अमिताभ बच्चनको घरसहित ४ ठाउँमा बम भएको खबरले मुम्बइमा अलर्ट, २ जना पक्राउ
काठमाडौं। बलिउड महानायक अमिताभ बच्चनको घर जलसामा बम भएको खबरले पूरै मुम्बइमा हलचल मच्चियो । एक अज्ञात फोनकर्ताले मुम्बइ पुलिसलाई फोन गरेर जलसामा बम भएको सूचना दिएका थिए । मुम्बइ पुलिसले तत्काल अलर्ट जारी गरेर अमिताभ बच्चनको घरबाहिर बीडीडीएस (बम डिटेक्सन एण्ड डिस्पोजल स्क्वाड)को टिम तैनाथ गर्यो । यद्यपि जाँचमा केही पनि संदिग्ध भेटिएन ।
मुम्बइ क्राइम ब्रान्चको क्राइम इन्टेलिजेन्स युनिटले अब यो विषयमा जाँच गर्दा २ जनालाई पक्राउ गरेको छ । एक अज्ञात फोनकर्ताले शुक्रबार राती मुम्बइ पुलिसलाई अमिताभ बच्चनको घरसहित दादर, सीएसटी र भायखालामा बम राखिएको बताएका थिए । फोन गर्ने व्यक्तिले अमिताभ बच्चनको कुन घरमा बम राखिएको छ भन्ने बताएका थिएनन् । फोनकर्ताले प्रस्ट नबताएपछि अमिताभ बच्चनका चारवटै बंगलामा जाँच गरिएको थियो ।
समाचार एजेन्सी पीटिआइसँग कुरा गर्दै पुलिसले बताएअनुसार सूचना पाएलगत्तै रेल्वे पुलिस, रेल्वे प्रोटेक्सन फोर्स र बीडीडीएस टिम, डग स्क्वाड र स्थानीय पुलिसको टोली बताइएका स्थानमा परिचालन गरी सर्च अभियान चलाइएको थियो । अनुसन्धानको क्रममा यो सूचना दिने २ जनालाई पक्राउ गरिएको छ । उनीहरुको नाम राजू कांगने र रमेश सिरसाठ भएको बताइएको छ । सोधपुछमा उनीहरु मदिराले मातेर फोन गरेको पाइएको छ ।







डिसी नेपाल







Facebook Comment