संसद मार्च गर्न खोज्ने प्रदर्शनकारी र दिल्ली प्रहरीबीच झडप, सोनम वाङचुक र विद्यार्थीको अनशन जारी
काठमाडौं । भारतीय संसदको मनसुन सत्र आज (सोमबार) देखि सुरु भएसँगै दिल्लीको जंतर-मंतरमा भेला भएका प्रदर्शनकारीहरूले संसद भवनतर्फ विरोध मार्च निकाल्ने प्रयास गरेपछि सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ।
‘ककरोच जनता पार्टी’ र विभिन्न विद्यार्थी सङ्गठनहरूको आह्वानमा नीट परीक्षामा भएको भनिएको अनियमितता र शिक्षा क्षेत्रमा व्याप्त भ्रष्टाचारको विरोध गर्दै प्रदर्शनकारीहरू संसद भवनतर्फ अघि बढ्न खोजेका थिए।
यद्यपि, दिल्ली प्रहरीले सो मार्चको लागि कुनै अनुमति नदिएको स्पष्ट पारेको छ। ‘ककरोच जनता पार्टी’ का प्रवक्ता सौरभ दासले प्रहरीसँग वार्ता भइरहेको र आफूहरू जुनसुकै अवस्थामा शान्तिपूर्ण रूपमा संसद भवन पुग्ने दाबी गरेका छन्।
सीजेपीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै भनेको छ, “मुसलधारे वर्षा र कडा सुरक्षा व्यवस्थाका बाबजुद आज प्रदर्शनकारीहरूलाई कसैले रोक्न सक्ने छैन।”
जंतर-मंतरमा बिहानैदेखि हजारौँको सङ्ख्यामा मानिसहरू भेला भएका छन्। समाचार एजेन्सी एएनआई द्वारा सार्वजनिक भिडियोमा प्रदर्शनकारीहरूलाई तितरबितर पार्न ‘र्यापिड एक्सन फोर्स’ का जवानहरूले लाठीचार्ज गरेको र प्रदर्शनकारी तथा सुरक्षाकर्मीबीच घम्साघम्सी भएको दृश्य देखिन्छ।
सीजेपीका संस्थापक अभिजीत दीपकेले हजारौँको सङ्ख्यामा पुगेका प्रदर्शनकारीहरूले शान्तिपूर्ण रूपमा आफ्नो प्रतिनिधिमण्डल मार्फत माग पत्र बुझाउन चाहेको बताएका छन्।
अर्कोतर्फ, नयाँ दिल्लीका प्रहरी उप-आयुक्त सचिन शर्माले भारतीय नागरिक सुरक्षा संहिता को धारा १६३ लागू गरिएको जानकारी दिँदै निर्धारित स्थल (जंतर-मंतर) बाहेक अन्यत्र ५ जनाभन्दा बढी मानिस भेला हुन, मार्च निकाल्न वा प्रदर्शन गर्न पूर्ण प्रतिबन्ध लगाइएको बताए। जंतर-मंतरको बाहिरिने गल्लीहरूमा ७ फिट अग्ला चार तहका ब्यारिकेडहरू खडा गरी कडा सुरक्षा प्रबन्ध मिलाइएको छ।
नीट परीक्षाको धाँधली र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै गत जुन २८ देखि अनशनमा बसेका वातावरणविद् एवं सामाजिक अभियन्ता सोनम वाङचुकको अनशन आज २३ औँ दिनमा प्रवेश गरेको छ।
स्वास्थ्य स्थिति बिग्रिएपछि दिल्ली प्रहरीले उनलाई शनिबार बिहान सफदरजङ अस्पतालमा भर्ना गराएको थियो। आइतबार दिल्ली उच्च अदालतले वाङचुकलाई अस्पतालबाट डिस्चार्ज गर्न अस्वीकार गरेपछि उनकी पत्नी गीताञ्जली आङमोले आफ्ना पति वाङचुकको तर्फबाट आफू सोमबारको संसद मार्चमा सहभागी हुने घोषणा गरेकी छन्।
गीताञ्जलीका अनुसार यदि सांसदहरूले अस्पतालमै पुगेर वाङचुकलाई भेटेर संसद सत्रमा शिक्षा क्षेत्रको जवाफदेहिताको मुद्दा उठाउने आश्वासन दिएमा उनले अनशन तोड्ने तयारी गरेका छन्। यसैबीच, विपक्षी नेता तथा सामाजिक कार्यकर्ताहरूको अपिलमा ‘अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन’ का तीन सदस्यहरू नेहा, आमिन र मनिषले २३ दिन लामो भोक हडताल अन्त्य गरेका छन्।
सुरुमा यस आन्दोलनबाट दूरी बनाएका विपक्षी दलका नेताहरू पछिल्ला दिनहरूमा व्यक्तिगत रूपमा प्रदर्शन स्थल पुग्न थालेका छन् । दिल्लीका पूर्व उप-मुख्यमन्त्री सिसोदियाले आइतबार धरना स्थल पुगी “शिक्षा क्रान्ति” र “शिक्षा माफियामुक्त भारत” का लागि दलभन्दा माथि उठेर यस मार्चमा सहभागी हुन आह्वान गरेका छन् ।
समाजवादी पार्टी सांसदहरू प्रिया सरोज, राजीव राय र इकराम हसनले जंतर-मंतर पुगेर आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्। राजीव रायले समाजवादी पार्टीका कार्यकर्ताहरू पूर्ण रूपमा प्रदर्शनकारीको साथमा रहेको घोषणा गरे।
इन्डियन नेसनल कंग्रेस प्रवक्ता एवं राज्यसभा सांसद पवन खेडाले प्रदर्शनकारीहरूसँग भेट गरी उनीहरूको बिग्रँदो स्वास्थ्यलाई ध्यानमा राखेर अनशन तोड्न आग्रह गरेका छन् । प्रजातन्त्रमा शान्तिपूर्ण विरोध नागरिकको संवैधानिक अधिकार भएको उल्लेख गर्दै उनले सरकारलाई ‘राजधर्म’ पालन गर्न आग्रह गरे।






डिसी नेपाल





Facebook Comment