पशुपति क्षेत्रमा देशोद्धार पूजाका निम्तालुलाई स्वागत गरिँदै

डिसी नेपाल
२४ चैत २०७७ १४:३०
92
Shares

काठमाडाैं । देशमा शान्ति होस् भन्ने कामनाले लिच्छविकालदेखि पशुपति क्षेत्रमा शुरु गरिएको देशोद्धार पूजामा आउने भक्तजनलाई स्वागत गरिँदै छ।

प्रत्येक वर्ष चैत्र कृष्ण अष्टमीमा उपत्यकाका भित्री भागका देवीदेवतासहित स्थानीयवासीलाई निमन्त्रणा गरिएपछि नवमी र दशमीका दिन पाहुनालाई स्वागत गर्ने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका तर्फबाट जात्रासम्बन्धी काम हेर्दै आएका वरुण खतिवडाले जानकारी दिए। पाहुनालाई स्वागतसँगै आज र भोलि पूजा सामग्री तयार पार्ने कामसमेत गरिन्छ।

चैत्र कृष्ण अष्टमीदेखि १० दिनसम्म पशुपति क्षेत्रमा यो जात्रा मनाइन्छ। पशुपति क्षेत्रमा बज्रेश्वरी, वत्सलेश्वरी र आकाश भैरवको रथयात्रा गरी हुने यो जात्रापछि नै उपत्यकामा अरु जात्रा गर्ने परम्परा छ। जात्राको पहिलो दिन सोमबार बेलुकी पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरी उपत्यकाका प्रमुख देवीदेवतालाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा गरिएको छ।

सोमबार बेलुकी ५ बजे पशुपतिनाथ मन्दिरमा भट्ट रामाकान्त भट्टले पूजा आराधना गरेपछि उनकै नेतृत्वमा उपत्यकाको भित्री भागका देवीदेवतालाई निमन्त्रणा गरिएको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले बताए। निमन्त्रणादेखि जात्राका सबै कार्यक्रम भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिने कोषले जनाएको छ।

निमन्त्रणा यात्रा पशुपति पश्चिम मूलढोकाबाट जयबागेश्वरी–ताम्रेश्वर–भण्डारेश्वर–ज्ञानेश्वर–नक्साल भगवती–कमलाक्षी–असन–हनुमानढोका–कुमारीघर–जैसीदेवल–लगन डबली–पचलीभैरव–यङ्गाल–मरु गणेश–नरदेवी–टेबहाल हुँदै पशुपतिस्थित वत्सलेश्वरी मन्दिरमा पुगेर निमन्त्रणा सकिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए।

जात्रा सम्पन्न गर्न कोषले सञ्चालक परिषद् सदस्य आशा पाण्डेको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले कोरोना महामारीलाई ध्यान दिँदै व्यवस्थित जात्रा गर्ने तयारी गरेको उनले बताए। सोमबारको निमन्त्रणालाई दुदु च्याँ च्याँ भनिन्छ । चैत्रकृष्ण एकादशीदेखि बज्रेश्वरी, वत्सलेश्वरी र आकाशभैरवको विशेष पूजा आराधना शुरु हुन्छ । देशको उद्धार गर्ने सङ्कल्पले लिच्छविकालमा शुरु भएकाले यसलाई देशोद्धार पूजा एवं जात्राको नाम दिइएको हो।

चैत्रकृष्ण अष्टमीका दिन निम्ता गरेपछि ती देवीदेवताका साथै त्यस क्षेत्रका स्थानीयवासी पनि पशुपतिमा जात्रा हेर्न आउँछन् भन्ने विश्वास प्राचीनकालदेखि रहँदै आएको छ । जात्राको मुख्य दिन चैत २९ गते बज्रेश्वरी, वत्सलेश्वरी र आकाशभैरवको रथ निकालिन्छ । रथलाई पशुपति क्षेत्रका विभिन्न स्थानमा घुमाइन्छ।

यो जात्रामा पशुपति क्षेत्रमा बसोवास गर्ने नौवटै जातिका मानिस उपस्थित हुनुपर्ने प्राचीनकालदेखिको नियम छ । तीमध्ये एउटा जातिमात्र उपस्थित नभए पनि जात्रा नहुने नियम छ । गत वर्ष पनि कोरोना महामारीका कारण दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर जात्रा सम्पन्न गरिएको थियो । यस वर्ष पनि कोरोनाको जोखिम कायमै रहेकाले सोमबारदेखि सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर जात्रा शुरु गरिएको छ।

प्राचीनकालदेखि नै उपत्यकामा देशोद्धार पूजा एवं जात्रापछि नै सेतो मच्छेन्द्रनाथ, रातो मच्छेन्द्रनाथ, साँखु बज्रयोगिनी, गोकर्णेश्वरको कान्तिभैरवलगायत जात्रा हुने भन्ने विश्वास गरिँदै आएको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *