बाइडेनले अफगानिस्तानबारे आफ्नो योजना नपछ्याएको ट्रम्पको आरोप

डिसी नेपाल
३१ साउन २०७८ १६:१७
764
Shares

वासिङ्टन । अमेरिकी राष्ट्रपति बाइडेनविरूद्ध पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबारे आफूलाई नपछ्याउँदा जो बाइडेन प्रशासन चुक्न पुगेको धारणा राखेका छन् ।

अमेरिकी नेतृत्वमा रहेका अन्तर्राष्ट्रिय सेनालाई युद्धग्रस्त देशबाट निकाल्ने आफ्नो योजनालाई बाइडेनले नपछ्याएकाले र अफगानिस्तानको अवस्था सम्हाल्न समस्या भएको डिमोक्र्याटिक नेता बाइडेनविरूद्ध ट्रम्पले आरोप लगाएका हुन ।

अमेरिकी समय अनुसार शनिबार जारी गरिएको विज्ञप्तिमा ट्रम्पले भने, “हाम्रो प्रशासनले नयाँ सरकारका लागि छोडेको योजना पछ्याउनुको सट्टा उहाँ अफगानिस्तानबाट बाहिर निस्किनुभयो । हाम्रो योजनाले अमेरिकी जनता र सम्पत्तिको सुरक्षा ग¥यो र तालिबानले कहिल्यै पनि अमेरिकी दूतावास लिने वा अमेरिकाविरुद्ध नयाँ आक्रमणका लागि आधार प्रदान गर्ने सपना देख्ने छैन भन्ने सुनिश्चित गरेको थियो । त्यो फिर्ता अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता गर्ने तथ्यद्वारा निर्देशित थियो ।”

अमेरिकी रिपलिकन नेता ट्रम्पले भने, “मैले आइएसआइएसलाई पराजित गरेपछि एउटा भरपर्दो रोकथाम गर्ने सोच बनाएँ । त्यो रोकथामको उपाय अहिले प्रभावहीन बनेको छ । तालिबानलाई अब अमेरिका वा अमेरिकाको शक्तिप्रति डर वा सम्मान छैन ।”

काबुलमा रहेको अमेरिकाको दूतावासमाथि तालिबानले झण्डा उठाउँदा अपमान हुने उनले बताए । “कमजोरी, अक्षमता र पूर्ण रणनीतिक असमझदारीका कारण यो पूर्ण असफल हुनेछ ।”

काबुलबाहेक सबै प्रमुख शहरहरूमा तालिबानले कब्जा गरेको दावी गरिरहँदा शनिबार बाइडेनले अफगानिस्तानमा थप एक हजार सेनाको तैनादी गर्ने अधिकारमा हस्ताक्षर गरेका थिए ।

यसले गर्दा युद्धग्रस्त देशमा अमेरिकी सेनाको संख्या पाँच हजार पुगेको छ । बाइडेनको यो निर्णय आफ्ना कर्मचारीहरूलाई सुरक्षित र व्यवस्थित ढंगले स्वदेश फिर्ता गर्न सुनिश्चित गर्नु मात्रै रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *