तेस्रो तथा अन्तिम जितसँगै अष्ट्रेलियालाई श्रृखंला

डिसी नेपाल
१ असोज २०७७ १३:००

काठमाडौं । अष्ट्रेलियाले इंग्ल्याण्ड विरुद्धको तेस्रो तथा अन्तिम अन्तर्राष्ट्रिय एकदिवसीय खेल तीन विकेटले जितेको छ । जितसँगै अष्ट्रेलियाले तीन म्याचको श्रृखंला २–० ले जितेको छ । इंग्ल्याण्डले प्रस्तुत गरेको ३०३ रनको लक्ष्य पछ्याउँदै अष्ट्रेलियाले खेल सकिन दुई बल बाँकी छँदा सात विकेटको क्षतिमा ३०५ रन बनाएर लक्ष्य पुरा गर्यो ।

विशाल लक्ष्य पछ्याउने क्रममा ७३ रनमै पाँच विकेट गुमाएर कमजोर प्रदर्शन गरेको अष्ट्रेलियालाई ग्लैन म्याक्सवैल र अलेक्स कैरीले उद्धार गरे । दुबैले छैठौं विकेटका लागि २१२ रनको कीर्तिमानी साझेदारी गरे । म्याक्सवैलले मात्र ९० बलमा शतकीय पारी खेल्दै १०८ रन बनाए । खेल सकिन १५ बल बाँकी छँदा म्याक्सवैल पेभेलियन फर्किए । अन्तिम ओभरमा दश रन आवश्यक रहँदा अलेक्स कैरी समेत पेभेलियन फर्किदा पुनः दबाबमा आएको अष्ट्रेलियालाई मिसेल स्टार्कले पहिलो बलमा छक्का र दोस्रोमा चौका प्रहार गर्दै जित सुनिश्चित गरे । हारसँगै पछिल्लो पाँच वर्षमा इंग्ल्याण्डले घरेलु श्रृखंला जित्ने लय समेत भत्किन पुग्यो ।इंग्ल्याण्डका लागि क्रिस वोक्सले सर्वाधिक दुई विकेट लिए ।

यसअघि म्यान्चेष्टरमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको इंग्ल्याण्डले खाता नखोल्दै जैसन रोयको रुपमा पहिलो विकेट गुमाएर कमजोर सुरुवात गर्न पुगेको थियो । रोय गएसँगै ब्याटिंग गर्न आएका जोई रुट समेत खाता नखोल्दै पेभेलियन फर्किएपछि घरेलु मैदानमा इंग्ल्याण्ड थप दबाबमा आएको थियो । तर अर्का ओपनर जोनी बैरिस्टो क्रिजमा संयमित रुपमा ब्याटिंग गर्दै शतकीय पारी खेलेपछि इंग्ल्याण्डको पारी उकासिएको थियो । पूछारमा सैम विलिंग्स र क्रिस वोक्सले अद्र्धशतकीय पारी खेले । इंग्ल्याण्डले ५० ओभरमा सात विकेटको क्षतिमा ३०२ रनको विशाल योगफल तयार गर्यो ।

अष्ट्रेलियाका लागि मिसेल स्टार्क र एडम जाम्पाले सामान तीन तीन तथा प्याट क्युमिन्सले एक विकेट लिए । म्याक्सवैल प्लेयर अफ द् म्याच र प्लेयर अफ द् सेरिज घोषित भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *