भारतको उत्तराखण्डमा ३ हजार लाशको खोजीका लागि १० टोली परिचालन

डिसी नेपाल
१ असोज २०७७ १३:१५

काठमाडौं। भारतको उत्तराखण्ड राज्यको केदारनाथ क्षेत्रमा २०१३ को प्रकृतिक विपत्तिमा बेपत्ता भएकाहरुको अवशेष खोज्नको लागि उत्तराखण्ड पुलिसले १० टोली परिचालन गरेको छ । उत्तराखण्डको स्टेट डिजास्टर रेस्पोन्स फोर्सले बुधबारदेखि काम सुरु गरेको छ । हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार यी टोलीले केदारनाथसम्म जाने बहाडी बाटो र त्यसको आसपासका क्षेत्रमा मृतकका अवशेषहरु खोज्नेछन् । २०१३ को जूनमा आएको भीषण बाढी र पहिरोका कारण यहाँ हजारौंको ज्यान गएको थियो । तीमध्ये ३ हजारभन्दा बढीको अझै शव भेटिएको छैन ।

उत्तराखण्डको रुद्रप्रयाग जिल्लाका पुलिस सुपेरिटेन्डेन्ट नवनीत सिंह भुल्लरका अनुसार हरेक टिममा २ पुलिस र एसडीआरएफका जवानसँगै स्थानीय गाइड र मेडिकल एक्सपर्ट पनि हुनेछन् । ‘७ टोलीले ४ दिनसम्म खोजी अभियान चलाउनेछन् भने अन्य तीनले ६ दिनसम्म खोजी गर्नेछन्’ भुल्लरले भने । उत्तराखण्ड राज्य सरकारले ३ हजार ७५ बेपत्ताको अवशेष कोजीको लागि उचित विधि र प्रविधिको खोजीको लागि उच्चस्तरीय विज्ञ समिति गठन गरेको एक महिनापछि अहिलेको खोजी अभियान सुरु भएको हो ।

२०१३ देखि अहिलेसम्म ६९९ जनाको अवशेष भेटिएको छ । २०१३ मा मेदारनाथ, गंगोत्री, बद्रीनाथ र यमुनोत्रीको दर्शनका लागि गएका दशौं हजार तीर्थयात्री भीषण बाढी र पहिरोमा फसेका थिए । हजारौंको ज्यान गएको थियो । गाउँहरु पुरिएका थिए र भीषण बाढीले सडक र घरहरु बगाएका थिए । ‘हिमालयन सुनामी’ भनिएको यो भीषण प्राकृतिक प्रकोपका बेला सबैभन्दा ठूला उद्धार अपरेशनमध्येको एक अपरेशन संचालन गरिएको थियो । भारतीय वायुसेना समेत सहभागी उद्धार अभियानका क्रममा १ लाखभन्दा बढीलाई एयरलिफ्ट गरेर उद्धार गरिएको थियो ।

२०१३ को बाँकी समयमा ५१४ अवशेष भेटिएका थिए । २०१४ मा ६३, २०१५ मा ३, २०१६ मा ६०, २०१७ मा ७, २०१८ मा २१ शव भेटिएका थिए । राज्य सरकारले २०१७ मा बेपत्ता भएकाहरुको शवको खोजी र अन्तिम संस्कारको लागि ५ विशेष टिम गठन गरेको थियो । उत्तराखण्ड उच्च अदालतले नोभेम्बर २०१६ मा यस्तो निर्देशन दिएपछि यी टिम गठन गरिएका थिए । गएको जूनमा उच्च अदालतले वाडिया इन्स्टिच्युट अफ हिमालयन जियोलोजीलाई हिमालयको वातावरणलाई कुनै नकारात्मक असर नपासी बेपत्ता ३ हजार ७५ जनाको शव खोज्न सकिने वैज्ञानिक विधि सुझाउन निर्देशन दिएको थियो ।

राज्यका कैयौं क्षेत्रहरु अहिले पनि वर्षाबाट प्रभावित रहेकै अवस्थामा सर्च अभियान सुरु गरिएको हो । भुल्लरका अनुसार केदारनाथ क्षेत्रको उच्च पहाडी क्षेत्रमा सर्च अभियान चलाउन हिमपातका कारण कठिनाइ हुनुभन्दा पहिल्यै यो अभियान सुरु गर्नुपर्ने थियो । भुल्लरका अनुसार टिमहरुलाई बडी ब्याग, ट्रेकिङ गियर, स्लिपिङ ब्याग र अन्य उपकरणहरु उपलब्ध गराइएको छ । उनका अनुसार मेडिकल टिमले त्यहाँ भेटिने शवका अवशेषबाट डिएनएको नमूना लिनेछन् र भेटिएका सबै अवशेषको रेकर्ड राख्नेछन् ।

‘ती अवशेषहरुलाई बडी ब्यागमा राखेर ल्याइनेछ ताकि उनीहरु सबैको हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गर्न सकियोस्’ उनले भने । २०१४ मा बेपत्ता भएकाहरुको अवशेष खोज्नका लागि अधिकारीहरुलाई निर्देशन दिन माग गर्दै उत्तराखण्ड उच्च अदालत पुगेका दिल्लीका अभियन्ता अजय गौतमले आफू खोजी अभियान पुनः सुरु भएकोमा खुसी भएको बताए । ‘यसले कैयौं परिवारलाई आफ्ना आफन्तको अन्तिम संस्कार विधिपूर्वक गर्ने अवसर उपलब्ध गराउनेछ’ उनले भने । उत्तराखण्ड सरकारले सुरुमा जुलाइ २०१३ मा ५ हजार ७४८ जना बेपत्ता भएको आधिकारिक तथ्यांक दिएको थियो । उनीहरुका परिवारलाई आर्थिक सहयोग पनि दिइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *