‘११ मिनेट मात्रै बलात्कार भएको’ भन्दै अदालतले आरोपीको सजाय घटाएपछि चर्को विरोध
काठमाडौं। स्विट्जरल्याण्डमा अदालतको एक फैसलाको विरोधमा सयौं जनता सडकमा उत्रिएका छन् । अदालतबाहिर प्रदर्शन गरिरहेका उनीहरुले न्यायाधीशको फैसला फिर्ता लिन माग गरेका छन् । गत वर्ष भएको एक बलात्कारको अपराधमा सजाय काटिरहेका एक अपराधीको सजाय अदालतले घटाइदिएपछि चर्को विरोध भएको हो । सजाय घटाउने न्यायाधीश पनि महिला हुन् ।
डेलीमेलको रिपोर्टअनुसार गत वर्ष बेसलमा ३३ वर्षकी एक महिलालाई घरबाहिर २ जना पोर्चुगिज व्यक्तिहरुले आक्रमण गरेका थिए । महिलाले यी दुईमाथि बलात्कारको आरोप लगाएकी थिइन् । आरोपीमध्ये १ जना १७ वर्षका छन् र अर्का ३२ वर्षका छन् । महिला न्यायाधीशले फैसलामा पीडितलाई केवल ११ मिनेट मात्र बलात्कार गरिएको र यो अपेक्षाकृत कम समय भएको बताएकी थिइन् ।
नाबालिग आरोपीलाई सजाय सुनाइएको छैन र अर्का आरोपीलाई ५१ महिनाको जेल सजाय सुनाइएको थियो । तर, अब न्यायाधीशले कम समय बलात्कार भएको आधारमा सजाय घटाएर ३६ महिनामा झारेपछि विरोध भएको हो । महिला न्यायाधीशले फैसलामा पीडित महिलाले पहिले आरोपीहरुलाई संकेत दिएको र यही कारण आरोपीहरुको हिम्मत बढेको भनेकी छिन् । न्यायाधीशको यो फैसलापछि त्यहाँका जनतामा आक्रोश बढेको छ ।
विरोध प्रदर्शन गर्नेहरु धेरैजसो महिला थिए । उनीहरुले अदालतबाहिर प्रदर्शनको क्रममा ११ मिनेटसम्म मौनधारण गरे । उनीहरुले हातमा ‘११ मिनेट निकै धेरै हुन्छ’ लेखिएको ब्यानर बोकेका थिए । पीडित महिलाका वकिलले अदालतमा फैसलाप्रति आश्चर्य व्यक्त गर्दै यो निकै निराशाजनक भएको बताएका छन् । न्यायाधीशको यो फैसलाको त्यहाँका कैयौं राजनेताले पनि आलोचना गरेका छन् ।







डिसी नेपाल







Facebook Comment