निर्मल पुर्जाको ट्र्याकिङ उपकरणमा मुभमेन्ट
काठमाडाैं। पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रड पिकमा गएको भीषण हिमपहिरोमा परी सम्पर्कविहीन भएका चर्चित कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित १० जना आरोहीको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।
पाकिस्तानको काराकोरम क्षेत्रमा रहेको आठ हजार ४७ मिटर अग्लो ब्रड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो जाँदा पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको हो।
बेपत्ता आरोहीहरूमा पुर्जासहित पाँच जना नेपाली, एक अमेरिकी, एक चिनियाँ, एक ओमानी, एक पाकिस्तानी र अन्य एक विदेशी नागरिक रहेका छन्। हिमपहिरोपछि टोलीसँगको प्रत्यक्ष सञ्चार सम्पर्क विच्छेद भए पनि निर्मल पुर्जाले बोकेको ट्र्याकिङ उपकरण (GPS Tracker) ले भने निरन्तर स्थान परिवर्तन (मुभमेन्ट) गरिरहेको संकेत देखाएको छ।
पुर्जाका व्यावसायिक साझेदार मिङ्मा ग्याबु शेर्पाका अनुसार हिमपहिरोले बगाएपछि रोकिएको ट्र्याकिङ संकेत पुनः अगाडि बढेको र स्थान परिवर्तन भइरहेको देखिएको छ। यसले आरोही जीवितै रहेको आशा जगाएको भए पनि अवस्थाबारे भने अझै आधिकारिक पुष्टि हुन सकेको छैन।
घटनालगत्तै आधार शिविरबाट दुई जना आरोहीलाई पैदल मार्ग हुँदै सम्भावित हिमपहिरो क्षेत्रतर्फ पठाइएको छ भने पाकिस्तानको अल्पाइन क्लब र सम्बन्धित सरकारी निकायको समन्वयमा मौसम अनुकूल हुनासाथ हेलिकप्टरमार्फत उद्धार टोली परिचालन गर्ने तयारी भइरहेको छ।
सन् २०१९ मा सात महिनाभन्दा कम समयमा संसारका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल चढेर विश्वकीर्तिमान कायम गरेका पूर्व बेलायती गोर्खा सैनिक पुर्जाको स्थिति थाहा पाउन सिङ्गो पर्वतारोहण क्षेत्र प्रतीक्षामा रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment