कविता : भोजको निम्तो

डिसी नेपाल
३० साउन २०७८ ९:०२
228
Shares

जमिनको छेउ कुना सबै खाली छ
छिर्नलाई चार बाटा सबै खुल्ला छन्
यत्रतत्र सबै खाली छ
सुत्नलाई त्यही पल्टे हुन्छ।

तारेको भुटेको
छोइला कचैला खानामा सब व्यवस्था छ
सफ्टदेखि हार्ड देशीदेखि विदेशी
पिउनमा व्यवस्था छ
मनोरञ्जनको लागि नृत्यु र संगीतको पनि व्यवस्था छ
भोजको सप्ताह लाग्दैछ
सबैलाई निम्तो छ।

काले नि आउ, गोरे नि आउ
लुरे नि आउ भुँडे नि आउ
सुके नि आउ फुके नि आउ
सुन्नेले अरुलाई सुनाउ
सुनाइसकेकाले पोको पन्तरो बनाउ ।

पूर्व दिशाबाट आउ, पश्चिम दिशाबाट आउ
उत्तर दिशाबाट आउ, दक्षिण दिशाबाट आउ।

स्वर्गको राजा इन्द्रदेवलाई नि निम्तो छ
नर्कका राजा यमराजलाई नि निम्तो छ
नशामा होस गुमे पनि कसैले केही भन्ने छैन
खादा भुँडी फुटे पनि कसैले तिमीलाई लग्ने छैन।

त्यसैले आउ, घामले टाउको खुईलेका पनि आउ
बसेर चाक फुलेका पनि आउ
लामो हात गर्न पल्केका पनि आउ
रात उज्यालो पार्न सक्ने नि आउ।

हजारौंको एक दशके पुन्य तिथिमा महाभोजको सप्ताह लाग्दैछ
आउन मिल्न र सक्ने सबैलाई निम्तो छ
यहाँ म र तेरो भन्ने कोही छैन
कसैले मेरो र हाम्रो भन्ने छैन।
बस्ने माटो एउटै हो
शिरमाथिको छाना एउटै हो
दुई खुट्टा टेकी आएपनि चार पाङ्ग्रा गुडाई आए पनि
पल्टने भुई एउटै हो।

त्यसैले आउ
थाङ्ने नि आउ, माग्ने नि आउ
दुई पाङ्ग्रे नि आउ, चार पाङ्ग्रे नि आउ
काँध गलेका नि आउ, मन थलेका नि आउ
सिउँदो पुछिएका नि आउ, काख रित्तिएका नि आउ

महाभोजको सप्ताह लाग्दैछ
सुन्नेले अरुलाई सुनाई आउ, सुनेकाले पोको पन्तरो बनाउ
निम्तोको विगुल बजिसक्यो, सुनिसुनाई आउ
घरको दैलो–झ्याल ठोकी आउ
चौपाया जंगली खेदी आउ।

भोजको सप्ताह लाग्दैछ
गाउँ घर सबैमा निम्तो छ ।।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *