इन्स्पेक्टरमाथि आइजीपी बनाउने खेलको आरोप

डिसी नेपाल
२४ फागुन २०७६ १०:०१

प्रिय (नेपाल प्रहरी),

हिजोजस्तो लाग्छ तिमीसँग भेट भई सम्बन्ध गाँसेको, हेर्दाहेर्दै २० बर्ष पुगी २१ लागिसकेको पत्तै भएन । यस दौरान समयसँगै धेरै परिवर्तन भए, विभिन्न बाधा अवरोध हुँदा पनि तिमीसँग सुमधुर सम्बन्ध कायम नै रहिरह्यो जसका लागि तिमीलाई अन्तरमनबाटै धन्यवाद नदिईरहन सक्दिन । तिम्रो साथ रहँदासम्म यदाकदाबाहेक सधै खुशी नै भइरहें । तिम्रा इच्छा र उद्देश्य प्राप्तिका लागि सधै सकारात्मक भूमिका निर्वाह नै गरेजस्तो लाग्छ । गरें गरिन तिमी नै जान । स्वभावले नै मान्छे स्वार्थी प्राणी हो तसर्थ मेरा आवश्यकताहरु पूरा गर्न अब तिम्रो साथ रहिरहन सकिन । अतः तिमीसँगको सम्बन्धमा पूर्णविराम लगाउँदै पारपाचुके गर्ने निर्णय गरें । तिम्रो लक्ष्य प्राप्तिका उद्देश्यहरु सधैं सही बाटोमा हिँडिरहोस् । तिम्रो शान र मानमा कमी कहिले नआओस । यस यात्रामा साथ दिने उदार मनहरुलाई हृदयबाट नै कोटीकोटी नमन गर्दै विदा हुन्छु । सन्दर्भ जागिर ।

माथिका हरफहरु २०७५ असार ३२ गते सामाजिक संजाल फेसबुकमा लेखेर सम्प्रेषण गरेको थिएँ । २०वर्ष ३ महिना १३ दिन नेपाल प्रहरीमा सेवारत रही दुई दिनअघि मैले दिएको राजीनामा स्वीकृत भएको थियो । राजीनामा दिनु मेरो रहर थिएन न कुनै पूर्वयोजना नै । साथै माथिका शब्दहरु लेख्दै गर्दा मेरा औलाहरु नकामेका होइनज्, मन नभक्कानिएको पनि होइन, छातीभित्र पीडाले उकुसमुकुस नभएको पनि होइन, कतै कतै गलत पो गरें कि भन्ने नभएको पनि होइन तर पनि मेरो विकल्प थिएन वा तत्काल मैले देखिन । यो सबै महसुस किन भैरहेको थियो भन्दा मैले मेरो जीवनमा चाहेका केही प्रिय लाग्ने बिषयहरुमध्ये एक अपराधको अनुसन्धान गर्ने कार्यसँग टाढा भैसकेको थिएँ, टाढा पु¥याइएको थिएँ । शायद यो वियोगको पीडा थियो त्यो पनि इच्छाविपरित ।

२० वर्षे जागिरे जीवनमा दश वर्ष सामान्य प्रहरीकै हैसियतमा विभिन्न ईकाईमा कार्यरत रही जानेसम्म इमान्दारिताकै साथ काम गरियो । २०६५ सालमा उपेन्द्र देवकोटाको छोरी अपहरण मुद्दा अनुसन्धानमा खटिएका तत्कालीन प्र.नि. कृष्ण कोइरालासँगको भेट झापाको सुरुङामा भयो त्यही भेट नै मेरो लागि अपराधको अनुसन्धानको क्षेत्रमा हिँड्ने अवसर बन्यो । उहाँको पहलमा अपराध महाशाखा हनुमानढोकामा एकल सरुवा भई मङसिर महिनादेखि अपराधको अनुसन्धानको जिम्मेवारी लिई काम शुरु गरियो । डा. भक्तमान श्रेष्ठको अपहरण घटना नै मेरो लागि अनुसन्धानकर्ताको रुपमा पहिचान दिलाउने पहिलो खुटकिलो बन्यो ।

फिरौती वापतको साढे तीन किलो सुन भारतको कानपुर लिएर गई अपहरणकारीलाई बुझाएपश्चात डा. भक्तमानको सकुशल रिहाई पछि उक्त घटनाको सफल अनुसन्धान गरियो । तत्पश्चात राजीनामा दिँदाको समयसम्म कहिल्यै पछाडि फर्किनुपर्ने अवस्था आएन र एकपछि अर्को सफलता हात लाग्दै गए । मलाई दिएका अनुसन्धानका जिम्मेवारी मैले मेरो बलवुताले भ्याएसम्म इमान्दारिताका साथ निर्वाह गरेको थिएँ ।
एउटा महत्वपूर्ण तथ्य के हो भने अनुसन्धान एक व्यक्तिले मात्र गर्न कदापि सम्भव हुदैन समुहकै उत्कृष्ट भूमिका हुनुपर्दछ तर कुनै एकजनाको अहम भूमिका चाहि पक्कै हुने गर्छ । यो मेरो अनुभव हो । धैरै जना अब्बल सहकर्मीहरु जो एकै प्रकृतिका थियौं यहाँ सबैको नाम उल्लेख गर्न नमिल्ला तर म सधै उहाँहरुप्रति आभारी छु । तर, अपराध अनुसन्धानको क्षेत्रमा धेरै काम गरेर मुलुकलाई थप योगदान दिने मेरो महत्वाकांक्षा हठात् रोकियो, म राजीनामा दिन बाध्य बनाइएँ ।

यहाँ प्रश्न उठ्ला राजीनामा दिनेबित्तिकै किन यो लेख आएन ? अहिले यो कुरा भन्नुको उद्देश्य के त ? उद्देश्य हो, भविष्यमा कुनै पनि इमान्दार र कर्तव्यनिष्ठ राष्ट्रसेवकले कुनै एक व्यक्तिको दम्भका कारण असुरक्षित महसुस गरी कर्तव्यपालना गर्ने कार्यबाट विचलित हुनु नपरोस् । यो राज्यको लागि पनि मेरो सुझाव हो । यसमा राज्य संचालन गर्नेहरुको पनि ध्यान जानु अत्यन्त जरुरी छ । मलाई लाग्छ हरेक संगठनमा ५० प्रतिशत इमान्दार र ५० प्रतिशत बेइमान सदस्यहरु हुन्छन्, जसमा इमान्दारले संगठनको गरिमा कायम गरेका हुन्छन् भने बेइमानहरुले बदनाम गरिरहेका हुन्छन् । अब कुनचाहिं प्रतिशतलाई बृद्धि गर्ने हो त्यो सम्बन्धित निकायले नै बुझ्न जरुरी छ।

प्रहरी महानिरीक्षकको निवासमा बिहानको समय भेटघाटको लागि हुने गर्छ । प्रहरी कर्मचारी आफ्ना समस्या राख्न जाने प्रचलन अनुसार म पनि नयाँ नियुक्त आइजीपी सर्वेन्द्र खनाललाई शुभकामना दिन र सरूवा माग गर्न गएको थिएँ । दर्जाअनुसार पालो आयो, जय नेपाल गरेंसँगै बधाई तथा शुभकामना दिएँ । सर फोनमा व्यस्त हुनुहुन्थ्यो । संवाद सकियो म उभिरहेको थिएँ । फेरि मैले भनें सर यो तेस्रो पटकको प्रयासमा भेट्ने मौका मिल्यो । लगभग२०–२२ दिन भैसकेको थियो नियुक्ति पाउनुभएको । फोन राख्नासाथ उहाँको पहिलो प्रश्न म इन्स्पेक्टरलाई गरियो– ‘एउटा कुरा भन त पुष्कर कार्कीलाई (आईजीपीको लागि प्रतिस्पर्धी प्रमनिज्युकै व्याचमेट) आईजीपी बनाउन कत्तिको लागियो ?’

यो सुनेर म चकित भएँ । जुन कुराको कल्पना समेत गरिएको हुन्न उक्त बिषयको अप्रत्याशित सामना गर्दा मानिसले कस्तो महसुस गर्छ ? मैले नि त्यही अनुभव गरें अनि तुरुन्तै सम्हालिँदै भनें सर म नितान्त संगठनको काम गर्ने सदस्य हो, सिआइबीमा सात जना डिआईजी सरहरुसँग काम गरें, दुईजना आईजीपी हुनुभयो म व्यक्तिपछि लागिन निरन्तर काम गरिरहें , कसैले सोध्ने गर्थे आईजीपी को हुन्छ भनेर । मैले सबै सरहरू सक्षम हुनुहुन्छ जो भए नि संगठनलाई राम्रो हुन्छ भनी जवाफ दिने गर्थें ।

मैंले एकै सासमा यति भनिसकेपछि उहाँले यो कुरा तिमीलाई नभनेको भए पनि हुन्थ्यो, भनिहालें भन्नुभयो । अनि अरु के छ ? भनी सोध्नुभयो । यसपश्चात मनमनै यस्तो कुरा गर्ने मान्छेसँग के सरुवा माग्नु भो होस् भन्ने पनि लाग्यो । फेरि संगठन प्रमुख भनेको पितासमान हो आफ्नो समस्या राख्दा केही हुन्न भन्ने ठानेर आफ्ना कुरा सुनाएँ, सर म अनुसन्धान क्षेत्रमा लामो समय बसे, परिवारसहित काठमाडौं ८–९ बर्ष बस्दा १२–१५ लाख ऋण लाग्यो, युएन मिसन गएर आए ऋण तिरें अब तलबले काठमाडौंको महंगाईमा परिवार धान्न गाह्रो भयो र बाबुहरुको पढाइ पनि झापातिर सारें सर, एक कार्यकाल मलाई मोरङको उर्लाबारी ईलाका प्रहरी कार्यलयमा सरुवा गरिदिनुपर्यो, म दमकमा घर बनाएर परिवार राख्छु, म त्यहीबाट पनि यहाँका अनुसन्धान गर्न सक्छु सो कार्यकालपछि जहा भने नि जान तयार छु भनी आफ्ना कुरा राखें । अनि उहाँले हुन्छ तिमी काम गर्ने व्यक्ति हौ म सरुवा गरिदिन्छु भन्नुभयो । मलाई निवर्तमान आईजीपी प्रकाश अर्यालले नै काज आदेश दिइसक्नुभएको थियो तर चाडै नै नयाँ आईजी हुने समय भएको हुँदा नियुक्ति भएपश्चात नै जानु उचित होला भनी तत्काल सो निर्णयलाई आफैले रोक्न लगाएँ । मलाई के विश्वास थियो भने मैले विशुद्ध संगठनको लागि काम गरेको कर्मचारी सबैले माया गर्छन् । भावी आईजिपी जो भए नि सबैसँग राम्रो चिनजान छ । यो पहिचान सबै मैले गरेको कामले नै बनाएको हो भन्ने विश्वास थियो मलाई ।

नेपाल प्रहरीभित्र सिआइबीको दिपेन्द्र अधिकारी कुनै अपरिचित नाम थिएन । जमिम शाह, फैजान अहमद, गंगाविशन राठी र चन्द्र चुडाल, सदरुल मिया, रणबहादुर बम, रानीबारी लगायतका कर्तब्य ज्यान, जनकपुर बम ब्लास्ट, बबरमहल बम ब्लास्ट, शक्ति बस्नेत (हालका वनमन्त्री) लाई गोली हानिएको प्रकरण, शालिकराम जमकट्टेललाई भएको आक्रमण, संजय सुरेखा, महेश सारडा, बाबुरावा रावल, निरज कक्षपती, बैंककमा तीन नेपाली विद्यार्थीहरु लगायतका अपहरण जस्ता जटिल प्रकृतिका मुद्दाहरुको सफल अनुसन्धान तथा उक्त घटनाहरुमा संलग्न अभियुक्तहरुलार्ई नेपालभित्र र अन्य देशमा अन्तर्राष्ट्रिय प्रहरीसँग समन्वय गरी पक्राउ गरी कानुनी कठघरामा उभ्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थिएँ ।

जहाँ गएपनि सबैबाट सधै सम्मानजनक व्यबहार नै प्राप्त हुन्थ्यो । नेपाल जेसिसबाट बर्ष २०११ को उत्कृष्ट युवा घोषित, राष्ट्रपतिबाट पदक, नेपाल सरकार मन्त्रिपरिषदको निर्णयले नगद पुरस्कार, प्रहरी दिवसमा प्रहरी महानिरीक्षकबाट सर्वोत्कृष्ट अनुसन्धानकर्ता, उत्कृष्ट अनुसन्धानकर्ता लगायत दर्जनौ पुरस्कार र सम्मानहरु शायद मेरो कामले गर्दा नै प्राप्त भएको हो र सवैमा के जानकारी पनि होस् भने यी सबै पुरस्कारमा मैले कहिले चासो राखिन । समयसँगै आफै स्वतः प्राप्त भए त्यसैले पनि एकप्रकारको हिम्मत आफुमा रहिरहेको थियो । अन्त्यमा त्यो सोच नै गलत रहेछ भन्ने भयो । जतिबेला मसमेत सिआइबीका साथीहरूसँग फुटसल खेलिरहेका थियौ । (प्रत्येक शुक्रबार कार्यलय समयपश्चात फुटसल खेल्ने गर्दथ्यौ)

४०० जना प्रहरी निरीक्षकहरुको सरुवा भयो तर तपाईको त नाम छैन दाइ भन्दै अफिसबाट सहकर्मीको फोन आयो म चकित भएँ । सचिवालयमा कार्यरत एकजना सिनियर सरसँग पुष्टि गरें खै मलाई त थाहा छैन तर नभएकोमा दुखी छु भन्नुभयो । कर्मचारी प्रशासन शाखामा कार्यरत एक निकट साथीलाई सोधें यहाँबाट त नाम गएकै हो खै किन भएन अब आफै कुरा बुझ न भन्ने जवाफ आयो । मैले नि बुझें प्रमनिज्युको टेबलमा पुगेर नाम काटिएको हो भन्ने अनुमान लगाउन गाह्रो परेन । त्यतिबेला तनाव अलि बढी नै भाको हो मलाई एकदुई दिन । किनकि आफ्नो योजना अनुसार अब अगाडि काम नहुने भन्ने भयो । फेरि प्रायः सबै साथीहरुलाई सरुवा हु्न्छ भन्ने नै रहेछ जसको जवाफ मैले नै दिनुपर्यो तर आफैलाई सरुवा नभएको वास्तविक कारण थाहा थिएन । केही समयपश्चात यसलाई नि सामान्य रुपमा ग्रहण गरेर अघि बढिरहेको थिएँ । उक्त समयमा हाल निर्मला केसमा निलम्बित प्रनाउ अंगुर जिसी, म र प्रनानि रमेश बजगाईं (जसलाई पछि बिना कारण ट्राफिक प्रहरीमा काज सरुवा गरियो, उनी ट्राफिक भन्दा नि सिआईबीकै लागि उपयुक्त प्रहरी अधिकृत हुन्) समेत भएर नख्खु कारागारमा भएको कैदीको अप्रत्याशित मृत्युको अनुसन्धान गरिरहेका थियौ । अनुसन्धान सकिएको थियो तर अभियोजनको प्रकृया शुरु भैसकेको थिएन खै केमा अल्झिएको थियो । एकदिन सिआईबीमा कार्यरत एसपीसाबले बोलाएर ‘ल अभियोजनको काम शुरु गर्नुपर्यो भाइ, तिमी अनुसन्धान अधिकृत बस्नु भन्ने डिआइजी सरको आदेश छ भन्नुभयो ।

म आफू विदा जाने योजनामा थिएँ । युएन मिसनबाट फर्किएको दुईदिनमा नै निर्माण व्यवसायी संघका अध्यक्षको गोली हानी हत्या भयो । तत्कालीन आईजीपी प्रकाश अर्याल सरले घटना भएकै बेलुका आठ बजेतिर फोन गरी ल तपाई फर्किएसंगै दुई तोपको सलामी पाइहाल्नुभयो अब अनुसन्धानको जिम्मा पनि लिनुहोस् भन्नुभयो । वास्तवमै आफुलाई गौरवान्वित भएको ठानें करिब ७० हजारको संख्यामा रहेको संगठनका प्रमुखले फोन गरेर अनुसन्धानको जिम्मा दिनु सानो कुरा थिएन । छुट्टै उत्साह छाएको थियो मनमा फेरि एकपटक आफैलाई प्रमाणित गर्ने अवस्था आएको थियो । मलाई भोलिपल्टै केन्द्रीय अनुसन्धान ब्युरो रवाना गरियो । अबभन्नुहोस के म प्रकाश अर्यालको मान्छे भएँ या सिआइबीमा कार्यरत डिआइजी पुष्कर कार्कीको ? क्रमश…..




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *