साउदीमा आप्रवासी कामदारलाई कम्पनी परिवर्तन गर्न र स्वदेश फर्किन ‘एनओसी’ नचाहिने

बिनेश खनाल
२० कार्तिक २०७७ १३:४२

काठमाडौं । साउदी सरकारले आप्रवासी कामदारलाई लक्षित गर्दै महत्वपूर्ण निर्णय सार्वजानिक गरेको छ । अब आप्रवासी श्रमिकहरुले रोजगारदाता मन नपरेको खण्डमा अनुमतिबिना रोजगारदाता परिवर्तन गर्न र साउदी छोड्न पाउने भएका छन् । यो नियम आउँदो २०२१ सालको १४ मार्चदेखि लागू हुने साउदीको मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

श्रम बजारलाई व्यवस्थित र आकर्षक बनाउन सो व्यवस्था गर्न लागिएको साउदी अरेबियाका मानव संशाधन सहायक मन्त्री अव्दुल्लाह बिन नासिर अबुथनैनले स्थानीय सञ्चार माध्यमलाई बताएका छन्।

नयाँ व्यवस्था लागू भएपछि रोजगारदाता मन नपरेको अवस्थामा कामदारले सहजै अर्काे रोजगारदाता परिवर्तन गर्न सक्नेछन्। तर, रोजगारदाता परिवर्तन गर्न करार अवधि भने पूरा गरेको हुनुपर्नेछ । त्यस्तै करार अवधि सकिएका कामदारलाई घर फर्किन एक्जिट पर्मिट (गमनपत्र) र पुनः साउदी फर्किन पहिले रोजगारी गर्दै आएको कम्पनीबाट ‘नो अबजेक्सन लेटर’ (एनओसी) चाहिने छैन।

साउदीमा साढे ३ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत छन् । साउदी सरकारले गरेको यो निर्णय ले नेपाली कामदारलाई पनि फाइदा पुग्ने अपेक्षा गरिएकाे छ। साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले साउदी सरकारको यो स्वागतयोग्य निर्णय भएको बताए । ‘नो अब्जेक्सन लेटर लिनुपर्ने व्यवस्था हटाइनुले कामदारको काम रोज्ने स्वतन्त्रता सुनिश्चित गरेको छ । करार अवधि समाप्त भएका कामदार पनि कम्पनीको अनुमतिबिना स्वदेश फर्किन पाउने भएका छन्,’ उनले रियादबाट डिसीनेपालसँग टेलिफोनमा भने, ‘नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि साउदीमा रोजगारी गरिरहेका थुप्रै नेपाली लाभान्वित हुनेछन् ।’

रोजगारदाताको अनुमतिबिना नै काम र कम्पनी परिवर्तन गर्न पाइने भएपछि साउदीमा नेपाली कामदारहरु अवैधानिक हैसियतको हुनबाट समेत जोगिने उनको विश्वास छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *