गणेशमान स्मृति बक्सिङ : सनिल र सुस्मिता फाइनलमा

रासस
२१ फागुन २०७७ २३:११

काठमाडौं । ललितपुरका सनिल शाही र नक्सालकी सुस्मिता तामाङ वीर गणेशमान सिंह स्मृति वाग्मती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

शाहीले आज भएको पुरुष ६४ किलो तौल समूहमा धादिङका पवन गुरुङ तथा तामाङले महिला ४८ किलोमा भक्तपुरकी अस्मिता दुवाललाई सेमिफाइनलमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । शाही १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता खेलाडी हुन् । यस्तै तामाङ आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको स्वर्ण पदक विजेता हुन् । यस्तै पुरुष किलोतर्फ प्लाटिनमका अस्विनदेव श्रेष्ठले काभ्रेपलाञ्चोकका भरत चन्दलाई पराजित गर्दै फाइनलमा प्रवेश गरे । महिला ४८ किलोतर्फ आरडीएसकी रमिसा श्रेष्ठले बोसिगाउँकी माया क्षेत्रीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकी छन् ।

यसैगरी महिला ५१ किलोमा बोसिगाउँकी हरिना ऐर र नक्सालकी रोशनी राई फाइनलमा प्रवेश गरेका छन् । ऐरले नुवाकोटकी प्रतिभा शाही तथा राईले प्लाटिनमकी केनिका राईलाई पराजित गरिन् । महिला ५४ किलोतर्फ थानकोटकी सुशीला ब्लोनले आरडीएसकी सदीक्षा मगर तथा मेघदूतकी मन्दिरा पुतुवारले बक्समान्डुकी जस्मिन केसीलाई पराजित गर्दै फाइनलमा स्थान बनाइन् । महिला ५७ किलोमा नक्सालकी सिवानी श्रेष्ठले आरडीएसकी सुमिरा रुपाखेती तथा रामेछापकी डोल्मा तामाङले बक्समान्डुकी श्रद्धा प्रसाईलाई पराजित गर्दै फाइनलमा प्रवेश गरिन् ।

यस्तै महिला ६० किलोमा रसुवाकी सजिता चौधरी र बक्समान्डुकी डिचेन शेर्पा फाइनलमा प्रवेश गरेका छन् । चौधरीले स्नेहा मानन्धर तथा शेर्पाले रिता विकलाई सेमिफाइनलमा पराजित गरिन् । महिला ६४ किलोतर्फ नक्सालकी अम्बिका गहतराजले नुवाकोटकी अस्मिता चन्द तथा बक्समान्डुकी हेमा राईले रसुवाकी सपना ऐडीलाई पराजित गरे।

यसैगरी पुरुष ४९ किलोमा नुवाकोटका मोहन गुरुङ र काभ्रेपलाञ्चोकका धमेन्द्र राई फाइनलमा प्रवेश गरेका छन् । गुरुङले नक्सालका पवनबहादुर श्रेष्ठ र राईले तारकेश्वरका सुजन ओलीलाई हराए । पुरुष ५२ किलोतर्फ कोट्स्य भैरवका सुमन नेपालीले मकवानपुरका बुद्ध लामा तथा बक्समान्डुुका वाङ्दी शेर्पाले थानकोटका सुजन महर्जनलाई पराजित गर्दै फाइनलमा प्रवेश गरे। प्रतियोगिताको हरेक तौलसमूहका विजेताले रु १० हजार, दोस्रो हुनेले रु सात हजार तथा तेस्रो हुने खेलाडीले रु चार हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट महिला खेलाडीले एक थान स्कुटर तथा उत्कृष्ट पुरुष खेलाडीले एक थान मोटरसाइकल पुरस्कार स्वरुप प्राप्त गर्ने आयोजक नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष सन्तोष बुढाथोकीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *