१ प्रतिशतले फेल भएकी छात्रा पुलमुनि मृत भेटिइन्, मरिसकेपछि विश्वविद्यालयले पास गरिदियो
काठमाडौं। परीक्षामा अनुत्तीर्ण भएका कारण वा परीक्षामा अपेक्षा गरेजति अंक नआएका कारण छात्रछात्राले आत्महत्या गर्ने गरेका घटना हामीले सुन्ने गरेका छौं । केवल १ प्रतिशत अंकका कारण परीक्षामा अनुत्तीर्ण भएकी अर्की एक छात्रा पनि पुलमुनि मृत अवस्थामा भेटिएकी छिन् । प्रारम्भिक नतिजा सार्वजनिक भएको १२ घण्टा नबित्दै ती छात्राको शव भेटिएको थियो ।
बेलायतको कार्डिफ युनिभर्सिटीमा फार्मेसी विषय अध्ययनरत २१ वर्षकी छात्रा मारेड फक्सले आफू केवल १ प्रतिशत अंकका कारण फेल भएको खबर पाएकी थिइन् । परिणाम थाहा भएको १२ घण्टा नबित्दै उनको शव एक पुलमुनि चट्टानमा भेटियो । ती छात्राको सम्झना गर्दै उनका परिवारले उनी प्रिय छोरी, अद्भूत मित्र र बहिनी भएको बताएका छन् ।
मारेडको मृत्यु भएपछि उनको मृत्युको विषयमा भइरहेको अनुसन्धानमा शुक्रबार यससँग सम्बन्धित अन्य केही मानिसहरुसँग सोधपुछ गरिएको थियो । वेल्स अनलाइनका अनुसार उत्तर पश्चिमी वेल्सका अधिकारी केट सदरल्याण्डले छात्राको मृत्युको यो घटना गत वर्ष ८ जुलाइको भएको बताएका छन् । यो केसको अहिलेसम्म अनुसन्धान चलिरहेको छ ।
अधिकारीका अनुसार कैयौं मानिसहरुसँग सोधपुछ गरेपछि यी छात्रा मृत्युभन्दा १ दिन अगाडि एक फार्मेसीमा काम गरिरहेको र त्यही दिन उनले इमेलमार्फत आफ्नो परीक्षाको नतिजा थाहा पाएको खुलासा भयो । नतिजा देखेर मारेड निराश थिइन् । त्यसपछि उनी कार लिएर ब्रिटानिया ब्रिज पुगिन् । उनले कारको इन्जिन अन नै राखेर पुलबाट तल हाम्फालिन् ।
उनको शव पुलमुनि चट्टानमा पाइएको थियो । मारेडको परिवारका अनुसार उनले आफ्नो परीक्षा परिणाम परिवारलाई बताउँदै आफूले सम्बन्धित मोड्युलमा १ प्रतिशत कम अंक पाएको बताएकी थिइन् । पछि विश्वविद्यालयले उनलाई यही अंकका साथ पास गरिदियो तर पास भएको थाहा पाउन उनी जीवित थिइनन् । परिवारले उनी पास भएको उनले कहिल्यै पनि थाहा नपाउनु सबैभन्दा दुःखको कुरा भएको बताएका छन् ।







डिसी नेपाल







Facebook Comment