प्रेमपत्र (कविता)

डिसी नेपाल
२३ जेठ २०७७ १५:५२
8
Shares

धेरै दिन भयो मेसेन्जरमा तिम्रो टेक्स्ट न’आको
शब्दहरुको आदान प्रदानमा
मीठो  साथको अनुभूति हुन्थ्यो
“मिसिङ्ग यू”
तिम्रो यति मात्र टेक्स्टले
म रोमाञ्चित हुन्थें
पुलकित हुन्थे
मलाई लाग्थ्यो
कोही त छ मलाई सम्झने
म ठान्थें
कोही त छ जो मसँग नभएर पनि
मसँगै छ

तिमी टेक्स्टमा यसरी हराउँथ्यौ मसँग
शायदै त्यसरी
फ्यानी ब्रन
मैनबत्तीको मधुरो प्रकाशमा
जोन किट्ससँग हराएकी थिई

तिम्रो लामो टेक्स्टहरु
मेरो लागि प्रेमपत्र हुन्थ्यो
एमिली डिकिनसनले
सुसन गिलबर्टलाई
या जुलिएट ड्रुईले भिक्टर ह्यूगोलाई लेखेजस्तो
जुन म पछि दोहोर्याई तेहर्याई पढ्थें
र आफ्नै अर्थहरु लगाएर बिभोर हुन्थें

तिम्रो टेक्स्टहरुको स्क्रीनशटहरु
तिम्रो नामको एउटा फोल्डरमा राखेको छु
प्रेमपत्रहरु सम्हालेर राखेजस्तै
तिम्रो प्रत्येक शब्द
मेरो लागि अनमोल छ

तर
धेरै दिन भयो मेसेन्जरमा तिम्रो टेक्स्ट न’आको
अब तिमी चाहदैनौ
मलाई टेक्स्ट गर्न
मलाई पनि टेक्स्ट नगर्न
सावधान गरेकी छौ
र यो सब अनायास भएको छ
तिम्रो विवशताको नाममा

तिमीलाई अनलाईन देखेर
चित्त बुझाउँछु
फेरि अधीर हुन्छु
तर तिमीलाई टेक्स्ट गर्न खोज्दा
मेरो औंलाहरु
स्वतः रोकिन्छन्
कहिले केही शब्दहरु लेखेर
डिलिट गर्छु

तर स्वभावतः बेलाबेला मेसेन्जरमा हेर्छु
कतै तिम्रो टेक्स्ट आयो कि
अर्थात प्रेमपत्र !!


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *