तालिबानको पक्षमा जान थाले अफगानी सैनिक, राष्ट्रपतिले राजीनामा दिन सक्ने
काठमाडौं। अफगानिस्तान सरकारका एक समर्थक कमाण्डरले पक्ष फेरेर तालिबानलाई साथ दिएपछि तालिबानले समांगन प्रान्तको राजधानी एबकमा कब्जा गरेको छ । यससँगै उत्तरी अफगानिस्तानमा लगभग सबैतिर तालिबानको नियन्त्रण भएको छ । पछिल्लो ३ दिनमा ४ अन्य प्रान्तीय राजधानीमा नियन्त्रण गरेका तालिबानले कुनै प्रतिरोधबिना एबकमा पनि नियन्त्रण गरेका छन् । यसबाट मजार ए शरीफमा आक्रमण गर्न तालिबानले बढत हासिल गरेको छ ।
तालिबानको पश्चिमी अफगानिस्तानको मुख्य सहर हेरातमा पनि सरकारी सुरक्षा बलसँग भिडन्त भएको छ । अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले सरकारका एक बरिष्ठ सदस्यको हवाला दिँदै युद्धमैदानमा लगातारको पराजयले राष्ट्रपति अशरफ गनीको संकट बढ्न सक्ने बताएको छ । राष्ट्रपति गनी सल्लाहकारहरुको सानो टिममाथि विश्वास गर्छन् र मन्त्री तथा सैन्य कमाण्डर परिवर्तन गरिरहन्छन् । राष्ट्रपति गनीसँग अब अहिलेको परिस्थितिसँग जुध्ने वा पछि हट्ने विकल्प छ ।
यी बरिष्ठ सरकारी अधिकारीले तालिबान विरोधी सबै राजनीतिक शक्ति नयाँ योजनासहित एक नहुने हो भने काबुल केही हप्तामै तालिबानको नियन्त्रणमा पुग्ने र राष्ट्रपति अशरफ गनीले राजीनामा दिनुपर्ने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता बोलाउने घोषणा गरेसँगै तालिबानले आक्रमण तीब्र पारेको छ । लण्डनमा पूर्व अफगान राजदूत र मुजाहिदीन कमाण्डर अहमद शाह मसुदका भाइ अहमद वली मसुद भन्छन् ‘यहाँको भ्रष्ट सरकार र भ्रष्ट राजनेताहरुको लागि लड्न सेनालाई कुनै प्रेरणा छैन ।’
उनले अगाडि भने ‘ती सैनिक कमाण्डरहरु गनीको लागि लडिरहेका छैनन् । उनीहरुले ठिकसँग खाना पनि पाएका छैनन् । उनीहरु किन लड्नुपर्छ ? कसको लागि ? तालिबानसँग उनीहरुको राम्रो सम्बनध छ र यही कारण उनीहरु पक्ष फेरिरहेका छन् ।’ पछिल्ला केही हप्तामा देशको अधिकांश भागमा सरकारी नियन्त्रण गुमाउँदा पनि राष्ट्रपति अशरफ गनी आशावादी कुरा गरिरहेका छन् । तालिकानले प्रान्तीय राजधानीमा नियन्त्रण गर्न सुरु गर्दा शनिबार राष्ट्रपतिले अटर्नी जनरल कार्यालयमा सुधार र देशको लोक प्रशासन डिजिटल सुधार गर्नेबारे बैठक गरे । राष्ट्रपतिले सोमबार सत्तामा दखल राख्ने र मुजाहिदीन कमाण्डरहरुसँग बैठक गरे र तालिबान विरोधी मिलिशिया गुटलाई सरकारी समर्थन जारी रहने बताए ।
अर्कोतर्फ सरकारी सेनाका तल्लो स्तरका कमाण्डरले पहिले नै तालिबानको अगाडि आत्मसमर्पण गरिसकेका छन् । सोमबार समांगन प्रान्तका पूर्व सिनेटर र ताजिक जमियत ए इस्लामी पार्टीका नेता आसिफ अजिमीले पनि तालिबानलाई समर्थन गरे । आजिमीको यो कदमले अन्य प्रतिष्ठित व्यक्तिहरुको विचार प्रभावित पार्न सक्छ । जमियत ए इस्लामी त्यही संगठन हो जसका प्रमुख अहमद शाह मसुदको नेतृत्वमा २००१ मा तालिबान विरोधी अमेरिकी गठबन्धन बनेको थियो ।







डिसी नेपाल







Facebook Comment