उपराष्ट्रपति पुन ‘पानी जहाज’मा सरर

डिसी नेपाल
१० माघ २०७६ २१:३६

भरतपुर। नारायणी नदीमा सञ्चालनको तयारीमा रहेको क्रुज (सानो पानी जहाज) मा शुक्रबार उपराष्ट्रपति नन्दकिशोर पुनले परीक्षण शयर गरेका छन्। क्रुजको निरीक्षणपछि नारायणी नदीमा केही समय उपराष्ट्रपति पुनसहितको टोलीलाई क्रुजमा यात्रा गराइएको थियो ।

भरतपुर महानगरपालिका–१६ स्थित काभ्रेघाटमा नदी किनारमा क्रुज निर्माण कार्य अन्तिम चरणमा पु¥याइएको छ। औपचारिक शुभारम्भअघि नै उपराष्ट्रपति पुनलाई परीक्षण शयर गराइएको हो। सो अवसरमा पुनकी धर्मपत्नी हस्तमाया पुनसहित उपराष्ट्रपतिको सचिवालयका कर्मचारीहरु पनि सहभागी थिए।

क्रुजको निरीक्षण र शयरपछि उपराष्ट्रपति पुनले खुशी व्यक्त गर्दै राम्रो कार्यको थालनी भएको प्रतिक्रिया दिए। पत्रकारको प्रश्नमा उनले भने, ‘राम्रो छ। राम्रो भइरहेको छ। अन्य कुरा पछि भनौंला।’

उपराष्ट्रपति पुनलाई क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्टमेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले क्रुजका बारेमा जानकारी गराएका थिए। कँडेलका अनुसार क्रुज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। आगामी वैशाख महिनाभित्रमा क्रुजलाई नियमित सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

क्रुजको भुइँतल्लामा ९०, पहिलो तल्लामा १०० जना बस्न मिल्ने सिट रहने छन्। कँडेलका अनुसार पहिलो तल्लाको अगाडिपट्टि र दोस्रो तल्लाको खुला ठाउँमा १५ जना उभिन मिल्ने छ भने पहिलो तल्लामा १० वटा विशिष्ट व्यक्तिका लागि कुर्ची राखिने छ। क्रुज १०० फिट लम्बाइ र २५ फिट चौडाइको हुनेछ।

क्रुजमा बिहानको खाजा खाँदै नदीमा शयर गर्न चाहनेले त्यसको मज्जा लिनेछन् । अपराह्न खाना नै क्रुजमा खाँदै रमाउन चाहनेका लागि दिवा खाना नै क्रुजमा हुनेछ र साँझमा डिनर क्रुज हुने कँडेलले बताए। काभ्रेघाटदेखि शुरु यात्रा देवघाट पुगेर गोलाघाटसम्म २५ किलोमिटरको दूरी रहेको यो जलयात्राका लागि करीब तीन घण्टाको समय लाग्ने बताइएको छ।

क्रुजको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीका साथ क्रुज निर्माण र पूर्वतयारी गरिरहेको कँडेलले बताए। क्रुज सञ्चालनका लागि आवश्यक प्राविधिक र अन्य कर्मचारी हाललाई विदेशी हुनेछन्।
दीर्घकालीनरुपमा नेपाली जनशक्ति नै उत्पादन गर्नको लागि आवश्यक तालीम केन्द्र सञ्चालन गर्ने कँडेलले बताए।

क्रुज जल प्रवाहको मापन, प्रकोपका चुनौतीको अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कनपश्चात् नर्वेजियन प्रविधिको प्रयोगबाट भारतीय प्राविधिकको सहयोगमा नारायणी नदी किनारमै निर्माण गरिएको हो। क्रुजको निर्माण भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेशनलले गरिरहेको छ। क्रुजमा दुई वटा इञ्जिन रहेका छन्। क्रुजको गति प्रतिघण्टा ३५ किलोमिटर हुनेछ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *