श्रावण हो । तरलतामा बगी सर्वव्याप्तिको रुझान बुझाउनु साउन हो । विभु शिवत्व बारिस (वर्षा) भएर बुँदबुँदमा छरिँदै अस्तित्वको कणकणलाई व्याप्तिको बोधमा रुझाउनु श्रावण हो । ध्यानस्थ श्रीशिवरूपको महाऊर्जालाई प्रेमालु प्रकृतिले जलको बरसाती शीतलताबाट श्रीभगवान्का देदीप्यमान मोहक मुस्कानमा दिव्य दर्शन गराउनु साउन हो ।
भगवान् शिव प्रेमाश्रुरूपमा बर्सिनु साउन हो । श्रीभगवान् हर्षविभोर हुनु साउन हो । हर्षविभोरताको महालास्यमय उत्सव श्रावण हो । अतः शिवत्वको हर्षविभोर उत्सव श्रावण हो । श्रावण दैवी प्रेमको महिना ! शैवप्रेमको मास- श्रावण ! हो, प्रकृतिको शिवप्रेम प्रकाशन गर्ने महिना श्रावण हो ।
शिव र शक्तिमा भेद छैन । शिव शक्तिमय प्रेमाश्रुरूपमा बर्सिनु वा प्रेमरूप प्रकृति शिवप्रेममा आँसुआँसु भई भक्कानिनु साउन हो । शिव र शिवलिङ्गमा भेद छैन । प्रकृतिको बरसातका रूपमा, शिवलिङ्ग स्वरूपमा यस अस्तित्वमा सदा उपस्थित भगवान् शिवलाई दैवी अङ्कमालको दिव्य दर्शन गराउनु श्रावण हो ! जल भगवान् शिवलाई प्रिय छ।
आफ्ना प्रणयितालाई उपहारस्वरूप हरित वस्त्राभूषणमा सजिएकी प्रणयिनी स्वयम् जलरूपमा अर्पण हुनु श्रावण हो । श्रावण दैवी प्रेमको महिना हो । आफ्ना ईश्वरसँग मिलनको मास हो । मिलनको हर्षविभोर अभिव्यक्तिमा शिवत्वको आफैँ-आफ प्रकटीकरण हुनु साउन हो । यो श्रावण मास हो । प्रकृतिको ईश्वरसँग मिलन, एकत्व अनि भक्तको भगवान्सँगको जोडन नै श्रावण हो ।
श्रावणमा सिङ्गो प्रकृति नै शिवप्रेमको महाउत्सवमा जागेर उठ्दछिन्; हरित वस्त्राभूषणमा सजिएर रम्दछिन्, नाच्दछिन्, झुम्दछिन् ! यो साउनको महिना हो, उत्सवको महिना हो, प्रकृतिको आमोदप्रमोदको महिना, धर्मको महोत्सव हो। भगवान् शिवको महिना हो, प्रेमको महिना हो, ईश्वरप्रेमको महिना हो, प्रेमको अर्थबोध गराउने महिना हो !
धार्मिक यात्राको महिना हो, साउन तीर्थयात्रा हो । साकारबाट निराकारतर्फको तीर्थयात्राको महिना हो यो। मनको पवित्रीकरणका लागि शिवालय गई बाहिर शिवको दर्शन गरेर भित्रका शिवतर्फको तीर्थयात्रा गर्ने महिना यो श्रावण मास हो।
शिव आँसु हुन्, भाव हुन्; प्रेमका बलिन्द्रधारा शिव अश्रुधारा हुन्, शिवप्रेमका अश्रु- प्रेमाश्रु हुन् । हो, तिनै प्रेमाश्रु प्रकृतिको बरसात भई शिवमा उर्लिँदै पुग्नु साउन हो । शिवत्वको महाऊर्जाले झङ्कृत भएर जागेर उठ्नु श्रावण हो । प्रकृतिबाट नै शिवतर्फको यात्राको आह्वान साउन महिना हो।
बरसातले जसरी यस धरालाई कञ्चनीकरण (निर्मल) गर्दछिन्, त्यसरी नै शिवतत्त्वमा जागेर उठेको साउनले मनलाई निश्चलीकरण गर्दछिन् । बरसातले निर्मलीकरण गरेकी यस धरा वसन्तको कोमल पालुवाझैँ नाजुक हुन पुग्दछिन्, तब दर्शन हुन्छ शिवको- निर्मलतामा, स्वच्छतामा, स्वच्छन्दतामा ! त्यसरी नै शिवत्वमा झुमेर उठेको साउनले मनलाई कोमल-कोमल तुल्याउँदछिन्, तब अकिल्विष (पापरहित/पवित्र) मनमा पदार्पण हुन्छ शिवको, शिवत्वको, शिवतत्त्वको ! प्रेम नाजुकतामा नै त पदार्पण हुन्छ…।
साउनमा त सिङ्गो प्रकृति परम उत्सवमा हुन्छिन्, चरम खुसीमा हुन्छिन्; भगवान् शिवसँग मिल्न जो जानु छ ! यहाँ हर पात र वृक्ष हरित वस्त्राभूषणको चमक लिई शिवमग्नताको हर्षोल्लासमा झुम्दछन् । तिनमा हरित शृङ्गारको चहकबाट चार चाँद लगाउन प्रकृति फेरि बरसात थपिदिन्छिन् । बरसातमा भिजेका पात अब शिवदर्शनका लागि तम्तयार छन् ! अनि वृक्षका ती पात दर्शन गर्दा लाग्छ- चम्किला हरित ऐनामा भगवान् शिवलाई निराकार स्वरूपमा दर्शन गराइरहेछन् ती… श्रीराधे !

साउनमा त सिङ्गो अस्तित्व नै “शिव शिव” भन्दै श्वास फेर्छ । यस्तो लाग्छ, सिङ्गो अस्तित्व नै “शिव शिव” को श्वासमा कम्पित छ श्रावणमा । हरेक श्वास धिमा, लयबद्ध, मन्द-मन्द सङ्गीतप्रेमी शिवको दिव्यातिदिव्य सुरतालझैँ सिङ्गो श्रावण नै कम्पित छ भगवन्नाममा- “शिव शिव शिव शिव शिव शिव शिव शिव शिव शिव…” । लाग्छ, यो अस्तित्व ‘शिव’ श्रीनामको श्वास फेरिरहेछ।
शिव श्रीनामले युक्त भएको श्वासले श्वासको धार्मिक आयाममा अमरत्व स्थिति दिलाउने महत्त्वको बोध गराउँदछ ! हाय भगवन्नाम ! हाय भगवन्नामको अव्याख्येय महात्म्य ! महिमा ! अवर्णनीय ! भगवन्नामयुक्त श्वास अव्यक्त-अदृश्य रूपमा अस्तित्वले फेरिरहेछिन्।
भगवान्को यही श्रीनामको हरेक श्वासको जपले अस्तित्व जीवित छ । बेजोड संसारी श्वासको गतिबाट श्रीनाम जपले श्वासको गति सुस्त-सुस्त, धिमा-धिमा हुँदै-हुँदै शिवत्वमा लगी चित्तवृत्तिको निरोध गराउँछ- यही त योग हो ! “योगश्चित्तवृत्तिनिरोध:” अर्थात् भगवान् शिवसँगको योग, चित्तवृत्तिको निरोध ! साउन ! अस्तित्वसँग एकाकार ! अस्तित्वको बडो वैज्ञानिक तालबद्ध श्वासमा हाम्रो श्वासको अधिरोपणबाट परिणामात्मक बृहत्तरकरणमा एकाकार, एकात्मकता— साउन !
शिवलिङ्गमा बेलपत्र र जल प्रिय छ । श्रीभगवान्मा अर्पित जल र श्रीभगवान्लाई त्यस्तै प्रिय बेलपत्रउपर वर्षण हुँदा भिजेको बेलपत्रको दर्शन प्रेमको तत्त्व— परम करुणा र चरम कोमलताको दिव्य दर्शन हो । अनि प्रेमको यही दिव्यताको साक्षी मनोहर मुस्कानमा प्रेममूर्ति भगवान् शिव, प्रेमको मधुर श्रावण नृत्यको साक्षी ईशान भगवान् श्री पशुपतिनाथ दिव्य अतिदिव्य ज्ञापक शिवलिङ्ग स्वरूपमा… ईशत्वको आयाममा यो आनन्द ! हे नाथ ! हे माते ! श्रीराधे…
निराकारको ज्ञापक-सूचक भगवान् श्रीसदाशिवलिङ्ग ! यो रमझमझैँ प्रतीत हुने क्षणभङ्गुर, अनित्य र अशाश्वत संसारमा सत्य भगवान् सदाशिवले नित्य-शाश्वत आफूतिर बोलाउनका लागि “मेरो पनि उपस्थिति यहाँ छ है, नभूल !” भनी उपस्थितिको जानकारी दिलाई एक र एकमात्र सत्य शाश्वत समाधानको सूचनाका रूपमा अवस्थिति हुनु नै भगवान् श्री सदाशिवलिङ्ग हो।
त्यही निराकार जो निराकारको चिह्नरूप सदाशिवलिङ्गका रूपमा हुनुहुन्थ्यो, हुनुहुन्छ र हुनुहुनेछ, तिनै निराकारसँगको साकार यो उहाँको दिव्य लीलारूप अस्तित्वको मिलनको साक्षात् प्रतीक साउन महिना हो । हो, निराकारमा बेलपत्र-जलको अर्पण आत्माको परमात्मासँगको मिलनको सूचक हो, ज्ञापक हो, प्रतीक हो, चिह्न हो । साउन त्यही हो ! शरीर त पुल रहेछ, माध्यम रहेछ; शरीर ‘म’ होइन रहेछ, ‘म’ त आत्मा रहेछु ! निर्मल मन र विवेकयुक्त बुद्धि त माध्यम मात्र रहेछ ।
“मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः । बन्धाय विषयासक्तं मुक्त्यै निर्विषयं स्मृतम् ॥२॥” — श्री अमृत-बिन्दु उपनिषद्
“मन नै सबै मनुष्यका बन्धन एवं मोक्षको प्रमुख कारण हो । विषयमा आसक्त मन बन्धनको अनि कामना-सङ्कल्पबाट रहित मन नै मोक्ष (मुक्ति) को कारण बताइएको छ ।”
शरीर त यहीँ छुट्ने रहेछ ! त्यही माध्यम शरीरलाई सद्बुद्धि-विवेकको प्रयोगले ‘म’ रूपी आत्माको परमात्मासँग मिलन गराउनु नै साउन रहेछ । “तत्त्वमसि”, “शिवोऽहं”, “शिवोऽहं”, “प्रज्ञानं ब्रह्म”, “अयमात्मा ब्रह्म”, “अहं ब्रह्मास्मि” को बोध सायद यही हो ! पवित्र बेलपत्र-जल श्रीभगवान्सँग मिलनको प्रेमोपहार रहेछ । कति सामान्य प्रेमोपहार ! सबैभन्दा अमूल्य तत्त्वलाई कति सामान्य प्रेमोपहार ? यसै भनिएको होइन रहेछ, उपहारको मूल्य होइन, भावको अमूल्यताले उपहारलाई प्रेमोपहार बनाउने रहेछ । अतिसरलता र सहजतामा ईशत्वको उपस्थिति चरितार्थ भई दर्शित छ श्रावणमा…।
भगवान् शिव र भगवान् श्रीकृष्णमा कुनै भेद छैन ।
“पत्रं पुष्पं फलं toयं यो मे भक्त्या प्रयच्छति । तदहं भक्त्युपहृतमश्नामि प्रयतात्मन: ॥२६॥” — श्रीमद्भगवद्गीता, अध्याय ९
“जो कोही भक्त मेरा लागि प्रेमले पत्र, पुष्प, फल, जल आदि अर्पण गर्दछन्, ती शुद्धबुद्धि निष्काम प्रेमी भक्तका प्रेमपूर्वक अर्पण गरिएका ती पत्र-पुष्पादि म सगुणरूपले प्रकट भएर ग्रहण गर्दछु ।”
ओहो ! कति सरल प्रेम, कति सरल ईश्वर ! ती ईश्वर, ती परब्रह्म चाहे श्रीकृष्ण स्वरूपमा होऊन् या श्रीशिवरूपमा, भाव नै त रहेछ ! उपहार त बहाना न हो, उहाँले हेर्न चाहेको त भाव रहेछ । उहाँ स्वयम् प्रेम पुज्नुहुँदो रहेछ । त्यही प्रेमभाव देखेर भगवान् पनि भक्तका अधीन हुनुहुँदोरहेछ !
“अहं भक्त पराधीनो ह्यस्वतन्त्र इव द्विज । साधुभिर्ग्रस्तहृदयो भक्तैर्भक्तजनप्रियः ॥६३॥” — श्रीमद्भागवत-महापुराण, नवमस्कन्ध, अध्याय ४
“म सर्वथा भक्तका अधीन छु । ममा अलिकति पनि स्वतन्त्रता छैन । मेरा सीधा-साधा सरल भक्तहरूले मेरो हृदयलाई आफ्नो हातमा राखिरहेका छन् । भक्तजन मलाई प्यार गर्दछन् र म तिनलाई ।” — स्वयम् श्रीभगवान् दुर्वासाजीलाई प्रेमज्ञानको परम रहस्य प्रकट गर्नुहुन्छ ।
ओहो प्रेम ! ईश्वर पनि प्रेमको ‘दीवाना’ रहेछन् ! साउन त्यही ‘दीवानगी’को महिना हो ! प्रेम ! भगवद् प्रेम ! ईश्वर प्रेम !! श्रीराधे !!!
“करचरणकृतं वाक्कायजं कर्मजं वा । श्रवणनयनजं वा मानसं वापराधम् ॥ विहितमविहतं वा सर्वमेतत्क्षमस्व । जय करुणाब्धे श्रीमहादेव शम्भो ॥”
“नमन्त्रं नो यन्त्रं तदपि च न जानेस्तुतिमहो न चाह्वानं ध्यानं तदपि च नजाने स्तुतिकथा: । न जाने मुद्रास्ते तदपि च नजाने विलपनं परं जाने मातस्त्वदनुसरणं क्लेशहरणम् ॥”
“काल हर, कष्ट हर, दुःख हर, दरिद्र हर, सर्व रोग हर, सर्व पाप हर, ॐ नमः पार्वती पतये, हरहर महादेव ।” जय शम्भो ! श्रीराधे ॥
“ययासर्वमिदं व्याप्तं जगत् स्थावरजंगमम् । तां धेनु शिरसा वन्दे भूतभव्यस्य मातरम् ॥१५॥” – श्रीमहाभारत, अनुशासन पर्व, अध्याय ८०
“जसले समस्त चराचर जगत्लाई व्याप्त गरेर राख्नुभएको छ, त्यस भूत अनि भविष्यकी जननी गाईलाई म मस्तक झुकाएर प्रणाम गर्दछु ।”
गाईको रक्षा गरौँ । गोरक्षालाई महाभियानका रूपमा गम्भीर मनस्थितिले हरएक आदरणीय जन उत्कट भएर लागौँ; किनभने सिङ्गो अस्तित्वलाई ढाडमा थेगेर हिँडेकी गाईको रक्षाले सबैको रक्षा हुन्छ, जसबाट प्रेम, शान्ति र समृद्धिको स्वतः घनघोर वर्षण हुन्छ । श्रीराधे ॥












Facebook Comment