चुनावको घोषणापछि के गर्दै छ निर्वाचन आयोग ?

तर्कबहादुर थापा
१० जेठ २०७८ ११:५४

काठमाडौं। प्रतिनिधिसभा विघटन भएर निर्वाचन घोषणा भएपछि निर्वाचन आयोग आफ्नो काममा जुटेको छ। कात्तिक २६ गते र मंसिर ३ गते तोकिएको निर्वाचन समयमै सफलता पूर्वक सम्पन्न गर्नका लागि काममा जुटेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका सहायक–प्रवक्ता, उपसचिव कोमलप्रसाद धमलाले आयोग आफ्नो काममा लागेको जानकारी दिए। डिसी नेपालसँगको कुराकानीमा धमलाले भने, ‘आयोग आफ्नो काममा लागेको छ। सरकारले निर्वाचनको मिति घोषणा गरेपछि आयोग आफ्नो काममा लाग्नुको विकल्प हुँदैन। हामीले तोकिएको समय निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु पर्ने हुन्छ।’

उनका अनुसार हाल मतदाता अध्यावधिक गर्ने, विधि र नियमावली बनाउने लगायतका काम सुरु गर्ने आयोगको तयारी छ। ‘पछिल्ला ३ महिना किनमेलको समय हुन्छ। त्यो बेलामा अलि बढी काम भए पनि सुरुवातीमा त्यतिधेरै काम हुँदैन,’ धमलाले भने।

यसअघि बैशाखमा तय भएको तर सर्वोच्चको आदेशपछि रोकिएको निर्वाचनलाई मध्यनजर गरी धेरै काम गरिएकोले पनि यो पटकको निर्वाचनमा धेरै भार नपरेको धमलाको भनाइ छ।

‘गत पुष ५गते संसद विघटन भएर बैशाखमा निर्वाचनको मिति घोषणा गरेपछि हामीले तयारी गरेका थियौं। मतदाता अध्यावधिक गर्ने काम, निर्वाचन कार्यलयमा आवश्यक जनशक्ति व्यवस्थापन गर्ने काम, बिग्रिएका बनाउनु पर्ने मेसिनरी सामान मर्मत गर्ने काम ती कामहरुमा यो पटक समय कम लाग्छ,’ उनले भने।

कोरोना महामारीको बेला निर्वाचन भएका कारण केही अन्य तयारी पनि गर्नु पर्ने धमलाको भनाइ छ। उनले भने, ‘अरु बेला जस्तो यो बेला हुँदैन। यो बेलामा कोरोनाको महामारी छ। त्यो भएर महामारीबाट बचेर निर्वाचन गर्नु पर्ने चुनौती छ। मतदाताहरुलाई सुरक्षित मतदान गराउने दायित्व पनि आयोगकै हो। हामी त्यो तरिकाले छलफल मै छौं।’

कोरोना महामारी र सुरक्षाका विषयमा पनि काम गर्नु पर्ने भएकाले यो बेला निर्वाचन खर्च अलि बढी हुने अनुमान धमलाको छ। तर, उनले पहिला छुट्ट्याइएको खर्च भन्दा धेरै बढी र कम नहुने बताए।

आयोगले गएको बैशाख १७ र २७ गते हुने निर्वाचनको लागि ७ अरब ७ करोड ९० लाख रुपैयाँ माग गरेका थियो। अर्थमन्त्रालयले उक्त रकमको श्रोत सूनिश्चितता गरेको जानकारी दिएको थियो।

निर्वाचनका लागि आवश्यक सामग्री खरिदको लागि विभिन्न पत्रपत्रिकामा आयोगले बोलपत्र आह्वान समेत गरिसकेको थियो। तर, निर्वाचन नहुने भएपछि उक्त सूचनालाई रद्द गरेको थियो।

आयोगले त्यो बेलामा विभिन्न शिर्षकमा गरी ८ करोड हाराहारीमा खर्च गरेको कुरा आयोगकका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका थिए। उनका अनुसार त्यो बेलामा खर्च भएको रक मगर्ने पर्ने काममा खर्च गरिएको थियो।

आयोगले जिल्ला कार्यालयहरुलाई विभिन्न शीर्षकमा ४ करोड १७ लाख ९० हजार रुपैयाँ पठाइको थियो भने सोही हाराहारीमा केन्द्रीय कार्यालयले खर्च गरेको थियो।

त्यो बेला खर्च भएको उक्त रकम अहिलेको निर्वाचनका लागि नदोहोरिने सहायक प्रवक्ता धमलाले जानकारी दिए। धमलाका अनुसार आयोगमा मतपत्र र प्रचार सामग्रीमा गरेको खर्चबाहेकका खर्चहरु एकपटक गरेपछि २/३ वटै निर्वाचनमा प्रयोग गर्न सकिन्छ।

धमलाले भने, ‘बिग्रीएको सवारी साधन बनाएका छौं। त्यो फेरी पनि बनाउनु पर्छ भन्ने त छैन नि। अब अघिल्लो निर्वाचनको मिति घोषणा भएका बेला खर्च गरिएको धेरै सामग्री अहिलेको निर्वाचनका लागि पनि प्रयोग गर्न पाइनछ।’

दुई दिन पहिला राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेकी थिइन्। मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले नेपालको संविधान २०७२को धारा ७६ को उपधारा ७ बमोजिम वर्तमान प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसीर ३ गते सम्पन्न हुने गरी निर्वाचनको घोषणा गरेकी हुन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *