सार्वजनिक यातायात संचालन नगर्ने व्यवसायीकाे चेतावनी

तर्कबहादुर थापा
२६ असार २०७७ ७:५४

काठमाडौं। बिहीबार मन्त्रिपरिषदले गरेको निणर्य सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबारदेखि सार्वजनिक यातायात संचालन गर्न दिने निणर्य भएको सुनाए।

विश्व स्वास्थ्य संगठनको मापदण्डलाई पालना गर्दै सार्वजनिक यातायात सन्चालन गर्न दिने निर्णय गरेको केही घण्टा बित्न नपाउँदै यातायात व्यवसायीले भने सार्वजनिक यातायात संचालन नगर्ने घोषणा गरेका छन्।

सरकारले व्यवसायीसँग कुनै सल्लाह नै नगरी एकलौटी निर्णय गरेको भन्दै यातायात व्यवसायी आक्रोशित भएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने सरकारले आफूलाई आन्दोलनकारीको जस्तो व्यवहार गरेको बताए।

लामो समयसम्म थन्काएर राखेका सवारी साधनको बारेमा बुझ्दै नबुझी सरकारले गरेको निर्णय आफूहरुलाई स्वीकार्य नभएको उनले बताए। ‘यातायातका साधनहरु थन्काएर राखेको कति भयो? कस्तो अवस्थामा छन्, भन्ने वित्तिकै कसरी चलाउन सकिन्छ,’ सिटौलाले डिसी नेपालसँग भने।

सरकारको निर्णय केटाकेटीलाई ललिपप दिएर फकाए जस्तो भएको उनको भनाइ छ। ‘सरकारले हामीलाई केटाकेटी फकाएजस्तो गर्यो। ललिपप दिएपछि फकाउन सकिन्छ झैं गर्यो। हामी कुनै आन्दोलनमा थियौं र? वार्ता मिल्यो गाडी खोल्नुस्, भोलिबाटै चलाउनुहोस् भन्नलाई। अवस्था बुझ्नु पर्दैन,’ उनले भने, ‘‘यातायात मजदुरहरुको स्वास्थ्यको कुरा छ। यात्रुको स्वास्थ्यको कुरो छ।’

सिटौलाले भने, ‘यसको जिम्मा कस्ले लिने ? यातायात मजदूरहरुले हामीमाथि प्रश्न उठाएका छन्। हामीले तपाईको सवारी साधन चलाउँदा केही समस्या आयो भने कसले जिम्मा लिन्छ ? के उत्तर दिनु।’

सार्वजनिक यातायातका यात्रुहरुमा कोरोनाको संक्रमण भएको थाहा नहुने हुँदा पनि यातायात संचालन गर्न त्यति सजिलो नभएको उनको भनाइ थियो। शुक्रबार दिउसो १ बजे महासंघको बैठक बस्ने र आधिकारीका धारणा बाहिर आउँने उनले बताए।

उनले भने, ‘सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरुमा कोरोनाको संक्रमण छ छैन कसरी भन्न सकिन्छ। निजी सवारी साधन जस्तो हो र? सरकारले एकदमै आपत्तिजनक निर्णय गरेको छ। हामी आज १ बजे वैठक बस्दै छौं। त्यसपछि आधिकारिक धारणा सार्वजनिक गरौंला।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *