दुर्घटनापछि उद्धार गरिरहेका जवानको हातमा आफ्नै आमाको लाश आयो, आमा परेको थाहा थिएन
काठमाडौं। जिम्मेवार पेसामा रहेपछि कहिलेकाहीँ आफ्नो ठूलो पीडालाई पनि मनभित्रै दबाएर कर्तव्यमा खटिनुपर्छ । अघिल्लो महिना सिन्धुपाल्चोकको मेलम्चीमा एक पत्रकारले आफ्नै घरखेत बगाएको समाचार रिपोर्टिङ गरे । २०७२ मा विनाशकारी भूकम्पका बेला कैयौं सैनिक, सशस्त्र प्रहरी र प्रहरीका जवानहरुले आफ्नो घर भत्किएको खबर थाहा पाउँदापाउँदै अन्यत्रै उद्धारकार्यमा खटिनुपरेको थियो । केही वर्षअघि एक महिला समाचारवाचिकाले लाइभ टेलिभिजनमा आफ्नै श्रीमानको दुर्घटनामा मृत्यु भएको समाचारवाचन गरेकी थिइन् ।
यस्तै अत्यन्तै पीडादावी घटना भारतको छत्तीसगढमा भएको छ । छत्तीसगढको दंतेवाडामा सोमबार एउटा ट्रेक्टर ट्रली पल्टिँदा ४ जनाको मृत्यु भयो । संयोगले त्यतिबेला दुर्घटनास्थलभन्दा केही दूरीमा डिस्ट्रिक्ट रिजर्भ ग्रुपको एक समूह अर्कै अभियानका लागि आएका थिए । दुर्घटना भएको देखेपछि डिआरजीका जवानहरुले तत्काल उद्धार कार्य थाले । यस क्रममा डिआरजीका एक जवानको हातमा आफ्नै आमाको लाश आयो ।
ती जवानलाई दुर्घटनाग्रस्त ट्रेक्टरमा आफ्नी आमा पनि थिइन् भन्ने थाहा थिएन । अचानक आफ्नै हातमा आमाको लाश आएपछि मात्रै उनले आमा पनि ट्रेक्टरमा भएको थाहा पाएका थिए । तेलम टेटम क्षेत्रमा सर्च अभियानमा निस्किएका डिआरजीका जवानहरुले मानिसहरु आत्तिएर चिच्याएको सुनेपछि त्यहाँ आउँदा ट्रेक्टर तलाउमा डुबेको देखेका थिए । उनीहरु तत्काल उद्धारको लागि तलाउमा हाम्फाले ।
उद्धारका लागि हाम्फाल्ने जवानहरुमध्ये वसु कवासी पनि थिए । उनीहरुले घाइतेहरुलाई बाहिर निकालेर अस्पताल पठाउन थाले । ट्रली उल्टिएको देखेपछि उनीहरुले ट्रलीमुनि पनि खोजी गर्न थाले । वसुको हातमा एक महिलाको शव आयो । उनले शव बोकेर बाहिर लिएर आए । बाहिर ल्याएर शव हेर्दा आफ्नै आमालाई देखेपछि उनी त्यहीँ रुन थाले । उनलाई उनकासाथीहरुले सम्हालेका थिए ।







डिसी नेपाल







Facebook Comment