काेराेना महामारी र चाडपर्वले राेकेन विदेशीने युवालाई

धनकुमार कार्की
२७ कार्तिक २०७७ १६:०२

काठमाडौैं। हातमा हरियो पासफोर्ट बोकेर ट्रली गुडाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘प्रस्थान कक्ष’ बाहिर लाइनमा लागेका युवाहरुको अनुहार मधुरो छ। रसाएका आँखा अनि मलिन अनुहार लिएर बिदाइ गर्न आएका आफन्त हात हल्लाउँदै थिए।

भर्खरै सकिएको चाड दशैँ र आउँदै गरेको तिहारको विदेसिन बाध्य युवामा कुनै प्रवाह देखिँदैन थियो। घरमा बुढा बा आमा र साना छोराछोरीलाई चाडबाडको मुखमा विदेसिनु उनीहरुको बाध्यता हो रहर होइन।

लकडाउनमा कोरोनाको त्रासले स्वदेश फर्किएकाहरु चाडपर्वका मुखमा पुनः रोजगारीका लागि रोजगार गन्तव्य देश फर्कने क्रम जारी छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले रोजगारीका लागि दिनहुँ ठूलो संख्यामा खाडीलगायत विभिन्न मुलुकतिर हानिनेहरुको भीड लाग्ने गरेको छ।

विगतका वर्षहरुमा यो समयमा बिमानस्थलमा चाडपर्व मनाउने घर आउनेहरुको लर्को देख्न पाइन्थ्यो। यो वर्ष रोजगारीका लागि विदेशीने क्रम चाडपर्वको मुखमा पनि रोकिएन।

बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही युवाहरु हातमा पासफोर्ट र हवाइ टिकट लिएर लाइनमा उभिएका थिए। उनीहरु वैदेशिक रोजगारीको लागि जान ‘प्रस्थान कक्ष’ बाहिर लाइनमा थिए।

अनुहारमा खुशी नभए पनि उनीहरुको आँखामा भने धन कमाएर फर्किने सपना थियो। लाइनमा उभिएका उनीहरुलाई चाडवाड र कोरोना महामारीको बीचमा तपाईँहरु किन विदेश जान लाग्नु भएको भनेर हामीले सोध्यौँ।

अधिकांशको जवाफ थियो, ‘नेपालमा काम गरेर खानलाई केही पनि छैन, परिवार पाल्नै प¥यो त्यसैले फेरि विदेश जान लागेका हौं।’ लाइनमा उभिएका सबैजना लकडाउनअघि नै घर बिदामा स्वदेश आएका युवाहरु थिए।

त्यही भीडमा कालो झोला भिरेका, एउटा हातमा जेब्रा झोला, अर्को हातमा पासफोर्ट र टिकट लिएर ‘प्रस्थान कक्ष’ बाहिर उभिरहेका थिए गोरखाका दुर्गा गुरुङ।

उनी लकडाउन सुरु हुने बित्तिकै नेपाल आएका हुन्। लकडाउनअघि मलेसियामा उनी फ्याक्ट्रीमा काम गर्दै आएका थिए। कोरोना माहामारी सुरु भएसँगै कम्पनीमा समस्या आएपछि दुर्गा नेपाल आएका थिए। करिब छ महिनाको घर बसाइपछि घरको समस्याले पेलेपछि उनले पुरानै कम्पनीमा फर्कन लागेका हुन्।

‘गाउँमा खेतबारी थोरै छ, खान लाउन नै पुग्दैन’, उनले भने, ‘कम्पनीले बोलायो, बोलाएपछि दशैँ तिहार भन्ने कुरा पनि आएन। दशैतिहार त अर्को साल पनि आउँछ। यस्तो बेलामा काम पाउनु नै ठूलो कुरा हो।’

उनीमात्र होइन चितवनका प्रेमबहादुर तामाङ पनि रोजगारीका लागि ब्रुनाई जान लाइनमा थिए। उनी पनि लकडाउनमा काम बन्द भएपछि नेपाल आएका थिए। १० वर्षदेखि बु्रनाइमा रोजगार गर्दै आएका पे्रम बहादुरलाई चाडपर्वको खासै प्रवाह छैन। उनलाई चाडपर्वमा परिवार छोडेर जाने बानी परिसक्यो। त्यसैले उनी जान लागेका हुन्।

‘श्रीमती तिहापछि जानु भन्दै थिइन्। अहिले नै टिकट सस्तो पाइयो त्यसैले अहिले नै जाउँ भनेर हिँडेको, तिहारमा एकदुई दिन रमाइलो गरेर के गर्नु दुई दिनले गर्दा महँगो टिकट तिर्ने पैसाले परिवालाई तिहार खर्च हुन्छ’, उनले भने, ‘धेरै वर्ष भयो बाहिर बसेको यसपाली कोरोनाले गर्दा पनि बीचमा काम हुन सकेन त्यसैले अहिले जानुप-याे।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *