महान फुटबल खेलाडी पेले अचेल घरबाहिर निस्किँदैनन्

डिसी नेपाल
२८ माघ २०७६ ११:०७

ब्रासिलिया (बीबीसी)। ब्रजिलका महान् फुटबल खेलाडी पेले अचेल बिनासहारा हिँडडुल गर्न नसक्ने स्थितिमा भएको उनका छोराले बताएका छन्। छोारा एडिन्योका अनुसार पेले घरबाहिर निस्किन पनि सङ्कोच मान्छन्।

तीन पटक विश्वकप विजेता तथा अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट फुटबल खेलाडी मानिएका पेलेलाई गत वर्ष मूत्रनलीमा सङ्क्रमण भएपछि अस्पताल लगिएको थियो। उनन्सत्तरी वर्षीय पेलेलाई केही समययता कम्मरमा समस्या देखिएको छ। उनलाई हिँडडुल गर्न फ्रेमको सहारा आवश्यक पर्छ।

केही समययता सार्वजनिक समारोह सहभागी हुन जान उनले ह्वीलचेयर प्रयोग गर्ने थालेका थिए। “उहाँ अचेल एकान्तप्रेमी अनि बाहिर निस्किँदा आफ्नो अवस्थाका कारण लजाउने हुनुभएको छ,” छोरा एडिन्योले टीभी ग्लोबोलाई बताए।

पेलेका कीर्तिमान

आफ्नो २१ वर्ष लामो फुटबल जीवनका क्रममा पेलेले १,३६३ खेलमा १,२८१ गोल गरेर विश्व कीर्तिमान बनाएका थिए। सो अवधिमा उनले ब्रजिलका लागि ९१ खेलमा ७७ गोल गरे। आगामी जुन महिनामा पेलेले आफ्नो अन्तिम विश्वकप फाइनल जितेको ५० वर्ष पुग्दैछ। मेक्सिकोमा भएको उक्त खेलमा सहभागी ब्रजिलको टोलीलाई कतिपयले हालसम्मकै उत्कृष्ट टोली भन्ने गर्छन्।

पेलेलाई के भएको छ?

पछिल्ला वर्षहरूमा उनको स्वास्थ्यमा विभिन्न समस्या देखा परेका छन्। सन् २०१५ मा उनको प्रोस्टेट अर्थात् पौरुषग्रन्थिको शल्यक्रिया गरिएको थियो। “उहाँ महान् व्यक्तित्व हुनुहुन्थ्यो, तर आज राम्ररी हिँडडुल गर्न सक्नुहुन्न,” एडिन्योले भने।

“उहाँलाई अचेल सङ्कोच लाग्छ, उहाँ बाहिर जान चाहनुहुन्न, देखिन चाहनुहुन्न। उहाँ कमजोर हुनुभएको छ।” “कम्मर प्रतिस्थापन गरियो तर पर्याप्त पुनर्स्थापना हुन सकेन। त्यसैले हिँडडुल गर्दा समस्या हुन्छ र उहाँमा एक किसिमले डिप्रेशनजस्तो भएको छ,” उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *