कोरोनाभाइरस विरुद्धको खोपबारेका अनुसन्धान ‘रुसी जासुसहरूको निसानामा’
बीबीसी। रुसका जासुसहरूले यूके, अमेरिका र क्यानडामा कोरोनाभाइरसविरुद्ध खोप विकास गर्न प्रयास गरिरहेका संस्थाहरूलाई निसानामा राखेको सुरक्षा सेवाहरूले चेतावनी दिएका छन्।
यूकेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले ‘ह्याकरहरूले रुसको खुफिया निकायको अङ्गका रूपमा’ काम गरेको ‘लगभग निश्चित’ भएको जनाएको छ। तर कुन संस्था निसानामा परेका हुन वा कस्तो प्रकारको सूचना चोरिएको छ छैन भन्ने विषयमा स्पष्ट पारिएको छैन।
ह्याकरहरूले खोपको अनुसन्धानमा भने बाधा नपुर्याएको बताइएको छ। पछिल्लो घटनाबारे प्रतिक्रिया जनाउँदै ब्रिटिश विदेशमन्त्री डोमिनिक राबले भने, “कोरोनाभाइरस महामारीविरुद्ध काम गरिरहेकाहरूलाई रुसी खुफिया निकायले निसाना बनाउनु पूर्ण रूपमा अस्वीकार्य छ।”
“अरूहरूले लापरबाहीका साथ आफ्नो स्वार्थ र चासोलाई पछ्याउँदै गर्दा यूके र उसको गठबन्धनमा रहेका राष्ट्रहरूले विश्व स्वास्थ्यको रक्षा गर्न खोपको विकासमा कडा मेहनत गरिरहेका छन्।”
रुसले ती आरोपहरूलाई निराधार र असैह्य भन्दै खारेज गरिदिएको छ। “ब्रिटेनका औषधि उत्पादन गर्ने कम्पनी र अनुसन्धान केन्द्रहरूमा कसले ह्याक गरेको हुन सक्छ भन्ने विषयमा हामी जानकार छैनौँ। हामी के मात्रै भन्न सक्छौ भने यी प्रयासहरूमा रुसको कुनै पनि किसिमको सरोकार छैन,” रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभले बताएको समाचार संस्था तासले उल्लेख गरेको छ।
एकजना विज्ञले भने क्रेमलीनले अस्वीकार गरे पनि रुसी गुप्तचरहरू संलग्न रहेको ‘हुन सक्ने’ सम्भावना रहेको बताए। काथम हाउस थिङ्क ट्याङ्ककी इमिली टेलर भन्छिन्, “प्राप्त विवरणका भरमा साइबर जगतमा कसैलाई आरोप लगाउनु कठिन भए पनि त्यो असम्भव होइन।”
अर्का एक साइबर सुरक्षा विज्ञले भने त्यस्तो अभियानमा रुसीहरूमात्रै संलग्न रहेको हुन सक्ने सम्भावना न्यून रहेको बताएका छन्। “उनीहरूकहाँ धेरै मानिस छन्, हामीकहाँ पनि धेरै छन्। अमेरिकामा झन् धेरै मानिस छन् र चीनमा पनि अवस्था त्यस्तै छ,” केम्ब्रिज विश्वविद्यालयको कम्प्युटर प्रयोगशाला (ल्याब)का प्राध्यापक रस एन्डरसनले प्रतिक्रिया जनाए।
यूके, अमेरिका र क्यानाडाका निकायहरूका अनुसार ह्याकरहरूले सफ्टवेरमा रहेका कमजोरीहरू दुरूपयोग गरेर कमजोर कम्प्युटर प्रणालीमा पहुँच पाएका थिए।
त्यस्तो पहुँच पाउनका लागि फिसिङ् भनिने सक्कलीझै लाग्ने झुक्याउने इमेलहरू तयार पारेर अनुसन्धानमा संलग्न व्यक्तिहरूसम्म पुर्याइएको थियो। उनीहरूले पठाएका इमेलहरू, प्राप्त गर्नेहरूका विश्वासिला व्यक्तिकै नामबाट गएका थिए। त्यो सक्कली र विश्वासयोग्य लाग्नेगरी उनीहरूका केही व्यक्तिगत जानकारी राखिएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment