विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन
काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको पाकिस्तानस्थित ब्रड पिकमा आएको हिमपहिरोमा परी निधन भएको छ। उनको कम्पनीले शनिबार सामाजिक सञ्जालमार्फत शोक वक्तव्य जारी गर्दै पुर्जासहितका आरोहीहरूको निधन भएको पुष्टि गरेको हो।
ब्रड पिकमा बिहीबार बिहान ९:२० बजे गएको हिमपहिरोमा परी १० पर्वतारोही सम्पर्कविहीन भएका थिए। कम्पनीद्वारा जारी वक्तव्यअनुसार उक्त दुर्घटनामा पुर्जाका भरपर्दा आरोहण साझेदार तथा गाइड पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पा लगायत टोलीका अन्य सदस्यहरूको पनि ज्यान गएको छ।
कम्पनीले जारी गरेको वक्तव्यमा निम्सदाइलाई विश्व पर्वतारोहण क्षेत्रका एक महान्, साहसी, विनम्र र दृढ आत्मविश्वासका प्रेरणादायी नेताका रूपमा स्मरण गरिएको छ। उनको दूरदृष्टि र नेतृत्वले ‘एलिट एक्स्पेड’, ‘निम्सदाइ फाउन्डेसन’, ‘स्काइडाइभ निम्सदाइ’ र ‘निम्सदाइ स्टोर’ लाई आजको स्थितिमा पुर्याएको उल्लेख छ।
मृतक पर्वतारोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूका शोकाकुल परिवार, साथीभाइ तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरिएको छ र यो कठिन घडीमा परिवारको गोपनीयताको सम्मान गर्न सबैसँग अनुरोध गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment