दुर्घटनामा परेका मानिसको अङ्ग चोर्ने चिकित्सकहरुलाई जेल सजाय

डिसी नेपाल
१४ मंसिर २०७७ १६:१६

बीबीसी । चीनमा दुर्घटनामा परेर मृत्यु भएका मानिसको शरीरबाट अवैधानिक रूपमा अङ्ग सङ्कलन गर्ने छ जनाले जेल सजाय पाएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त गिरोहमा चिकित्सकहरू पनि थिए।

अङ्ग चोर्ने गिरोहले मृतकका परिवारजनलाई वैधानिक रूपमै अङ्गदान गरिएको भ्रममा पार्थ्यो। सन् २०१७ देखि २०१८ सम्म उक्त गिरोहले आन्हुई प्रान्तस्थित एउटा अस्पतालबाट ११ जनाको शरीरबाट कलेजो र मिर्गौला चोरेको थियो।

चीनमा प्रत्यारोपणका लागि आवश्यक अङ्गको ठूलो माग छ। तर दानबाट उक्त माग पूरा हुन गाह्रो छ।

कसरी चोरिन्थ्यो अङ्ग?

स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार उक्त गिरोहमा चार उच्चपदस्थ चिकित्सकहरू थिए। तीमध्ये केही चिकित्सक अस्पतालहरूमा अङ्ग खोज्ने प्रक्रियाका लागि काम गर्थे।

अस्पतालमा ल्याइएका कार दुर्घटनाका घाइते र मस्तिष्कमा रगत जमेर मृत्यु भएका बिरामी उनीहरूको तारोमा पर्थे। उक्त अस्पतालको सघन उपचार एकाइका प्रमुख याङ सुशुनले बिरामीका आफन्तलाई अङ्गदान गर्न इच्छुक भए नभएको सोध्थे। परिवारजनले सहमति दिँदै हस्ताक्षर गरिदिन्थे। तर त्यसका लागि उनीहरूलाई नक्कली कागजपत्र दिइन्थ्यो।

मृतकको शरीरलाई मध्यराति बाहिर निकालेर एम्बुलेन्सजस्तो सवारीसाधनमा राखी अङ्ग निकालिन्थ्यो। समाचारका अनुसार अनुसार त्यसपछि उक्त गिरोहले ती अङ्गहरू प्रत्यारोपणको पर्खाइमा बसेका व्यक्ति वा अस्पताललाई गोप्य रूपमा बेच्थ्यो।

कसरी पत्ता लाग्यो अपराध?

एक मृतकका छोरालाई शङ्का लागेपछि उक्त गिरोहको कुकृत्य पत्ता लागेको थियो। सन् २०१८ मा आफ्नी आमाको मृत्यु भएको केही महिनापछि शि नामक ती व्यक्तिले अङ्गदानका लागि सहमति दिँदा आफ्नो परिवारलाई दिइएको कागजपत्र फेरि हेरे। फारममा उनले खाली ठाउँ देखे र उनलाई अनियमितता भए जस्तो लाग्यो।

त्यसपछि उनले आफ्नी आमाको अङ्गदानको अभिलेख सरकारी निकायसँग नभएको पत्ता लगाए। एउटा स्थानीय सञ्चारमाध्यमलाई उनले बताएअनुसार त्यसपछि डा. याङलाई त्यसबारे सोध्दा आफूलाई “मौन बस्न” ठूलो रकमको लोभ देखाइयो। “त्यतिबेला गलत कुरा भएको रहेछ भनेर म निश्चित भएँ,” शिले भने।

त्यसबारे उनले तत्कालै सरकारी अधिकारीहरूलाई सूचित गरे। अङ्ग चोरी र तस्करी गर्ने गिरोहका छ जनालाई जुलाई महिनामा “नियतवश शव नष्ट पारेको” अभियोगमा सजाय सुनाइएको थियो। उनीहरूले १० देखि २८ महिनासम्म कारागरामा बस्नुपर्नेछ।

शिले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएपछि उक्त घटनाले अहिले चर्चा पाएको हो।

चीनमा अङ्ग कसरी सङ्कलन हुन्छ?

चीनमा बढ्दो मागका कारण धेरै वर्ष मृत्युदण्ड दिइएका मानिसबाट अङ्ग सङ्कलन गरियो। तर त्यसको संसारभरि आलोचना भयो। सन् २०१५ मा उक्त चलन रोकियो।

अहिले चीनमा स्वेच्छाले दान दिइएको अङ्ग प्रत्यारोपण गरिन्छ। चीनमा अङ्गदान दिने दर बढिरहेको भए पनि उक्त दर अरू देशमा भन्दा कम छ। स्पेनमा १० लाख मानिसमध्ये ४९ जनाले अङ्गदान दिन्छन् भने चीनमा सरदर ४.४ जनाले त्यसो गर्छन्।

सन् २०१५ मा बीबीसीले चीनमा अङ्गको कालोबजार मौलाएको र तस्करहरूले अनलाइन माध्यबाट कारोबार गरेको विषयमा समाचार प्रकाशित गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *