जागिर पाउनका लागि दिइएको हस्तलिखित निवेदन ४ करोड ७२ लाख रुपैयाँमा बिक्यो

डिसी नेपाल
१५ साउन २०७८ १४:३६

काठमाडौं। कुनै एक व्यक्तिले जागिर पाउनका लागि दिएको हस्तलिखित निवेदन करोडौं मूल्यमा बिक्यो भन्दा हामीलाई आश्चर्य लाग्न सक्छ । तर, एउटा जागिरका लागि दिइएको हस्तलिखित निवेदन ४ करोड ७२ लाखमा बिकेको छ । यो निवेदन ४८ वर्ष पहिले लेखिएको थियो । एप्पलका सहसंस्थापक स्टिभ जब्सले सन् १९७३ मा लेखेको यो निवेदन एक लिलामीमा ३ लाख ४३ हजार डलरमा बिक्री भएको इभिनिङ स्ट्याण्डर्डले जनाएको छ ।

यो निवेदन चौथो पटक लिलामी गरिएको हो । यस पटक यो निवेदनसँगै यसको डिजिटल संस्करण अर्थात एनएफटी संस्करणको पनि लिलामी गरिएको थियो । जागिरका लागि यो निवेदन दिने बेला स्टिभ जब्स १८ वर्षका थिए । स्टिभ जब्सले आफ्नो पूरै जीवनमा एक पटक मात्र जागिर खानको लागि लिखित निवेदन दिएका थिए र त्यो यही हो । यसबाहेक जब्सले कहिल्यै पनि जागिर खानको लागि निवेदन दिएनन् ।

यो निवेदनको यसअघि २०१७ मा लिलामी गरिएको थियो । त्यतिबेला यो १८ हजार ७५० डलरमा बिकेको थियो । २०१८ मा फेरि लिलामी गर्दा यो १ लाख ७४ हजार ७५७ डलरमा बिक्यो । गएको मार्चमा लिलामी गर्दा यो निवेदन २ लाख २२ हजार ४ सय डलरमा बिक्री भयो । अहिले चौथो पटकको लिलामीमा यसको मूल्य ३ लाख ४३ हजार डलर परेको छ । यो निवेदनको डिजिटल संस्करण भने मात्रै २३ हजार ७० डलरमा बिक्री भएको छ ।

जब्सले यो निवेदनमा नाम, ठेगाना, फोन नम्बर, आफूलाई ज्ञान भएका प्रमुख भाषाहरु, ड्राइभिङ लाइसेन्स, आफूमा भएका विशेष क्षमताहरु लगायतका कुराहरु भरेका थिए । लिलामीका क्रममा यो निवेदन निकै राम्रो अवस्थामा रहेको बताइएको थियो । यो निवेदन लेखेको एक वर्षपछि जब्सले स्टार्टअप कम्पनी अटारी ज्वाइन गरेका थिए जहाँ उनको भेट एप्पलका अर्का सहसंस्थापक स्टिभ वोज्नियाकसँग भएको थियो । त्यसको २ वर्षपछि १०७६ मा उनीहरुले एप्पल कम्पनीका स्थापना गरे । जब्सको २०११ मा ५६ वर्षको उमेरमा क्यान्सरका कारण निधन भयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *