चौधरी ग्रुपको वाइवाइका केही उत्पादनमा भारत सरकारले रोक लगायो
काठमाडौं । भारत सरकारले मङ्गलबार नेपाली अर्बपतिको कम्पनी ‘सीजी फुड्स’ लाई वाइ वाइ ब्रान्डका केही उत्पादनहरूको बिक्री तथा उत्पादन रोक्न निर्देशन दिएको छ।
एक अनुसन्धानका क्रममा कम्पनीको कारखानाले भुइँमा खसेका फुटेका चाउचाउ सङ्कलन गरी अस्वस्थकर ढङ्गले भारतीय खाजा (स्न्याक्स) बनाउन प्रयोग गरेको पाइएपछि भारतले सो कदम चालेको हो।
भारतभर हाल सञ्चालित अभूतपूर्व खाद्य सुरक्षा अभियानअन्तर्गत यो कारबाही गरिएको हो। अभियानअन्तर्गत केन्द्रीय तथा राज्यस्तरका अधिकारीहरूले खाद्य सुरक्षा, सरसफाइ वा लेबलिङमा त्रुटि भेटिएपछि डोमिनोज, पिज्जा हट र डियाजियो जस्ता साना-ठूला रेस्टुरेन्ट तथा ब्रान्डहरूमाथि कडा कारबाही गरिरहेका छन्।
नेपालका एकमात्र अर्बपति विनोद चौधरी नेतृत्वको ‘सीजी कर्प ग्लोबल’ अन्तर्गतको ‘सीजी फुड्स इन्डिया’ को पश्चिमी भारतीय राज्य राजस्थानस्थित कारखानाविरुद्ध शुक्रबार सो आदेश जारी गरिएको हो। चौधरीलाई ‘नूडल किङ’ (चाउचाउका राजा) को नामले समेत चिनिन्छ।
नियामक निकायको अनुसन्धान ‘वाइ वाइ’ ब्रान्डका दुईवटा ‘भुजिया’ उत्पादनमा केन्द्रित थियो। भुजिया भारतमा साना पोकाहरूमा बिक्री हुने र धेरै कम्पनीहरूले उत्पादन गर्ने एक लोकप्रिय मसिना चाउचाउजस्तै फ्राइड खाजा हो।
अनुगमनका क्रममा निरीक्षकहरूले ‘भुइँबाट सङ्कलन गरिएका फुटेका चाउचाउलाई तातो प्रक्रिया (हिट ट्रिटमेन्ट) बिना नै पुनः प्रशोधन गरी भुजिया बनाउन प्रयोग गरिएको’ भेट्टाएको भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआइ) ले सामाजिक सञ्जालमार्फत जनाएको छ।
यस विषयमा प्रतिक्रियाका लागि गरिएको अनुरोधमा ‘सीजी फुड्स इन्डिया’ ले तुरुन्तै कुनै जवाफ दिएको छैन।
प्राधिकरणका अनुसार कारखानाबाट ३२,००० किलोग्राम मौज्दात सामग्री र म्याद गुज्रिएका १,९२५ बाकस तयारी सामानसमेत जफत गरिएको छ। उक्त खाद्य उत्पादक कम्पनीविरुद्ध ‘कडा कानुनी कारबाही’ सुरु गरिएको एफएसएसएआईले थप जानकारी दिएको छ।
परीक्षणका लागि उत्पादनका नमुनाहरू पनि सङ्कलन गरिएको जनाइएको छ।
गत हप्ता भारतीय अधिकारीहरूले मुम्बईमा सञ्चालित एक गैरकानुनी धन्दामाथि छापा मारेका थिए, जहाँ पेप्सीको, नेस्ले लगायतका कम्पनीहरूले उत्पादन गरेका सक्कली खाद्य वस्तुहरूमा अन्य देशमा निर्यात गर्ने उद्देश्यले म्याद सकिने मिति र पोषणसम्बन्धी विवरणहरू झुटो राख्ने गरिएको रोयटर्सले जनाएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment