अमेरिका र यूकेद्वारा तत्काल अफगानिस्तान छाड्न आफ्ना नागरिकलाई आग्रह

डिसी नेपाल
२४ साउन २०७८ ९:२२
312
Shares

बीबीसी। सुरक्षा अवस्था बिग्रँदै गएको भन्दै संयुक्त राज्य अमेरिका र यूकेले तत्काल अफगानिस्तान छाड्न आफ्ना नागरिकलाई आग्रह गरेका छन्। काबुलस्थित अमेरिकी राजदूतावासले तत्काल हवाई टिकट खरिद गर्न नसक्ने अवस्थामा रहेका आफ्ना नागरिकलाई ऋण उपलब्ध गराउने समेत जनाएको छ।

आतङ्कवादीहरूले अफगानिस्तानमा हमलाहरू गर्न सक्ने भन्दै गत राति ब्रिटेनको विदेश मन्त्रालयले चेतावनी दिएको थियो।

उसले आफ्ना नागरिकहरूलाई व्यापारिक उडानहरूबाट फर्कन र दूतावासले गर्ने आपत्‌कालीन उद्धारमा भर नपर्न आग्रह गरेको छ।

अफगानिस्तानबाट विदेशी फौजको अन्तिम समूह फिर्ता भएसँगै तालिबान लडाकु समूहले भूभागमाथि कब्जा गर्न एउटा ठूलो हमला थालेपछि यूके र अमेरिकाले पछिल्ला चेतावनी जारी गरेका हुन्।

दक्षिण-पश्चिमी अफगानिस्तानको एउटा शहर तालिबान लडाकुहरूको नियन्त्रणमा गएको पहिलो प्रान्तीय राजधानी बनेको छ। स्थानीय अधिकारीहरूका अनुसार लडाकुहरूले निम्रोज प्रान्तको राजधानी जारञ्जमाथि नियन्त्रण कायम गरेका छन्।

त्यसलाई सरकारी फौजका निम्ति ठूलो धक्काको रूपमा हेरिएको छ। विदेशी फौजको फिर्तीसँगै लडाकुहरूले देशभरि आक्रमण तीव्र पारेका छन्।

ठूलो स्तरमा ग्रामीण इलाकामाथि नियन्त्रण गरेका तालिबान लडाकुहरूले अहिले महत्त्वपूर्ण शहरहरूलाई निशाना बनाइरहेका छन्। दबावमा रहेका अन्य प्रान्तीय राजधानीहरूमा पश्चिममा हेरात र दक्षिण शहरहरू कान्दहार र लश्कर गह रहेका छन्।

अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घकी विशेष दूतले त्यहाँको युद्ध “नयाँ, अझ घातक तथा विध्वंसात्मक चरण” मा प्रवेश गरेको शुक्रवार बताएकी थिइन्।

उनका अनुसार गत महिनाभित्र एक हजारभन्दा बढी नागरिकले ज्यान गुमाएका छन्। शुक्रवार ट्विटरमा एउटा पोस्ट गर्दै तालिबान लडाकुहरूले इरानी सीमासँग जोडिएको एउटा महत्त्वपूर्ण व्यापार केन्द्र जारञ्जमाथि कब्जा गरेको दाबी गरेका थिए।

“यो शुरूवात हो र हेर्दै जानूस्, चाँडै अरू प्रान्तहरू पनि कसरी हाम्रो कब्जामा आउनेछन्,” एक तालिबान कमाण्डरले समाचारसंस्था रोयटर्सलाई भने। वरपरका जिल्लाहरूलाई नियन्त्रणमा लिएपछि अन्य क्षेत्रमाथि उनीहरूले कब्जा गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *