निषेधाज्ञाबाट दलित समुदाय बढी प्रभावित
सांकेतिक तस्वीर
नुवाकोट। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिमबाट बच्नको लागि लागू गरिएको निषेधाज्ञाका कारण दलित समुदाय थप प्रभावित बनेका छन्।
वर्षभरी गरिएको काम ज्याला बापत धान, मकै, कोदो जस्ता अन्न जम्मा गर्ने दलित समुदायलाई यो पटक अन्न उठाउन मुस्किल परेको छ।
कोरोनाको प्रभावका कारण घरगाउँ तिर डुल्नसमेत रोक लगाइएकाले गुजारा कसरी चलाउने भन्ने चिन्ता लागेको धादिङ घर भएका शिशिर सुनार बताउँछन्।
उनले भने, ‘हाम्रो समस्या बुझ्ने कोही भएनन्। घरगाँउ तिर नडुल्न भनिएको छ। घरमा अन्नको दानो छैन।’
६ महिना अगाडिबाट लागू गरिएको बन्दाबन्दीले मुलुकका सबै क्षेत्र प्रभावित बनेका छन्। कोरोना भाइरस संक्रमितको दर भने नियन्त्रण भएको छैन। लागू गरिएको बन्दाबन्दी कहिले पूर्ण रुपमा खोलिने टुंगो छैन।
हुनेखानेको घरबाट केही बाली (अन्न) जम्मा गरेर जहान पाल्न बाध्य नागरिक ठूलो संकटमा परेका छन्। बाली उठाउन आएका नुवाकोट विदुर घर भएका राम परियार (नाम परिवर्तन) ले कोरोना भाइरसको जोखिमबाट बच्न स्वास्थ संगठनको नियम पालना गरेका थिएनन्। उनले भने, ‘कहाँ नियम पालना गर्नु, आफ्नो पीडा आफैसँग छ।’
लकडाउन जारी गरिएको सुरुवातका दिनमा राहत स्वरुप स्थानीय तहले सहयोग गर्ने गरेका थिए। अहिले स्थानीय तहले पनि दलित समुदायलाई व्यवास्ता नै गर्ने गरेको उनीहरुले गुनासो गरेका छन्। परियारले थपे, ‘घरबाट बाहिर ननिस्कनु भनेर मात्रै भएन हामी जस्ताको दैनिकी कसरी चलेको छ भन्ने बिषयको खोजी गर्नु पर्यो।’
‘गुजारा चलाउनै मुस्किल भएपछि केही सहयोग पाइन्छ कि भनेरमाइत आएकी छु,’ लक्ष्मी विकको पनि गुनासो उस्तै छ, ‘गुजारा धान्न मुस्किल परेको छ, एक दुई दिनको कुरा होइन महिनौ बितिसक्यो। रोगको चिन्ताले भोकै मर्न त भएन।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment