शहरी उत्थानशीलता परियोजनासम्बन्धी समझदारी

डिसी नेपाल
२४ मंसिर २०७६ २१:१२

पाेखरा । पोखरा महानगरपालिका र बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिएफआइडी)बीच नेपाल शहरी उत्थानशीलता परियोजना (सुदृढ) सञ्चालन समझदारी भएको छ । परियोजनाका माध्यमबाट महानगरको दिगो शहरी विकास तथा आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित महानगर प्रमुख मानबहादुर जिसी र डिएफआइडीको उत्थानशीलता तथा समावेशीता टोली प्रमुख साइमन लुकासबीच आज एक कार्यक्रमबीच परियोजना सञ्चालन समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।

विसं २०७७ वैशाखदेखि २०८० चैत्रसम्मको अवधिमा महानगरको दिगो शहरी विकासका लागि घरबास (होमस्टे) मापदण्ड, पर्यटन उद्योगको जनशक्ति आवश्यकता पहिचान, शहरोन्मुख वडामा औद्योगिकीकरण, पर्यटन प्रवद्र्धन र सीमान्तकृत वर्गलाई आयमूलक कार्यक्रममा परियोजनाले सघाउनेछ ।

परियोजनाले शहर तथा गाउँबीचको अन्तरसम्बन्ध तथा पर्यटन उद्योगमा लक्षित कार्यक्रम सञ्चालन अवस्थाको आँकलन तथा आर्थिक विकास योजना तर्जुमा गर्नेछ । स्थानीय सरकारको संस्थागत क्षमता विकासका लागि उपलब्ध जनशक्तिलाई सक्षम बनाउने र त्यसका माध्यमबाट सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित गर्दै दिगो शहरी विकासका लागि डिएफआइडीले महानगरलाई प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।

त्यसैगरी डिएफआइडीले परियोजना सञ्चालन तथा प्राविधिक सहयोगअन्तर्गतका क्रियाकलापहरु सञ्चालनका लागि खर्चको प्रबन्ध गर्ने तथा नगरपालिकाको भूधरातलअनुसार भवन निर्माण मापदण्ड अद्यावधिकीकरण, विद्युतीय नक्सापास प्रणालीको सुदृढीकरण र अनुगमन गर्ने प्रणालीको स्थापनामा समेत सहयोग गर्ने सझदारीमा उल्लेख छ । महानगरले परियोजना सञ्चालनका लागि योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमनका लागि सहयोग गर्नेछ ।

कार्यक्रममा नगर प्रमुख जिसीले साझेदारीसँगै महानगरलाई आवश्यक प्राविधिक जनशक्ति डिएफआइडीबाट उपलब्ध हुने भएकाले सडक, भवन, खानेपानीलगायतका पूर्वाधार विकासका योजना दिगो र सुरक्षित तरिकाले अघि बढाउन सहयोग पुग्ने बताए । टोलीप्रमुख लुकासले पर्यटकीय नगरी पोखराको विकासका लागि एकीकृत आर्थिक विकास योजना आवश्यक रहेकामा जोड दिँदै यहाँको विकासमा सहभागी हुन पाउँदा बेलायत सरकार खुशी रहेको बताए ।

उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरालाई समृद्ध तुल्याउने योजनाअनुसार परियोजना शुरु भएकाले सबै पक्षबाट सहयोग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । परियोजनाका आर्थिक तथा राजनीतिक सल्लाहकार एवं नेपाल सरकारका पूर्वसचिव कृष्ण ज्ञवालीले वातावरणमैत्री विकासका माध्यमबाट आर्थिक अवसर सिर्जना र अवसरको विविधीकरणको उद्देश्य परियोजनाको रहेको स्पष्ट पारे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *