झारिएका फूलहरु
विजय शिवाकोटी
अस्तित्वको सुगन्ध लिई फूलेका
त्यति राम्रा फूलहरु
किन झार्छ बतासले?
स-साना कोपीलाहरु
अनि ढकमक्क फक्रिएका फुलहरु
जब मेरै अगाडि निर्दयी बतासले झारिदिन्छ
तब म आँफैलाई प्रश्न गर्छु –
किन झार्छ बतासले
त्यति राम्रा फूलहरु?
ध्यानमग्न फूलहरुको
शान्ती भंग गर्दै
निर्मम हातहरुले
फूलहरु निमोठ्दै मान्छेहरु हिंडेको देख्दा
मलाई जुन पीडा हुन्छ
त्यो शब्दातित् छ
म आँफैलाई प्रश्न गर्छु –
अपराध के थियो त्यो फूलको?
केही दिन अघि मात्र
मिनियापोलिसको एउटा सडकमा
जिन्दगीको अपूर्व रङमा फुलेको
जर्ज फ्लोईड नामक एउटा फूल
क्रुरतापुर्वक
झारिदियो रङभेदको बतासले
बिना कुनै कसूर
त्यस्तै परारको बर्ष कंचनपुरमा
निर्मला पन्त नामको एउटा कोपिला
फुल्न नपाउदै निमोठिई
कसैको कुदृष्टी परेर
बिना कुनै दोष
यस्ता अनगिन्ती सुन्दर फूलहरु
झारेका छन्
कतै बिभेद्को हुरीले
कतै आबेगको आँधीले
म फूलहरुमा निर्मला र जर्जहरुलाई
देख्छु
त्यसैले कतै फूल झरेको देख्दा
टिपेर फेरि
हाँगामा गासिदिउँझै लाग्छ
No ads found for this position

डिसी नेपाल
Facebook Comment