सन्दिग्ध अपहरणकारीहरू पानीजहाज छोडेर गए
बीबीसी । पानामाको झण्डा भएको एउटा पानीजहाजलाई सशस्त्र व्यक्तिहरूले ओमानको खाडीबाट अपहरण गरेर इरानतिर जान आदेश दिएको घटना टुङ्गिएको अधिकारीहरूले बताएका छन्।
सशस्त्र व्यक्तिहरू अहिले उक्त पानीजहाजबाट छोडेर अन्यत्र गइसकेका र त्यहाँ भएका अरू सबै मानिस सुरक्षित भएको बताइएको छ।
यूकेको पानीजहाजको सुरक्षा हेर्ने निकायले उक्त सम्भावित अपहरणको घटना अब टुङ्गिएको जनाएको छ। तर उसले त्यसबारे विस्तृत जानकारी दिएको छैन।
अलकत्रा बोकेको एमभी आस्फल्ट प्रिन्सेस नामक उक्त पानीजहाज मङ्गलवार एउटा भिडभाडयुक्त साँघुरो मार्गबाट स्ट्रेट अफ होर्मुजतिर गएको लोयड्स लिस्ट म्यारिटाइम इन्टेलिजेन्सले जनाएको थियो।
पानीजहाजलाई कसले कब्जामा लिएको थियो भन्ने अझै स्पष्ट नभए पनि विश्लेषकहरूले इरानी फौजमाथि औँला ठड्याएका छन्।
इरानको रेभुलूशनरी गार्ड्सले आफ्नो संलग्नताबारे प्रकाशित समाचार खण्डन गर्दै त्यो तेहरानविरुद्ध शत्रुतापूर्ण व्यवहारको बहाना भएको जनाएको छ।
इजरेली स्वामित्वको एउटा कम्पनीको तेल ट्याङ्करलाई ओमानमाथि ड्रोनबाट आक्रमण गरेर दुई सुरक्षागार्डलाई मारिएको एक साताभन्दा कम समयमै यो घटना सार्वजनिक भएको हो।
पहिलो घटनामा ज्यान गुमाउनेमा ब्रिटेन र रोमेनियाका नागरिक थिए। अमेरिका, यूके र इजरेलले उक्त हमलाका लागि इरानलाई दोष दिए पनि तेहरानले त्यसलाई ठाडै अस्वीकार गरेको छ।
बीबीसीका सुरक्षा संवाददाता फ्र्याङ्क गार्डनरले एमभी आस्फल्ट प्रिन्सेस दुबईमा रहेको एक कम्पनीको स्वामित्वमा रहेको र त्यसको एउटा पानीजहाजलाई इरानी सेनाले दुई वर्षअघि पनि अपहरण गरेको जनाएका छन्।
समाचारहरूका अनुसार एमभी आस्फल्ट प्रिन्सेस स्ट्रेट अफ होर्मुजको प्रवेशबिन्दुनजिकै पुग्दा नौ जनाजति सशस्त्र पुरुषहरू त्यसमा चढेको गार्डनरले बताए।
त्यस क्षेत्रबाट समुद्री मार्गबाट हुने विश्वको पाँच भागको एक भाग तेल आपूर्ति हुन्छ।
यसअघि यूकेको समुद्री व्यापार सञ्चालन सम्बन्धी निकाय (यूकेएमटीओ)ले ओमानको खाडीमा फुजारानजिकै पानीजहाजलाई लैजाँदा विशेष ध्यान दिन भन्दै सजग गराएको थियो।
यूकेको विदेश मन्त्रालयका एक प्रवक्ताले यूएईको तटनजिकै भएको उक्त घटनाको आफूहरूले आपत्कालीन अनुसन्धान गर्ने बताएका छन्।
ह्वाइटहाउसले सो घटनालाई निकै अशान्तिकारकको सङ्ज्ञा दिएको छ।
यूकेएमटीओले सुरुमा पानीजहाजहरूलाई उक्त घटनाबारे सचेत गराउँदै त्यसको केही घण्टामा त्यसलाई राजनीतिक अपहरण घोषणा गरेको थियो।
सोही समयमा समुद्रमाथि ओमान एअर फोर्सको एउटा हवाई गस्ती भइरहेको छ ।
इरानको विदेश मन्त्रालयले मङ्गलवार कयौँ पानीजहाजहरू संलग्न भएका समाचारलाई सन्देहपूर्ण भन्दै तेहरानविरूद्ध कुनै गलत माहोल नबनाउन चेतावनी दिएको छ।







डिसी नेपाल







Facebook Comment