बाँकेको खजुरामा ५८ करोडको खेलकुद ग्राम निर्माण शुरु

डिसी नेपाल
२० जेठ २०७७ १३:३३

काठमाडौं । सरकारको एक गाउँपालिका एक खेलकुद ग्राम निर्माण गर्ने नीति तथा कार्यक्रममा बाँकेको खजुरा गाउँपालिकामा ५८ करोडको लागतमा खेलकुद ग्राम निर्माण कार्य शुरु गरिएको छ । खजुरा गाउँपालिकाको वडा–२ सितापुर शुक्र भलिवल स्टेडियममा सो खेलकुद ग्रामको निर्माणको काम शुरु गरिएको गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपतिले जानकारी दिए ।

उनले खेलकुद ग्राम निर्माणको लागि ५७ करोड ८७ लाखको डिपिआर अनुसारको रकम खर्च गरिने जनाउँदै निर्माण कार्य शुरु गरि सकिएको बताए । उक्त आयोजना अन्तर्गत सीतापुरमा राष्ट्रिय मापदण्डका फुटवल मैदान, पौडी पोखरी, बहुउदेश्यीय कर्वडल, जिमहल, पार्किगं, आवासिय भवन बन्ने उनले जनाए ।

सो ग्राम निर्माणका लागि लाग्ने रकम मध्ये सरकारले चालू आर्थिक वर्षमा ५० लाख रकम बिनियोजन गरेको र सोही रकमबाट काम शुरु गरिएको अध्यक्ष कक्षपतिले बताए । आठौ राष्ट्रिय खेलकुद २०७५–०७६ मा खजुरामा भलिवल, फुटबल, महिला हक्कि र बक्सिङ स्थानीय रुपमा सफल आयोजना भएको थियो ।

२०६८ सालबाटै खजुरामा खेलकुद ग्रामको लागि पहल थालिएको जनाउँदै अहिले आएर खेलकुद ग्रामको योजना कार्यान्वयनमा आएकोमा खुशी लागेको खेलकुद विकास समिति प्रदेश नम्बर ५ का निवर्तमान अध्यक्ष भिम ओलीले बताए ।

उनले भने, ‘खेलकुदबाट खजुरालाई चिनाउने गरी तयार भएको ड्रिम प्रोजेक्ट कार्यान्वयनको चरणमा पुग्दा निकै खुसी लागेको छ ।’ गाउँपालिकाका अध्यक्ष कक्षपतिले खेलकुद क्षेत्रलाई विषेश प्राथमिकता दिएको बताउँछन । स्थानीय वडा र क्लवहरुले पनि खेलकुद गतिविधिलाई बढावा दिएका छन् । खजुरामै केही दिन पहिले मात्रै ब्याडमिन्टनको कभर्डहलको निर्माण पनि शुरु गरिएको छ ।

गोरखापत्र




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *