स्वदेश फर्कन नपाएपछि कुवेतमा नेपाली आक्रोशित, सेल्टरबाटै प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी
काठमाडौँ । कुवेतमा आममाफी पाएर स्वदेश फर्कने दिन कुरेर बसिरहेका नेपालीले आफूहरु स्वदेश फर्कन नपाएको भन्दै नेपाल सरकारप्रति आक्रोश पोखेका छन् ।
उनीहरुले शनिबार साँझ कुवेतको सेल्टरबाटै नेपालका प्रधानमन्त्री केपी ओली, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र कुवेतस्थित नेपाली दूतावासविरुद्ध नारावाजी गरेका छन् ।
नेपाल सरकारले आममाफीको फाइदा उठाउन नसकेको भन्दै सेल्टरमै केपी ओली मुर्दाबाद, परराष्ट्र मन्त्री मुर्दाबाद, नेपाली राजदूतावास मुर्दाबाद भन्दै उनीहरुले चर्काे नाराबाजी गरेका थिए । तर, उनीहरुले कुवेत सरकारको भने तारिफ गर्दै कुवेत सरकार जिन्दावाद भनेर नारा लगाएका थिए ।
‘हामीलाई स्वदेश फर्काउने खर्च नेपाल सरकारले व्यहोर्नुपर्दैन,’ आक्रोशित एक युवाले भने, ‘कुवेत सरकार आफैँले चार्टर गरेर पठाउने हो। तर पनि नेपाल सरकारले बेवास्ता गरिरहेको छ ।’
कुवेतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अवैध आप्रवासी श्रमिकलाई स्वदेश फर्काउन त्यहाँकाे सरकारले जरिवानासमेत मिनाहा गरी आममाफी दिएको थियो । कुवेतस्थित नेपाली दूतावासका अनुसार यसरी आममाफी पाएर २८ सय नेपाली स्वदेश फर्कने दिन कुदै सेल्टरमा बसिरहेका छन् ।
उनीहरुले ४३ दिन बितिसक्दा समेत बितिसक्दा पनि आफूहरुलाई फर्काउन सरकारले कुनै प्रभावकारी कदम नदेखाएको भन्दै सरकारप्रति आक्रोश पोखेका हुन् । आफूलहरुलाई कुवेत सरकारले दुई महिनादेखि पालेर राखेको तर आफ्नै सरकारले बेवास्ता गरेको उनीहरुको आरोप छ ।
कुवेत सरकारले आफ्नै खर्चमा विमान चार्टर गरेर पठाउन लाग्दा समेत नेपाल सरकारले ढिलाइ गर्दा समस्या बढेको भन्दै उनीहरुको आक्रोष व्यक्त गरेका हुन् ।
भारत, बंगलादेश, फिलिपिन्सलगायतका मुलुकले आफ्ना आममाफी पाएका नागरिकहरूलाई स्वदेश लगिसकेका छन्। तर नेपाल सरकारले आममाफी पाएकाहरूलाई समेत स्वदेश फर्कन अनुमति दिएको छैन।
भिडियो
No ads found for this position

डिसी नेपाल
Facebook Comment