अमेरिका खुल्ला गराउने मार्गनिर्देशन जारी

डिसी नेपाल
२४ वैशाख २०७७ १:४८

वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई फेरि खुल्ला राख्न संघीय सरकारका तर्फबाट मार्गनिर्देशन  जारी गरेका छन् । अप्रिल ५ तारिक मंगलबार राष्ट्रपति कार्यालयद्वारा जारी सो गाइडलाइनमा मुख्य तीन फेजहरु उल्लेख गरिएका छन् । जनस्वास्थ्य विज्ञहरुसंगको परामर्शपछि यसरी अमेरिकालाई फेरि खुल्ला गराउने मार्ग निर्देशन जारी गरेको ह्वाइट हाउसद्वारा जारी सूचनामा उल्लेख छ ।

मार्गनिर्देशनमा जारी विभिन्न तहगत कार्यहरुले अमेरिकाका राज्यहरु र स्थानीय अधिकारीहरुलाई ती राज्य र स्थानीय तहको अर्थतन्त्र खुल्ला गरी मानिसहरुलाई काममा फर्काउने र अमेरिकीहरुको जीवनको निरन्तर रक्षा गर्ने कुरालाई सहयोग गर्ने ठहर ह्वाइटहाउसले गरेको छ ।

यी फेजहरुमा अमेरिकालाई खुल्ला गर्न मापदण्डहरु दिइएको छ र ती मापदण्डहरु पूरा गरेर आआफ्नो राज्य वा काउण्टीहरुलाई खुल्ला गर्न सकिने र त्यो निर्णयको अधिकार सम्बन्धित राज्यको गभर्नरको हुने उल्लेख गरिएको छ । अर्थात् गभर्नरहरुले आआफ्ना राज्यहरु कहिलेदेख खुल्ला गर्ने भन्ने मिति तय गर्नेछन् । पहिलो फेजमा नागरिकहरुले के गर्ने, रोजगारदाताले के गर्ने र अस्पतालको व्यबस्था के हुने भन्नेबाट शुरु भएर तेस्रो फेजमा पुग्दा विस्तारै सामाजिक गतिविधहरु पनि अघि बढाउने सम्मका प्रावधानहरु ह्वाइटहाउसको मार्ग निर्देशनमा उल्लेख गरिएका छन् ।

भाइरल इन्फ्लुइन्जाको र कोभिडका लक्षणहरु नागरिकहरुमा १४ दिनभित्र घटेमा, परीक्षण गर्दा संक्रमितहरुको संख्या घट्दै गएमा र अस्पतालहरुमा क्राइसिस केयर विनौ उपचार गर्ने स्थितिजस्ता विषयहरु पूरा गरेपछि अमेरिका खुल्ला गर्न गर्भनरले निर्णय गर्न सक्ने कुरा सो मार्गनिर्देशनमा उल्लेख छ । हरेक फेजमा हाल रोग नियन्त्रण केन्द्र अमेरिकाबाट जारी भएका मास्कको प्रयोग, हात धुने विधि, सामाजिक दुरी कायम राख्दै तिनीहरुलाई प्रकोपको अवस्था हेरी खुकुलो पर्दै लगेर अमेरिकालाई पूर्णरुपमा पूर्ववत अवस्थामा फर्काउने कुरा सो मार्ग निर्देशनमा उल्लेख गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *